उदास घडीका काँटाले
अल्छी लागेर सार्दैछन् पाइला।
मानौँ, मेरा पाइताला र औँलाका टोप्रामा
सिरिन्जले खोपेर
नुनचुकले चहर्याउँदा
सुनेका हुन् ऐय्या भनेको।
उदासिलो यो कालो पर्खालको
वर्गीयता मार्ने भीडखानामा बसेर
कोरिरहेछु यतिबेला म
ढाकरको भारी छाडेर
देश बोकी हिनेकाहरूको रातो रगतको दाग
मेरो आस्थाको पहाडमा
क्रुरताले भरिएका बजारिन्छन्
भाडाका बुटहरू
भनेको छुइँन ऐय्या
मानौँ पाखण्डी काँतरहरू
काँपेका मुटु हल्लाएर
परेड खेल्दैछन् मेरा ढाडमाथि।
सुन्दैछु यतिबेला-
पूर्वकी महान् चेली कान्छी राईनीका छातीमा
बुट बजारी रगतमुच्छे पारेर मारेछन्
सामन्ती जल्लादहरूले।
उता-
सुदूरपश्चिमकी चौध वर्षीया चेली पुष्पा कठायतका
योनिमै बन्दुकका नालले
घोचेर मारेछन् नरपशुहरूले
थुक्क साले भाडाका कायर हो!
किन डर लाग्यो ती चेलीबाट?
अहिले-
मबाट डराएर कोचेका हौकी
विचारदेखि यो झ्यालखानामा?
म सम्झिरहेछु यतिबेला-
मेरो देशको छातीमा रगत बगाउने
कैयन् योद्धाहरूको आलो रगत।
त्रिभागी कमाउने ठूल्दाइ र
गिट्टी कुट्दाकुट्दै लात्तले बजाएपछि
सामन्तका शिर छेदन गर्न हिँडेकी
आइतरानीको रगतले कोरिएको कालो पर्खाल।
देश योद्धाका कथा लेख्दा
षड्यन्त्र गरी कोच्यौ
ए अर्धबेहोसी सत्ता!
तिमीले प्रत्येक दिन
मेरा पाइताला चिर्दा
निस्केको रगतले
झुकेको थेन मेरो आस्था र संकल्प।
हाजिर छु म कैदी नं. २१ को
देशद्रोही वर्गीय योद्धा
क. पिरती।
मेरो शरीर होइन
यो आस्था र विचार मारेर देखा
ए कायर नालायक शासकमहीम
श्रद्धाको एक अन्जुली फूलसँगै
मार्दैछस् मेरो शरीर
यही कालकोठरीमा
तर यति सम्झिरहनु
आगाका झिल्काहरू
थालेका छन् सल्किन
तेरा प्रिय शासनमा
र हुनेछन् खरानी कालान्तरमा
म/हामी जस्ताका रगतका छिर्काले हानेका झिल्काबाट।।