जिन्दगीको अन्तिम सत्य भनेको नै मृत्यु हो। मान्छे र जिन्दगी बीच रस्साकस्सीको ‘फाइनल म्याच’ हो मृत्यु। यो म्याच कसले जित्छ भन्ने एउटा सुल्झाउनै नसक्ने पहेली बनेको छ।
यो म्याच सुरु भएपछि जिन्दगी सकिएर मृत्यु भैहाल्छ अनि मान्छे मरेर लास, नतिजा आउने बखत त न मान्छे रहन्छ न त उसको जिन्दगी। म्याच फिक्सिङको त कुनै चान्सै छैन। खेलाडीले त खेल अन्तिमसम्म हेर्न पनि पाउँदैन, म्याचको अन्त्य समेत दर्शकले गरिदिनु पर्छ।
अर्को रोचक कुरा के भने मृत्यु मान्छे जन्मिँदै जोडिएको एउटा सत्य हो जो जिन्दगी जिउने हर मानिसलाई थाहा छ तर पनि मान्छे जसरी, जहाँ, जहिले मरे पनि मृत्यु भने असामयिक नै ठहरिन्छ। सय वर्ष कटेको वृद्ध होस् वा सय दिन पनि नकटेको नाबालक, मृत्यु सबैको असामयिक नै लाग्छ। यस्तो किन पनि भने, मृत्यु आउँछ भन्ने थाहा हुँदाहुँदै पनि मान्छे कहिल्यै मृत्युको प्रतिक्षा गर्दैन। त्यसैले मृत्युको आगमन कसैले पछाडिबाट आएर आँखा छोपेजस्तै हुन्छ, अप्रत्याशित।
जति तारिख बाँचे पनि कहिल्यै तारिफ सुन्न नपाइने संसारमा मृत्यु एउटा व्यक्तिको बारेमा राम्रो सुन्न पाइने दिन पनि हो। बाँचुन्जेल नानाथरी गाली खाएर हेला सहेर बाँचेको मान्छे मर्ने बित्तिकै 'असल, आँखामा राखे पनि नबिझाउने' भैहाल्छ। दुष्टलाई पनि मरेको दिन यो यो बानी नराम्रो भएपनि यस्तो कुरामा असल थियो है भनेर राम्रै कुरा हुन्छ।
अघिल्लो दिन ‘मरेस्’ भन्ने मान्छे भोलिपल्ट ‘कठै! मरेछ विचरा’ भनेर दुखेसो गर्छ। यसरी सरापेको आधारमा पनि कानुन लाग्ने हो भने त कोही मान्छे मर्दा तिनका छरछिमेक, नातागोता आधि सरो जेलमा हुन्छन् होला, उस्तै परे दागबत्ती दिने छोरो पनि जेलभित्रै भेटिन बेर छैन।
जे होस्, सबैसँग एकसरो नमरुन्जेल बाँच्नै पर्ने जिन्दगी छ र सबैले मर्नु परेको मात्रै हो। नत्र संसारै नछोडी पनि मान्छे अनेक चोटि मर्छ। प्रायजसो रोगव्याधी, दुर्घटना वा भवितव्य नपरी नमर्ने मान्छे कहिलेकाहीँ लाजले पनि मरिदिन्छ। मरेपछि हल्ला नगरी मर्नु, तर यसरी मरेको मान्छे ‘म त मरेँ लाजले’ भनेर सुनाउनसम्म पनि भ्याउँछ।
अर्कातिर कहिलेकाहीँ रिस उठ्यो भने ‘कस्तो मर्न नसकेको मान्छे’ भनेर व्यक्तिको अमरताको पनि चर्चा गर्ने गरिन्छ। परापूर्व कालदेखि नै कुनै राम्री युवतीले हेरेर मुसुक्क मुस्कुराउँदा 'तिम्रो हेराइले मार्यो, भुतुक्कै पार्यो' भनेर जिस्किने लवस्तरे चलन अझै छँदै छ।
कानुनमै कसैलाई मार्नु दण्डनीय अपराध हो भनेर लेखेपनि आधुनिक योद्धाहरु दिनभर 'ओइ त्यसलाई मार् मार्' भन्दै गेम खेलेर चिच्याइरहन्छन्। यसरी मर्दा मार्दा संसार छोड्नु पर्दैन र संसारको जनसङ्ख्या बढ्दो क्रममै छ नत्र मान्छे पनि डाइनोसरलाई पछ्याउँदै लोप भैसक्थ्यो की?
संसार छोडेरै जानेगरी मर्ने प्रक्रियालाई हेर्ने हो भने मान्छे लडेर, बगेर, पुरिएर, ठोकिएर, जलेर, काटिएर, झुन्डिएर... यस्तै यस्तै विविध १०८ प्रकारले मर्न जान्छ तर सर्सर्ती हेर्ने हो भने मृत्यु जम्मा दुई किसिमको मात्रै हुन्छ: मरण र शरण। मरण भन्नाले यमराजले मिति तोकेर, स्वयम आफ्ना दूतहरुलाई धर्तीमा पठाएर तिनका मद्धतले एउटा व्यक्तिलाई स्वर्ग वा नर्क भित्र्याउने प्रक्रिया हो भने अर्कातिर शरण भनेको व्यक्ति स्वयमलाई विभिन्न कारणले धर्तीमा बस्ने इच्छा पूरा भएपछि आफ्नो सेवा आफै गर्दै धर्ती छाडेर यमराजको ढोका ढक्ढक्याउने प्रणाली शरण हो।
शास्त्रकै आधारले हेर्ने हो भने मृत्यु भएको मान्छे पाप र पुण्यको आधारमा स्वर्ग वा नर्क जान्छ। जाने मान्छे जहाँ गए पनि धर्तीका बासिन्दा भने आफ्ना मरेका प्रियजनलाई स्वर्ग मात्रै पठाउन खोज्छन्। धर्तीमा जनसङ्ख्या बढी भो भनेर एउटा मात्रै सन्तान जन्माउने प्राणीहरु स्वर्गको भिडभाडलाई वास्तै नगरी मरेका जति सबैलाई 'स्वर्गमा बास होस्' भन्छन्।
शास्त्रले के पनि भन्छ भने मृत्यु केबल शरीरको हुन्छ र आत्मा कहिल्यै मर्दैन। लौ पर्यो फसाद! जे कुरो सुनेपनि देखेपनि फिलिम नबनाई नहुने धर्तीका जनता त्यहाँमाथि यस्तो मसालेदार विषयवस्तु, भूतका फिलिम पनि नबनाई रहन सकेनन्। उसै त भ्रष्टाचार, कालोबजारी, आतंकवाद, प्रदुषण आदिले तर्सिएका धर्तीका बासिन्दा त्यसमा पनि भूतका फिलिम! आत्मा पनि मर्ने भको भए बरु आनन्दै हुन्थ्यो।
शास्त्रमा नलेखेको एउटा कुरा मान्छेले के स्वघोष गरिदियो भने 'राम्रा मान्छेलाई भगवानले चाडै लग्छन्'। यो कुरो सत्य हो होइन, भगवान जानुन् तर हो भने घोर अन्याय हो। त्यस्तो व्यवस्थित स्वर्गमा अझै राम्रा मान्छे मगाउने अनि धर्ती अस्तव्यस्त। यो त सीप र ज्ञान भएका नेपाली विदेश तिर लागेजस्तै भयो नि।
यसरी मृत्युको वर्णन गर्न थाल्यो भने मान्छे मृत्युकै मुखमा पुगुन्जेलसम्म पनि वर्णन गरी भ्याउँदैन। तर म मृत्युको मुखमा पहिल्यै पुगिसकेको हुनाले यति कुरा वर्णन गर्न सकेँ। बरु मृत्युकै चर्चा चल्दै गर्दा तपाईलाई म आफ्नै मृत्युको एक पटक पुनरावलोकन गराउँछु।
धेरै वर्षको कुप्रे हिँडाइपछि म बिरामी भएर थला परेँ। त्यतिखेर मेरो शरीरका सबै अंग पेन्सन पाकेको सरकारी कर्मचारीजस्तो सुस्त र अपुरो काम गर्दथे। तिनै सरकारी कर्मचारीजस्ता अंगहरु पनि अहिले भर्खरै अवकाश लिएर जाने हुन की भन्ने भयले सबैलाई छोएको थियो। जसोजसो मेरो बाँच्ने सम्भावना घट्दै गयो मलाई भेट्न आउनेहरुको लिस्ट लम्बिदै गए।
मलाई याद छ एकदिन, अचेल मेरो पिण्डदान गर्दा पाक्ने सेलजस्तै गोलो घेरामा मलाई घेरेर नातागोता, साथी सङ्गतिहरु र छोरानाति, छोरीचेलीहरु बसेका थिए। म ख्वाक्क ख्वाक्क खोक्दै र प्याक्क प्याक्क थुक्दै थुकका छिटाले तिनलाई शेचन गर्दैथेँ। म केही ठम्याउन सक्दिनथेँ तर यति चेत अझै बाँकी थियो की आउनेहरुले फलफूल, बिस्कुट, हर्लिक्स लिएर आएका छन् भन्ने हेक्का थियो।
जे-जे ल्याए पनि म बुढोलाई कहिले खोले घिचाइन्थ्यो, कहिले जाउलो कोच्याइन्थ्यो। म अचेतनामै पनि सोच्थेँ, मलाई केही भइहाल्यो भने कसले खाला त्यो सब अत्यास लाग्ने। कान्छो छोरो नजिकै बसेर सबैलाई मेरो रिपोर्ट दिइरहन्थ्यो: खाना दुई गाँस खानुभो भनेर। खाको पनि गनेर बस्ने कस्तो लोभी मोरो रैछ भन्ठानेँ। अझ दिसा पातलो थियो रे, हरे शिव यो मोराले हग्न पनि शान्तिले नदिने भयो बा।
यसरी रिपोर्ट बुझ्दाबुझ्दै ढोकाबाट दुइटा लामोलामो आकृति कोठामा दाखिल भए। अघिसम्म होसहवास नभएको मैले कोठा छर्लङ्ग उज्यालो देखेँ। कालो लुगा लगाएका ती नौजवानहरुले, जुँगा पनि पालेका रैछन्। यसो हात तिर हेरेको, कोसेली भने छैन। उता बुहारीले ढोकैमा खोसिसकी होली।
ती नौजवानहरू मेरै छेउमा आएर बसे। सन्चो-बिसन्चो सोधिसकेपछि तिनले यताउतिका दुई/चार गफ पनि गरे। ती दुई मध्य कोही पनि म बाहेक अरू कसैसँग बोलेन, रिपोर्टर बनेको कान्छो छोरोसँग पनि बोलेनन्। गफ गर्दै जाँदा पल्लो चोकसम्म पुगेर चुरोट सल्काउने प्रस्ताव एउटाले राख्यो। मलाई पनि तलतल त औधि नै लागेको थियो, ओछ्यान परेपछि भेटेको हैन, तर म जान सक्दिन थिएँ।
मैले जान्छु भनिनँ तर ती दुईले लाने ढिपी गरे। ती दुईको थोरै भरथेगले नै म जुरुक्क उठेर हिँड्न सकेँ- कस्तो अचम्म। चोक पुगेपछि चुरोट सल्काएर धुवाँ उडाउँदै गर्दा परबाट एउटा जनावरमाथि चढेको मान्छेझैँ आकृति हामीतिरै आएर केही परै रोक्कियो। अनि बल्ल अघिको आकृतिको भेउ पाइयो- राँगोमाथि चश्मा र हेल्मेट लगाएर एउटा अधबैँसे पुरुष बसेको थियो।
को हो ठम्याउन सकिनँ। लम्बुहरुले डोर्याउँदै त्यतै लगे। चिनजान हुँदै जाँदा तिनको नाम यमराज नर्कबासी र घर नर्कगाउँ भन्ने थाहा भो। चारजना नजिकैको चौरमा बसेर एक हात म्यारिज खेलेपछि मैले 'आको पनि धेरैबेर भो, अब घर जानु परो बाबु' भनेर उठ्न खोजेको शरीरले भर दिएन, म लडिहालेँ। लम्बुहरुले उठाएर भैँसीमा राखे अनि भैँसी हुइँकिन थालिहाल्यो। म अपहरणमा परेँ।
म कराउन थालेँ, मेरो मुख थुनियो। भैँसी पनि दुई/चार राउन्ड घुमेर इन्जिन तातेपछि उड्न थालिहाल्यो। माथि-माथि पुग्दै गएपछि म त कहाली लागेर बेहोस भएछु। आँखा खुल्दा स्वर्गलोक लेखिएको गेट अगाडि राँगो पार्क गरिएको रहेछ। म छेउको एउटा विश्रामस्थलमा लडिराखेको थिएँ। ती दुई लम्बु अझैपनि चुरोट तान्दै थिए।
मेरो शरीर अघि लम्बुहरुको भरमा हिँड्दाजस्तै हलुका थियो। मैले वरिपरि हेर्दा विश्रामस्थलसँगै जोडिएको एउटा पिसिओ देखेँ र लम्बुहरुले चाल नपाउने गरी उठेर पिसिओमा छिरेँ, छोरालाई आफ्नो अपहरणको जानकारी गराउन। निकैबेर फोनको घन्टी बजिरह्यो अनि बल्ल एउटा रुदै गरेको आवाजले फ्यान उठायो, अनि किन रोको भनेर सोध्दा- बा बितेको खबर दियो। बा अर्थात् म। म झसंग भएँ!
एकछिन ट्वाँ परेर बसिरहेँ। लम्बुहरु आएर अब जाउँ भनेर 'स्वर्गलोक' लेखिएको गेटभित्र छिराए। कथा, पुराणमा लेखेको जस्तै फूलैफूलको बँगैचा र त्यो फूल टिपिरहेका अप्सरालाई देखेपछि त मलाई आफ्नो मृत्युको दुखले चटक्क छोडिहाल्यो।
एकदुई दिन स्वर्गको अवलोकन गरेपछि मैले यहाँ पुराणमा भनेजस्तो पुरानो चिज मात्र हैन धर्तीलोकबाट ल्याइएका नयाँनयाँ प्रविधिहरू पनि रहेछन् भन्ने चाल पाइहालेँ। यो चाल पाउने बित्तिकै मैले एउटा स्मार्ट फोन पाउँ भनेर यमराजलाई निवेदन लेखेँ। निवेदन परेको दश दिनपछि उता धर्तीबाट मेरो मोबाइलको आत्मालाई स्वर्गमा झिकाइयो। मोबाइल हातमा परेको दिन संयोगवश मेरो तेह्रौँ पुण्यतिथि पर्न गएछ।
अनि पो मलाई म मरेपछि क-कसले के-के लेखेछन् मेरा बारेमा जान्न मन लाग्यो। फेसबुक खोल्न लागेको, एनटिसीको डाटा स्वर्गमा पनि ढिलै चल्दो रहेछ। यता त सेटिलाइटबाट नजिकै भएपछि छिटो चल्नु नि। चल्यो, चल्यो! सिधैँ छोराको प्रोफाइलमा गएर हेरेँ। मेरो फोटो राखेर रिप लेख्नेको ओइरो रहेछ, ट्यागमा छोराको आइडी। मेरैमा ट्याग गरेको भए नि त हुन्थ्यो नि, थाहा छैन होला विचराहरुलाई स्वर्गमा पनि इन्टरनेट चल्छ भनेर।
एउटाले मेरो फोटो राखेर क्यापसन लेखेछ- जिन्दगी एकदिन सकिन्छ थाहा थियो, तर यति चाँडै उहाँको जिन्दगी समाप्त होला सोचेकै थिएन, श्रद्धान्जली! झन्डै रोइनँ।
अर्कोले जलिरहेको चित्ता राखेर जिन्दगी धुँवा हो भन्दिएछ, गाँजा तान्दै होला मोरा।
एउटा लठ्ठु त श्रद्धान्जली लेख्न पनि मेसेजमै आइपुगेछ, यसले कसरी थाहा पाएछ मैले हेर्छु भन्ने। जे होस् मरेपछि भएपनि यतिको माया र इज्जत पाएर खुसी लाग्यो। बाँचुन्जेल पुण्य गरेको रैछु र पो स्वर्गमा परियो नत्र प्रविधि नभको कालकोठरी जस्तो नर्कमा परेको भए मरेपछि त्यत्रो रिप र श्रद्धान्जली देख्नै नपाइने रैछ।
यसरी धर्तीमा बस्ने मेरा छुटेका नातासम्बन्ध, साथिभाइ, सन्तति र कुल कुटुम्बको मप्रतिको अगाध माया देखेर ममा फेरि बाँच्ने प्रेरणा पलाएर आयो तर के गर्नु, म त मरिसकेको थिएँ। एउटै भको जिन्दगी पनि यसरी झ्याप्प सकिएपछि अचेल यतै स्वर्ग तिरै भौतारिदैँ यसो कहिलेकाहीँ अल्छि लागेका बेला यस्तै बेकामको लेख लेखेर बस्छु।