लघु कथा
(पात्रहरु: दाजु- जितु, भाइ- कृष्ण, चतुरेको कान्छो छोरो- हर्के, भाउजू- रमा, भतिजो- भुन्टे)
साँझ पर्न आँटेको थियो, कृष्ण सदा झैँ गैरी खेतबाट काम गरेर फर्कदै थियो। बाटामा उसले अनेकौँ कल्पना गर्न थाल्छ। ‘बा-आमाले छोडेर गएको पनि यतिका वर्ष भैसक्यो। दाजु भाउजूले आफ्नो छोरा भुन्टेलाई जति नै माया गरेर पाल्नु भएको छ।
यतिका वर्षसम्म अर्काको खेत अधिया गरी जेनतेन दुख सुख गरी खाएका छौँ। भुन्टे पनि दिन प्रतिदिन बड्दै जादैँछ। मैले धेरै पढन नपाए पनि भुन्टेलाई भने धेरै पढाउने र असल मानिस बनाउन मेरो पनि जिम्मेवारी हुन आउँछ। परिवारमा मैले पनि सहयोग गर्नु पर्छ।’
यस्ता खालका अनेकौं तर्क वितर्क गर्दै घरको पिढीँमा आइपुग्छ। त्यतिखेर रमा भाउजू अम्खोरामा पानी लिएर ‘लिनोस् हात धुनुहोस्, खाजा मकै भटमास र गुन्द्रुक साँदेको छ’ भनी लिएर आउँछिन् र भन्छिन्, ‘खै! भुन्टेका बा पनि पल्ला घरे साइला बासँग हाट जान्छु भनि हिडेका, यतिका बेला भैसक्यो, अझै फिरेनन्। लु खाजा झट्ट खाईहाल्नु।’
यति भनेर सुकुलमा खाजा राखी भान्सा घरभित्र पस्छिन्। भुन्टे पनि काकाको नजिकै आएर बस्छ र मकै भटमास खान खोज्दछ। भुन्टेलाई सुमसुम्याउँदै कृष्णले सम्झन्छ।
'बा-आमाले सानैमा छोडेर गएपनि अरुको जस्तो दाजु भाउजूले बेवास्ता गरेझैँ आमा समान मेरी भाउजूले बेवास्ता गर्नु भएन र आफ्नो सन्तान जस्तो गरी माया ममता दिनु भएको छ। मैले पनि मेरो परिवारको लागि केही गर्नु पर्छ। म पनि अब २२ वर्षको भएको छु, कति अर्काको खेतमा काम गर्ने! दाजुको पनि अरु कुनै काम छैन, यतिका धेरै साहुको ऋण छ। म अब केही गर्छु’ भन्ने कल्पना कृष्णले गर्छ।
त्यतिनै बेला दाजु पनि भुन्टे कृष्ण भन्दै घरमा टुप्लुक्क आइपुग्छन्। भुन्टेका बा भर्खर आउनु भयो भन्दै भाउजू पनि बाहिर निस्किन्छिन्। हेर बाबुले अहिलेसम्म खाजा नखाएको, सन्चो भएन की कसो भन्दै भाउजू कृष्णको निधार छाम्छिन्। होइन, मलाई ठिकै छ। खोइ! आज मलाई त्यति भोक लागेको छैन' भन्दै दाजु पनि हात धुनुहोस्, यो खाजा बाँडीचुडी खाउँ भन्छ।
आज कृष्णको निदाउरो अनुहार देखेर दाजुले ‘के भयो, कृष्ण किन मलिन स्वरमा बोल्छस?’ भन्दै सोध्छन्।
‘होइन दाजु, केही भएको छैन’ कृष्णले भन्छ।
यत्तिकैमा भाउजूले दाजुभाइ खाजा मिलेर खानुहोस् भनी अलिकति मकै त्यही थालमा थापिदिन्छिन् र उनी गोठ तिर जन्छिन्। त्यसपछि दाजुले फेरि कृष्णलाई ‘तलाई केही भन्न मन लागेको छ भने भन्’ भन्छन्।
‘दाजु म पनि अब ठूलो भईसकेँ, यो घर व्यवहार तपाइले मात्र कति एक्लै थाम्नु हुन्छ, मैले पनि केही गर्नु पर्छ। चतुरे दाइको कान्छो छोरा हर्के परदेशबाट आएको छ, म पनि उसैसँग परदेश जानुपर्यो भन्ने सोच्दै छु। दाजुको के विचार छ?’
कृष्णका यति कुरा सुनी दाजुका आँखा रसाए र दाजु ‘नजा, यहीं जसोतसो खाउँला, बाख्रापाठा बेचेर अलि अलि गर्दै ऋण तिरौला बाबु’ भन्छन्। तर कृष्णले मान्दैन। त्यसपछि दाजुले ठिकै छ, सल्लाह गरौँला भनी घरभित्र पसी कपडा फेर्न थाल्छन्। राति खान खाएर सबै सुत्न आ-आफ्ना कोठामा पस्छन्।
दाजु र भाउजू खासखुस कुरा गर्छन् 'कृष्ण त परदेश जान्छु भन्छ त! तँ के भन्छेस बुढी?’
‘हुन्न! हुन्न! त्यति सानोदेखि हुर्काइ बढाई गरेँ, म मेरो नजरबाट टाढा जान दिन्न’ भनी भाउजू सुँक्क-सुँक्क गर्छिन्। अब रात पनि छिपिई सक्यो भनी सुत्छन्।
अर्को कोठामा सुतेको कृष्णलाई छट्पटी चल्छ, वल्टो कोल्टो फर्किदै सुत्न खोज्छ तर सुत्न सक्दैन। उसले अनेक तर्कना गर्छ र परदेश जाने नै निधो गर्छ। त्यतिकैमा बिहान हुन्छ, हातमुख धोइ सबै चिया खान पिढीँमा बस्छन्। दाजु जितुले भन्छन्, ‘तँ निदाइनस् राति?’
‘निदाए दाजु, मैले त परदेश जाने नै निधो गरेँ। मलाई अनुमति दिनोस्।’ कृष्णको यस्तो विनम्र वचन सुनेर जितुले ‘ठिकै छ, जा न त’ भन्छन्। दाजु जितुले चतुरे दाइको कान्छो छोरो हर्केसँग कुरा मिलाई आउँछन्। त्यसपछि दाजु जितुले जोहो गरी बचाएर राखेको अलिकति पैसा, भाउजूको ढुङ्ग्री, मारवाडी र लैनो गाइ बेची अलिकति पैसा जम्मा गर्छन्।
त्यपछि नपुगेको रकम ऋण काडी चतुरे दाइको कान्छो छोरो हर्केसँग परदेश जान तयारी गरीदिन्छन्। भोलिपल्ट कृष्ण लुगा लगाएर आफ्नो झोला बोकी परदेश जान भनी घरबाट निस्कन्छ। भाउजूले रुदै टिका लगाइ बाटामा खाने खाजा पोको पारीदिन्छिन्।
दुवै कृष्ण र हर्के परदेश हिड्छन्। घरबाट देखुन्जेलसम्म भाउजूले हेरिरहन्छिन् र पाखाबाट कराएर 'बाबु....' भनेको आवाज कृष्णका कानमा पर्छ। ऊ पनि रुदै दाजु-भाउजू र भुन्टेलाई सम्झदै सहर जाने गाडीमा चड्छ र केही दिनपछि परदेश जाने जहाजमा बसी परदेश जान्छ।
परदेश गएपछि उसले राम्रै काम पाउँछ तर आफ्नो दाजु, भाउजू र भुन्टेको धेरै यादले उसलाई सताउँछ। २/४ महिना काम गरेको पैसा जम्मा गरेर घर खर्च दाजुलाइ पनि पठाउँछ। उता दाजुले गाउँमा पनि भाइ कृष्णले पठाएको पैसाले साहुको अलि अलि गरेर ऋण तिर्छन्। दुवै तिर खुसी भएर बस्छन्।
अकस्मात! कृष्ण बिमारी पर्छ, धेरै ज्वोरो आउँछ र कोठाबाट उठ्न सक्दैन। उपचार गर्न जान पनि सक्दैन र काममा पनि जान सक्दैन। उसलाई झन् भनो झन् धेरै ज्वोरोले च्याप्छ। ऊ बसेको ठाउँबाट चतुरेको कान्छो छोरो हर्केले पनि थाहा पाउदैन। कृष्णलाई धेरै ज्वोरोले च्यापेर भित्र भित्रै टाइफाइड हुन्छ।
उ धेरै कम्जोर भएर बेहोस हुन्छ र उसको सुतेकै ठाउँमा मृत्यु हुन्छ। उता घरमा कसैलाई थाहा हुँदैन। मृत्यु भएको हर्केलाई पनि थाहा हुँदैन। काम गर्ने ठाउँबाट खोज तलास गर्दा उसको कोठामै मृत्यु भएको कुरा काम गर्ने साहुलाई थाहा हुन्छ र हर्केलाई बोलाई कृष्णको लाश गाउँ लैजान भन्छ। साहुको सहयोगमा कृष्णको लाशलाई बाकसमा हाली हर्केले गाउँ लिएर आउँछ।
घरको आँगनमा एक्कासी त्यस्तो बाकस देखेर गाउँ घरका सबै शोकमा पर्छन्। भुन्टेले ‘काका मलाई खेलौना ल्याईदिने भनेको होइन, किन नबोलेको’ भन्दा एकचोटी गाउँ नै उचालिने शोकाकुल आवाजले थर्किन्छ। परिवार सबै शोकमा पर्छन्। भाउजू मुर्छा पर्छिन्।
त्यही शोकमा डुबेकी भाउजू सानोदेखि पालेको, हुर्काएको, दौराको तुना बाँधेको, खेलेको सम्झदै धेरै पिरमा पर्छिन्। दाजु जितु पनि भाइलाई गुमाएको पिरमा कमजोर बन्दै जान्छन्। भाउजू पनि दुब्लाउदै जान्छिन्। भाउजू दुईजीउकी भएकी थिइन्।
रक्तअल्पताको कारणले भाउजू कम्जोर भएर वैद्यकोमा लान्छन्। राम्रो उपचार नपाएर, जितु र भुन्टेलाई छोडी सदाको लागि स्वर्गबास हुन् पुग्छिन्।