एउटा रेस्टुरेन्ट।
यहाँ प्रायः साहित्यानुरागीहरू भेला हुन्छन्। हुनेहरू पनि र नहुनेहरू पनि। हुनेहरू बियर खान्छन् , नहुनेहरू लोकल। त्यो पनि नखानेहरू चिया-चमेना खान्छन्।
निष्ठा - सर ! तपाईंले मीठो कथा सुनाउनुभयो आज ।
‘आई लाइक यू सर!’
सुभानले निष्ठालाई हेरिरहे। पालिस नलाएको कालो कपाल, लामो घाँटी। घाँटीमा वयस्कताले ‘दस्तक’ दिन थालेको सङ्केत गर्ने मसिना तेर्सा रेखाहरू। माथिसम्म टाँक उनेको सेतो सर्ट , गाढा नीलो कोट। चस्माभित्र थोरै गाजल लाएका चम्किला र मायालु आँखा। नपालिएका र पालिस नदलिएका नङ। हत्केलाका रेखाहरूमा अविरल भाँडा माझेको प्रमाण। मादकताहीन, तर मायालाग्दी!
सुभान - म मन परें कि कथा ?
पल्लो टेबलमा दुई जना ‘युवा साहित्यकार’हरू बियरको चुस्की लिँदै थिए। लामो कपाल पाल्नेले भन्यो, ‘अब त यार फरियावाला कथाको भाउ खुब छ। शीर्षक नै उत्तेजक! अस्ति एक जना दिदीले ‘फरिया फर्काएर लाज छोप्ने’ र ‘तिम्रो नजर मेरो फरिया’ लेखेर धूम मच्चाइन्। मलाई त यस्तो शीर्षक राख्नुको कारण पाठक तान्ने उपाय जतो लाग्छ। जे लेख्दा मानिस आकर्षित हुन्छन् त्यही गर्न थाले ‘लेखकहरू’!’
अर्को दारीवालाले चुरोट सल्काउँदै भनेको थियो, ‘तँ जे सुकै भन् साथी! पुरुष र नारीबीच यौन सम्बन्धबिनाको मित्रता असम्भव छ। म पनि बुझेरै कुरा गर्ने मान्छे हुँ। मेरो गोबर कुरो गर्ने बानी छैन।’
उनीहरू उठेर गए।
निष्ठा - पहिले कथा मन पराएँ, अनि तपाईं मन पर्नुभयो।
सुभान - तिमी पनि एउटा कथा सुनाऊ। म ‘आइ लाइक यू’ भन्न चाहन्छु।
निष्ठा - कुमुदाले बाह्र पास गरी। नेपालगन्जको गर्मीमा साइकल कुदाउँदै घर पुगी ऊ। आमाले भन्नुभयो, ‘के छोप्नु छ तैंले यो गर्मीमा स्वाँ फ्वाँ गरेर? आफ्नो ख्याल गर्! अब सानी छैनस् तँ। जिउ बिग्रो भने जिन्दगीभर दु:ख पाउँछेस्।
कुमुदा - म पास भएँ आमा!
आमा रुनुभयो। कुमुदा फेल भएको भए पनि रुनुहुन्थ्यो आमा। आमा नै यस्तो सृष्टि हो जसलाई भगवानले रुनको लागि बनाएका हुन्। आमासँग बाबासँग भन्दा दोब्बर आँशु हुन्छ रे! जसलाई उनले सुखमा पनि, दु:खमा पनि, हर्षमा पनि र शोकमा पनि रोएर खर्च गर्दछिन्। रुन पाइनन् भने आँशु भरिएर फुट्छिन् रे आमा।
आमाले बाबासँग भन्नुभयो, ‘थाहा पाउनुभयो? कुमुदा पास भई नि!’ बाबा चुपचाप! खुसीमा पनि दु:खमा पनि जो गुम्सिएर बस्न सक्छ, त्यही रहेछ बाबु। कुमुदाले बाबुलाई हेरिरही। बाबुले भनेका थिए, ‘पास हुनु त परो नि! अब यसको ब्या गर्दिनु पर्छ।’ कुमुदा दौडेर अर्को कोठामा पसी। कुमुदा एक्लै धरधरी रोई।
सुभान - कथाको सुरुआत राम्रो छ निष्ठा।
निष्ठा - म मन परें कि कथा?
सुभान - म झूट बोल्न जान्दिनँ। आइ लाइक कुमुदा।
सुभानलाई निद्रा लागेन आज। के हो यो निष्ठा? यस्तो पनि निजामती अफिसर हुन्छ? यसको घर कहाँ होला? कसका भाँडा माझेर हात कला गराई यसले? बाबुआमा को होलान्? यो विवाहिता हो कि अविवाहिता? अविवाहिता रहिछ भने? सुभान झसङ्ग भए।
निष्ठा र सुभानको भेट एउटा तालिम कार्यक्रममा भएको थियो। सुभान प्रशिक्षक र निष्ठा प्रशिक्षार्थी। गुरु चेलीको सम्बन्ध।
सुभानलाई लागिरह्यो, उनलाई एक जना प्रशिक्षार्थीले लगातार हेरिरहेकी छ। उनले नाम हेरे, निष्ठा शर्मा। प्रशिक्षकलाई त सबै सहभागीले बराबर हेर्दछन्। उनले सोचे, सायद यो मेरो भ्रम हो। निष्ठाले मलाई हेरिरहनु स्वाभाविक थियो। परन्तु, मैले उसलाई निरन्तर हेरिरहनु मर्यादा र शालिनताको विरुद्ध।
प्रशिक्षणमा सहभागी हुनेहरूलाई अनुशासित रुपमा अड्याएर राखिरहन कठिन हुन्छ। विशेष गरेर निजामती अफिसरहरू ज्यादा चन्चल हुन्छन्। कतिपयलाई आफैं सबै थोक जान्ने भ्रम र अहङ्कार पनि हुन्छ। उनीहरूमध्ये केही वास्तवमै जान्ने र केही ‘जान्ने’ मात्र हुन्छन्।
सुभानले कक्षाको वातावरणलाई सहज र सुगम बनाई बीच-बीचमा स-साना कथाको दृष्टान्त दिएर सबैलाई आफूमा केन्द्रित राख्ने प्रयत्न गर्ने गर्दछन्। त्यस्तै सानो कथाले निष्ठालाई ‘आई लाइक यू’ भन्न प्रेरित गरेको थियो।
फेरि उही ‘साहित्य रेस्टुरेन्ट’।
निष्ठा र सुभान दुवै पुगे। तर, एक अर्कोले ‘जाऊँ है’ भनेर सल्लाह नगरिकनै यन्त्रवत्।
निष्ठा - जीवन के हो सर?
सुभान - जीवन कपमा रहेको जोसिलो, तातो र पुत्ताउँडो कफीजस्तै हो, जसलाई एकै क्षणमा कसैले पिएर रित्याइदिन्छ। जीवन म जस्तो पनि छ र तिमीजस्तो पनि। न तिमीलाई थाहा छ म को हुँ, न मलाई थाहा छ, तिमी को हौ? तथापि, अहिले हामीसँगै छौं र विछोड पनि हुनेछौं। यही संयोग र वियोग हो जीवन। जीवन एक यात्रा हो जहाँ कुनै ठूला र कुनै साना बिसौनी आउँछन्। ठूलो बिसौनीमा यात्रा धेरै बेरसम्म रोकिन्छ, सानामा थोरै। यो हाम्रो साहित्यिक कफी गफ पनि जीवनयात्राको सानो स्टेसन हो।
निष्ठा - जीवन सुख हो कि दु:ख?
सुभान - जीवन दुवै हो र सायद दुवै होइन। सुख र दु:ख प्रकृति होइनन्। यी केवल संस्कृतिका अङ्ग हुन्। समाजले बाटेका डोरीका बन्धनहरू नै सुख र दु:ख हुन्। बुद्धले जीवनमा दु:ख छ, दु:खका कारण छन्, दु:ख निवारणका उपायसमेत छन् भनेर आठ वटा बाटासमेत देखाएका छन्। तर जीवनले ती बाटामा हिँड्नुभन्दा बुद्धलाई भगवान बनाएर पूजा गर्न सहज मान्यो।
निष्ठा - सरका सबै रचनाहरू दु:खान्त हुन्छन्, किन?
सुभान - मलाई दु:ख र पीडाले ज्यादा छुन्छ।
निष्ठा - सरले त कुमुदालाई लाइक गर्नुभयो।
सुभान - बाबुको सानै उमेरमा विवाह गरिदिने योजना र कुमुदाको रोदन उसलाई लाइक गर्नमा पर्याप्त छैन र? म कुमुदाबारे थप जान्न उत्सुक छु।
निष्ठा - म नै कुमुदा हुँ।
म रोएँ , आमा रुनुभयो। नारीको हार भयो। बा र दाइ पुरुषले जिते।
बाबाले भन्नु भएको थियो - ब्या भएपछि पनि एमएसम्म पढाउँछु।
मेरो दृढ उत्तर थियो, ‘तपाईंको एक पाई लिने छैन बाबा! बरु भाँडा माझेर खानेछु।’
बा र दाइ बसेर विवाहको सल्लाह गरिरहे। आमा र मेरो अनुपस्थितिमा।
आमाले भन्नुभयो - काठमाडौँमा घर भाको केटो हो रे। तर केटाकी आमाको एउटा हात रहेनछ। मैले मेरी सतीदेवीजस्ती छोरीलाई त्यस्ती एकहाते आइमाईकी बुहारी बनाएर पठाउने? भनेर थर्कमान पारेपछि अर्को केटो खोज्न थालेका छन्।
मैले भनेकी थिएँ - तपाईंले के थर्कमान पार्नु , उनीहरु के थर्कमान हुनु। जब मेरो विवाह गरिदिने नै हुन् भने किन दुई हाते खोज्नु? बाको पनि त एउटा आँखो छैन नि। हामी महिलामा पनि ठूलो कमजोरी छ। हामीलाई अरुको खोट खोजेर खिसी गर्न र उडाउन पाए पुग्छ। छोरीकी सासू गतिली चाहिने, आफू गतिली हुनु नपर्ने। दाइजो पनि महिलालाई नै चाहिने। ज्वाइँले छोरीलाई हुरुक्कै गर्नुपर्ने, छोरोले बुहारीलाई वास्ता गरे पुलपुल्याएको हुने। जोइटिङग्रे रे!
आज तपाईंले एकहातेको छोरालाई दिन्न भन्नुभयो। भोलि एकआँखे कानोको छोरालाई दिन्न भने भनें? बाको छोरो ब्रह्मचारी बस्ने? म त्यही एकहातेको छोरोसँग विवाह गर्छु आमा! मलाई बाले एउटा आँखो नहुँदा पाएको उपहास थाहा छ।
मेरो बिहे भयो।
चिडियाखाना।
निष्ठा - एउटा कुरा भनौं सर?
सुभान - तिम्रा कुरा सुन्न भनेरै त आएको छु।
निष्ठा - तपाईं किन आफ्नो जीवनबारे केही पनि भन्नुहुन्न?
सुभान - मेरो व्यक्तिगत जीवनबारे थाहा पायौ भने तिम्रो कमलो मनमा बोझ थपिने छ। मेरो जीवनबारे धेरै जान्ने प्रयत्न नगर। मेरो जीवन ईश्वरले गरेको अकल्पनीय अत्यचार हो। जति नै प्रयास गरे तापनि मैले मेरो जीवनका सबै सत्य बताउन सक्ने छैन। जति भन्नेछु त्यति नै लुकाउनेछु। म सँग सबै थोक छ, किन्तु केही पनि छैन। तर, म तिमीलाई निश्चिन्त पार्न चाहन्छु, मैले आफ्नै अन्तरात्माले धिक्कार्ने काम गरेको छैन।
निष्ठा - मैले त भनें त!
सुभान - तिमीले पनि नभन्न सक्थ्यौ। मैले त कथा सुनाऊ मात्र भनेको हुँ। तिम्रै जीवनगाथा सुनाऊ भनेको होइन मैले। तर, तिमीले सुनायौ। यसरी सुनायौ कि अरु धेरै जान्न मन लाग्यो।
निष्ठा - तपाईं मेरो पति हुनुपर्थ्यो!
सुभान घोप्टो परेर दुबो उखेलिरहे। कति क्रूर तरिकाले छुट्छ जीवनको गाडी! जीवनयात्रामा यस्ता मुकाम पनि आउँछन्, जहाँबाट अर्को यात्रा गर्नु नपरे हुँदोहो जस्तो लाग्दछ, परन्तु हिँड्नुपर्छ। जीवन जब थाक्दछ, ऊ अतीतका ती घटनाबाट आक्रमित हुन थाल्दछ, जो धेरै पहिले बितिसके। जब मानिसलाई लाग्दछ कि ऊसँग जे छ त्यो सबै उसको नियन्त्रणभन्दा बाहिर पुगिसक्यो, जब उसका समस्त आशाहरू एक-एक गरेर टुट्न थाल्दछन्, जब आफ्नो बल, विद्या र ज्ञानसमेत साराका सारा कुरा उसको काबुबाट हातको माछाजस्तै चिप्लिँदै जान्छन्, ऊ फगत एक भग्नावशेषमा परिणत हुन्छ।
निष्ठा - मैले स्वयंबरको माला अर्पण गरेका दुलाहा विवाह यज्ञमा निरन्तर झोक्राइरहे। उनलाई झक्झक्याएर जगाइरहनु पर्दथ्यो। सबैलाई लाग्यो काठमाडौंदेखि नेपालगन्जसम्मको यात्राले थाकेर यस्तो भएको होला। तर, उनी लागुऔषधका दुर्व्यसनी रहेछन्।
मैले प्राइभेट परीक्षा दिएर स्नातकोत्तर उत्तीर्ण गरें। असहज वातावरणका बीच लोक सेवा पास गरेर जागिरे पनि भएँ। हाम्रो एउटा छोरो छ, दस वर्षको। मैले मेरो पतिको आदत छुटाउन सक्दो प्रयत्न गरें। परन्तु, उनको आदत धेरै छिप्पिएको रहेछ। उनी गाली गर्दैनन्, आक्रमण गर्दैनन्, मलाई ‘डिस्टर्ब’ पनि गर्दैनन्। पैसा भए पुग्छ उनलाई।
उनको स्वास्थ्यको अवस्था हेर्दा लाग्दछ, अब केही दिनका पाहुना हुन्। मलाई उनको माया लाग्दैन, दया मात्र लाग्छ। विवाह भएदेखि आजसम्म माइत गएकी छैन र जाने पनि छैन। यदाकदा आमासँग कुरा हुन्छ।
अहो सर!
म त धेरै बहकिन पुगेंछु। आमालाई समेत नभनेको कुरा आज तपाईंलाई भनें। सरी!
सायद यो मेरो पोखिन नपाएको पीडा हो। यस्तो पीडा जो आमाबाबुलाई भन्नुको समेत प्रयोजन छैन। साथीहरूलाई पनि यस्तो दर्द पोख्न कठिन हुने रहेछ। कुटुम्बलाई भनौं, या त सहानुभूतिको पात्र बन्नुपर्छ या ठीकै भयो भन्नेहरू हुन्छन्।
मनभित्र भरिभराउ भएका दर्द र पीडाहरू सुन्ने र महसुस गर्ने पात्र कुन दुरदेशमा छ के थाहा! मेरो लागि तपाईं हुनुभयो। मेरो बेथा तपाईंमा पोखेर किन्चित भए पनि हलुका हुने मौका पाएँ आज।
‘आई लाभ यू!’
केही दिन यस्तै भेट र वार्तालाप भइरहे। एउटा गाढा अनुराग, जो गुमेको अवसरको कारण यतिमा सीमित हुन बाध्य छ। एउटा यस्तो मादकता जसमा कामवासना छैन। यस्तो प्रिती र स्नेह जसमा जैविक मिलनको उत्कण्ठा सहज रुपमा तिरोहित छ। यस्तो प्रतिनियम, जो आजसम्मका सबै नियमलाई बदल्न समर्थ छ।
तथापि उनीहरू नारी र पुरुष हुन्। पुनः पुनः भेट्न मिल्दैन उनीहरूले। एकले अर्कोलाई भेट्न भनेर जान मिल्दैन।
को मान्छ यो विशुद्ध मानवीय अनुराग मात्र हो? को मान्छ यस्तो अनुराग र प्रणय जसमा जैविक मिलनको आवश्यकता नै पर्दैन? को मान्छ यो प्रेममा मानवीय सुख-दु:ख, हर्ष पीडा, संयोग वियोग र भावनाहरू बाँड्ने उद्देश्य मात्र छ?
वियोगको बेला आइपुग्यो। जीवनयात्राको एउटा बिसौनीबाट गाडी छुट्ने दिन। जीवनको सबैभन्दा मन परेको प्यारो बिसौनी, जहाँ गाडी कुर्दा कुनै पट्यार लागेन, उच्चाट लागेन। सुखद् र रमणीय समय, जो मैनाचरीजस्तै भुर्र उडेर गयो। फेरि दु:ख, दर्द र पीडामा बिहानले साँझ र साँझले बिहानको प्रतीक्षा गर्नु त छँदैछ।
निष्ठा र सुभानको फेरि कहिल्यै भेट होला?