सुकिला मान्छेहरु,
चिसो एसीको कोठाबाट
भर्खरै उठेर तिमीले पाइला चाल्दै गर्दा
यहीँ कतै कतारको मजरामा
५० डिग्री गर्मीको प्रचण्ड रापलाई
खाली खुट्टाले छेल्दै छन्
आरुबोटेका हर्कबहादुर दाइ!
सूर्योदयको पहिलो किरणलाई तिमीले
बार्दलीको आडबाट चिहाउदै गर्दा
पेटलाई खुश्बुको बिर्को लगाइ
आँखाभरी छापिएको सानीको तस्बिर सम्झदै
ऊँटहरुमा अपनत्व खोज्ने
असफल प्रयासमा तल्लीन छन् उनी
मखमली बिछ्यौनामा
तिमीले कोल्टे फेर्दै गर्दा
निद्राविहीन रात्रिहरुमा
निदाउने प्रयास गर्दै जाँदा
खजुरका पातहरुमा
ताबुकको सिरानीसँगै
सुन्दर भविष्यको सपना देख्दै
बेखबर निदाइ रहेछन् उनी।
आफन्तहरुका साथ तिमी
ह्यांगआउट र गेट-टुगेदरमा
रमाउदै गर्दा
उनले मान्छेको रुप
नदेखेको महिनौ भएछ
हो! मरुभूमिमा सपना चाल्ने
आरुबोटेका हर्कबहादुर दाइ
स्वच्छन्द आकाशमा
तिमीले झैँ विचरण गर्न चाहन्छन्
पुग्न चाहन्छन ग्लोबको
यो कुनादेखि त्यो कुनासम्म
भेट्न चाहन्छन नयाँ अनुहार
सुन्न चाहन्छन नयाँ बोली
अनि देख्न चाहन्छन् नयाँ पहिरन
तर सुकिला मान्छे,
यहाँ यसो भनिरहँदा
बिर्सिसके तिनले आफ्नै
जिन्दगीका वसन्तहरुको गन्ति
भुलिसके तिनले
त्यो पुन्टे छोरोको अनुहार
याद गर्न पनि सक्दैनन् उनी,
पछिल्लो पटक नेपाल देखेको
हरेक रात बिछ्यौनामा तिमीले
भोलिको नयाँ गन्तब्य सम्झे झैं
तिनी पनि सुत्दै गर्दा
नेपाल फर्कने कामना गर्छन्
तर सुकिला मान्छे
म कसरी ढुक्क भएर भनौँ
हर्कबहादुर दाइ हँसिलो अनुहार लिएर
सानीको हात समाउदै
पुन्टेलाई अंगाल्न पुग्नेछन्?
यहाँ त कैयौँ हर्कबहादुरहरु
बन्द भएर जाने गरेका छन्
फगत एक रातो बाकसमा।