कविता
बालाई दशकौं अघि
देशका चाबुकले कोतरेपछि
पारेका हुन् बेपत्ता
सपना थ्यो-
छोरो पढाएर जागिरे बनाउने।
राखेका थे घरबार बन्धक
लिएकी थि’न आमाले
सयकडा चारको ब्याजमा
थरीसँग ऋणको थैलो
राखेकी थि’न् –
भाग्यका हत्केला बन्धकी।
** ** **
योग्यताको विक्री नभएपछि
घोक्रेठ्याक लाएको आफ्नै देशसँग हारेर
प्रजातन्त्रले चुसेको देशमा
लोकतन्त्रका नङ्ग्राले चिथोरेपछि
अनिकाल डकारेर
बेचिदिएँ आफ्नै शरीर
घिच्चुकमा ऋणको फेसो गाडेर
सस्तैमा खाडी देशका मेनपावरमा।
आमाका चेहरामा –
अनिकालका कचेरा पखाल्ने
सपनाले हिर्काएथ्यो झापड
र बुनेको थें सपनाका पिरामिड
तीन तले घर
थरीको चुक्ता ऋण
बाका नाउँमा चौतारो
आमाका नाकमा बुलाकी
नयाँ पटुका र ओठमा मुस्कान।
** ** **
ओथारो बसेको साँझमा
तपशील सम्पूर्ण सपनाहरू नङ्ग्याएर
पसेको थें मुलुक
कलेंटी खापिएका ओठमा
निस्तो भोक लत्पत्याएर
अन्धकार बगेका ढोकाबाट
गरेकी थि’न् अन्तिम विदा आमाले
आँखाका बलेँसीबाट
औंसीका रात चुहाउँदै।
भाग्य फुटाएर –
खाडीका अँगेनामा बालेको हुँ याद
तिरस्कृत भुङ्ग्रामा
डढाको हुँ एक अञ्जुली पसिनाका रहर
डढी गए खरानीसँगै
आमा !
सप्पै सप्पै लिएर आएको फिर्ता
मेरा तुहिएका कसमहरू
डकारेको छ देशले।
तिरेको छु तिर्नुपर्ने रेमिट्यान्स
नछुटाई तिरेको छु राज्यको कर
तर,
लुच्छनसम्म लुछेकै हो –
स्वघोषित श्री ... लोकराज्यले
क्याक्टसका काँडा घोप्ट्याएर
अधकल्चो ईश्वरको वरदान!
** ** **
विडम्बना !
थाहा छैन कि आज राज्यलाई
श्रम शोषणको झटाराले
घुयेंत्रो हानेको यही शरीरको पसिनामा
भोज चल्दैछ गणतान्त्रिक राज्यमा
आगोभन्दा तातो बालुवामा
देश रङ्ग्याउनेहरूलाई भकुरेर
मुर्दाको आगमनमा केक काट्नेहरूलाई
जुठो लाग्दैन यहाँ एकछाक पनि
सगरमाथा अँटाउने छातीमा
ऋणको नीलो रगत जमाउँदै
बालुवासँगै चालेको हुँ
कुहिएका लास
के थाहा ?
हातमा ब्रान्डेड विदेशी रिकापीमा
देश पिउनेहरूलाई
राज्य बोकेका छातीमा
डेथ नं. को स्टिकर टाँसेर
कति आउँछन् राता कफिनमा
पसिनाका लासहरू ?
कति सडिन्छन् –
सडक किनारामा मरेको कुकुर कुहिएझैं
कति अज्ञात कुहिन्छन् गरिबका छाउराहरू ?
एक टुक्रा ओखतीको अभावमा
कति फ्याँकिन्छन् ढलमा
गणतन्त्रको बेवारिसे बोतलझैं
अयोग्य युवाहरूका शरीर
साउदी,कतार र मलायका डिजिटल भट्टीहरूमा ?
बेखबर!
थुइय्या नाथे जिन्दगी!
** ** **
भाग्यमानी आमा !
तिम्रो चहर्याएको मुटुले
नझार एकैथोपा आँसु
सासै नभेटे पनि
देख्न त पायौ छोराको लास
यहाँ –
तिम्रा फुटेका हरिनाठ टाल्ने
कैद भएको छ सपना
छ- देशको इतिहास लेख्ने
एउटा गिदीको अवसान
यो निर्जीव देहको रातो बाकसभित्र
कुनामा छ एउटा शून्य सपनाको चिठी
माग्नु थरीको ऋण चुक्ता गर्न
राज्यसँग मैले तिरेको रेमिट्यान्सको ब्याज
लगेर झुन्ड्याइदिनु यो रातो बाकस
लोकतान्त्रिक स्तम्भको टुप्पामा
जतनसँग यो शरीरलाई
चिहान डाँडाको शिरमा गाडेर
बनाइदिनु एउटा कपुर्थान
र लेख्न लाइदिनु बाहिरी आवरणमा –
‘गणतन्त्रको अयोग्य चिहान’
इतिहास हुनेछ पछिसम्म
बाँकी तन्त्रहरूको उदयमा पनि
लोकतान्त्रिक स्तम्भको रातो कफिनमा
मरेका अँध्यारा सपनाहरूको चिहान !
यो रातो कफिनमा –
जहाँ- देश भरिँदैन,
सपना भरिन्छन् देश बनाउनेहरूका,
र यो साल उपहार भयो देशलाई कविताको
‘दसैं, रातो कफिन र देश!’