मन्दिरभित्र राक्षसका नङ्ग्राले कोतरिएकी
सम्झना कामीले भनिन्
अन्तिम सास फ्याँक्दै-
'भगवान् बँचाईदेऊ'
आवाजविहीन आत्माले बोलिन् देवी-
‘प्रिये बालिके!
म पनि उहिल्यै बलात्कार भएकी हूँ देवताहरूबाट
यो मन्दिर होइन,
पापीहरूको देखावटी पाप पखाल्ने
पापी घाट हो,
माफ गर सम्झना!
तिम्रा लागि न्याय लडीदिने
कुनै मान्छे त छन्
तर,
मेरो इज्जत लुट्ने देवताहरूलाई
पुजिरहेछन् पाखण्डी नरपशुहरूले
बिना न्याय थुनिएकी छु म यहाँ।'