हर्कबहादुर अलिकति तेल र नुन किन्न चम्पा बहादुरको पसल पुगेको छ।
‘अब त म सामान दिन नसक्ने भएँ है हर्के , यत्तिका महिनाको उधारो पनि बाँकी छ। पहिला त भारतमा काममा थिस् र पैसा आउँथ्यो अब कसरी तिर्लास् , र मैले केको आधारमा उधार बढाउनु तँलाई भन् त ? ल नुन लैजा बरु।’
पसलेले एक पोका नुन मात्रै उधारो दिएपछि घर फर्केको हर्के आफ्ना बच्चाहरूलाई सुम्सुम्याउँछ।
आँखाबाट तरक्क चुहिएका आँसु बढेका दाह्रीमा अल्झेपछि आँसु पुछ्न टुटेका बटन र च्यातिएको कमिजको बाउला आँखासम्म पुर्याउँछ।
मान्छे र दुनियाँको अवस्थाबाट बेखबर बच्चाहरू घरको आँगनमा रमाइरहेका छन्। आफ्ना बुवा धेरै दिनसम्म घरमा बसेको देखेर उनीहरू हर्षित छन्।
के भयो रामका बा ?
हर्के श्रीमतीका आँखामा हेर्छ । दुबैका आँखा जुध्छन्। श्रीमतीले कुरो बुझे झैं गर्छे र नियाउरो मुख लाउँदै टुटेको पिर्कामा थचक्कै बस्छे। ऊ पनि एकफेर खेलिरहेका बच्चातर्फ हेर्छे र फर्रक्क फर्केर मही बनाउन भान्सामा छिर्छे।
ओखलमा कुटेको चामलको पाक्दै गरेको भातको माँड डेक्चीमा निकालेर भर्खर हर्केले ल्याएको नुन र बारीमा फलेको डल्ले खुर्सानी मिसाउँछे। कच्याककुचुक परेको थालमा खाना पस्केपछि हर्केलाई खानलाई डाक्छे।
‘बच्चाहरूले खाए ? उनीहरूलाई ख्वा न् अनि खाउँला,’ हर्के भन्छ।
‘पोलेका मकै खाएका छन् भर्खर बच्चाहरूले, भोक छैन होला तपाईं खानुस् अनि ख्वाउँला।’
हर्के भान्सामा एक नजर दौडाउँछ। भान्साको एउटा कुनामा मूलाका सुकुटी धागोमा टाँगिएका छन्। काठको डब्बामा कोदोको पीठो छ, भएका दुई चार डब्बा पनि रित्ता देख्छ। दिनहुँ भान्सा खाली र मक्किँदै थियो। घरको महत्वपूर्ण अंग नै यति उजाड र बुढो भएपछि आफ्नो पुरूषार्थलाई मनमनै धिक्कार्छ। घुटुक्क आँसु पिउँछ। दुई गाँस भात मुखमा हालेर अम्खोरा लिएर बाहिर जान्छ।
कोठामा निन्द्रा नपरेपछि बाहिरै गुन्द्री ओछ्याउँछ। खुला आकाशमा चम्किरहेका ताराहरूको चमक हर्केको मनभित्रको अन्धकारलाई किन प्रभाव नपारेको होला!
हर्केका आँखाले सपनाहरू कहिल्यै देख्न पाएनन्। जवानीको यात्राको सुरूआतमै बुवाको पछि लागेर इन्डिया पसेदेखि नै संघर्षका नराम्रा बिम्बहरू उसलाई पछ्याइरहेका छन्।
उसै पनि सपनाको उडान भर्न त जीवन पनि कपासजस्तै बन्नु पर्छ। चन्द्रमा उसलाई जिस्क्याएर बादलसँग लुकामारी खेल्न व्यस्त छ। अनेक तर्कना मनमा खेलाउँदै रातभरि कोल्टोमात्रै फेरिरहन्छ ऊ ।
बिहानै बाहिर साउने झरी दर्कन्छ। उसकी श्रीमतीले त्रिपालको सहायताले डेक्चीमा पानी जम्मा गरेतर्फ हातमा सुर्ती घोट्दै हेरिरहन्छ । माथि छानाबाट पानी भित्र पसेर लिपेका भुइँ हिलाम्मे भएको हुन्छ। एकछिनमै पानी रोकिन्छ। ओतलाग्न घरभित्र पसेका बाख्रा बाहिर निस्कन्छन्।
‘कस्तो समय लाग्यो। दुइटा बोका बेचेर खर्च टारौंला भनेको त यसपाला त चाडतिहारमा पनि भित्रै बस्नु भनेको छ रे सरखारले। अब को ग्राहक आउला यस्तोबेला?’
एकोहोरो बोलिरहेकी बुढीको कुरामा कुनै प्रतिक्रिया जनाउँदैन हर्के।
पानी रोकिएपछि साँझ हुनैलाग्दा हर्के सेती नदीको बगरमा जान्छ । भारतबाट फर्केदेखि नै हो ऊ यहाँ आउन थालेको। यहाँ दिनहुँ एक चक्कर लाउन आउँछ , रमाउँछ , हराउँछ अनि फर्कन्छ।
अघाउन्जेल सेती नदी सुसाएको हेर्ने उसको वर्षोदेखिको रहर भने महामारीले पूरा गरिदिएको थियो। अब भने दिनप्रतिदिन यस नदीबाट टाढा जान पाएझैं भैरहेको थियो हर्केलाई।
मानिसको भित्री अवस्थाले बाहिरी दुनियाँलाई रंग्याउँदो र खुइल्याउन सक्दो रहेछ। सेती देखेर कालो वितृष्णा जागेर आउँछ उसलाई।
वर्षातका कारण सेती नदी डरलाग्दी भएकी छ , आवाज पनि कर्कस । तर पनि ऊ छेउमा बस्छ। बेलाबेलामा पानीका चिसा छालहरू उसको मुहारलाई भिजाएर जान्छन्। धानको रोपो गोड्ने कामबाट फर्केका समूह आ आफ्ना घरतर्फ लम्किरेहका छन्। ऊ मनमनै आज एउटा संकल्प लिँदै छ जसलाई नदीको प्रत्येक छालले दृढ बनाउँदै थियो।
छालले एउटा माछा उफ्रदै ऊ नजिक पुर्याउँछ , पुनः भेलको रफ्तारसँग क्षणमै कता बिलाउँछ ।
००००
बितेका केही महिनायता यो महामारीले उसलाई नराम्रैसँग थला पारेको छ। छ महिनाअघि, दिल्लीको चाँदनी चोकको व्यस्त कपडा बजारमा ग्राहकको हुल एकाएक घटिरहेको हुन्छ।
महामारीको प्रवेश भएसँगै दिल्लीका व्यापार व्यवसायमा ताला लाग्दै गर्दा ऊ त्यति आत्तिएको थिएन। दिनहुँ नराम्रो खबरले अलिअलि पिरोलिँदै भने थियो।
हप्ता/दश दिनमा एकपटक नेपाल टेलिकमको १४२४ बाट बुढीले फोन गर्दथी र साठी सेकेण्डभित्रै दश कुरा गरिसक्थे दुबैजना।अचानक मोदीले “भारत देश ”बन्द भएको घोषणा गरेसँगै ऊलगायत ऊजस्ता उसका साथीहरू घरजाने सोच बनाउँछन्।
मालिकले ‘अब काम नही है , तुमलोग अब काम में नहीं आना’ भनेपछि रित्तो खल्ती छामेर पाँच जना बस्ने साँघुरिएको कोठामा फर्केको थियो हर्के।
मालिकले महिनाको तलब नदिएपछि आफ्नो इजारमा बाँधेको साँचोले टिनको बाकस खोल्छ।
खैरा र गुलाबी रंगका केही नोट र खुद्रामुद्रा देखेपछि त्यहाँ बस्न उसलाई मन लाग्दैन। लागोस् पनि कसरी ? आवश्यकता नभएपछि सहरले पनि कसरी खेद्न सक्दो रहेछ भन्ने कुराको महशुस नभएको त होइन उसलाई।
बस्ने कोठाको बाहिर साँघुरो गल्लीमा बेलुका चायवालासँग प्लाष्टिकको गिलासमा पाइने दश रुपैयाँको चिया दुई घुट्कोमा निल्छ। र अर्को दिन बिहानै आफ्नो देश नेपालतर्फ लाग्छ।
दुईदिन मै दिल्ली सहर सुनसान भएको हुन्छ । ठाउँठाउँमा प्रहरीहरूमात्र देखिन्थे। विभिन्न समूहका ज्याला गरेर खाने “ मजबुर” मजदुरहरूको “कारवाँ ” सडक बीचबाटै हिँडिरहेको देखिन्थ्यो।
हर्केको समूह पनि पाइला दह्रो गर्दै सामान कसेको फाटेको झोला भिरेर हिँडिरहेका छन्। हिँड्दै गुड्दै हिँड्दै नेपाल भारतको सीमा गड्डाचौकी पुगेपछि लामो स्वास लिन्छ हर्के।
दिनप्रतिदिन बढिरहेको गर्मीले घाँटी सुकेकाले ऊ महाकाली नदीको चिसो पानी अँजुलीमा राख्छ र धित मरुन्जेलसम्म पिउँछ।पानीको सतह कम छ। नदीमा बहाव छैन। ढुंगा र बालुवामै बसेर निकैबेर सुस्ताउँछ। नेपाल भारत सीमा क्षेत्रमा अरिंगालको गोलोजस्ता थुप्रै झुण्डहरूमा नेपालीहरू आफ्नो मुलुक छिर्न खोज्दै थिए।
आठ दश जना मानिस मास्क लाएर त्यहाँ भएका मानिसलाई चाउचाउ र चिउरा फालिरहेका देख्छ। आफू पनि भीड छिचोल्दै चाउचाउ र चिउरा हात पार्न सफल हुन्छ।
ती मानिसहरूमा एक जना चिच्याउँदै थियो ‘माथिको आदेश नआएसम्म तपाईंहरूलाई नेपालभित्र प्रवेश दिइने छैन।’
हर्के थचक्क बस्छ फाटेको ढाकाको टोपी घुँडामा राख्छ, गोजी छाम्छ खैरा रंगको दश वटा भारुका नोट निकाल्छ र माथि हेर्छ।
दुई तीन हजारजति नोट उसले सुरुवालको भित्री खल्तीमा सिलाएर राखेको छ। पटक पटक पैसा छामिरहन्छ।
यसअघि ऊ नाकामा दुई पटक लुटिएर घर पुगेको थियो। त्यहाँ लगभग चार दिन बिताएर हर्के तोकेकोभन्दा चार गुना बढी भाडा तिरेर आफ्नो गाउँ पुग्छ।
गोजीमा धेरै पैसा नभए पनि मन हर्षले विभोर भएको हुन्छ। महामारीमा मान्छेहरू एकअर्कासँग टाढिएर हिँडिरहेको थिए। ऊ चौध दिन एउटा स्कूलको क्वारेन्टिनमा बसेर घरको आँगनमा पुगेको हुन्छ।
दिल्लीबाट घर पुग्न सधैं लगभग दुई तीन दिन लाग्थ्यो तर, अहिले एक महिना लगाएर घरको आँगन टेक्न पाएको थियो।
मन चंगा थियो जसले शरीरको थकावट र सुन्निएको शरीरलाई फरक पारेको थिएन। पूर्ण जीउज्यानलाई घरसम्म पुर्याएकोमा छाती फराकिलो पारेको थियो।
००००
वर्षोअघि उसका बाले इन्डियाबाट ल्याएको रेडियोलाई घरको कुनै कुनाबाट निकाल्छ। रेडियोका पेटबाट निस्केका आन्द्रा जस्ता हरिया र राता तारलाई चुल्ठीजस्तै एकआपसमा बाध्छ। ब्याट्री बदल्छ। दुइटा गोलामध्ये ठूलो गोलोलाई घुमाउँछ कटक्क आवाजसँगै घर्रर आवाज आउँछ। गोलो सुस्तरी अझै घुमाउँछ।
‘सोचेझैं जिन्दगी रै’नछ’ .... घनकिन्छ। सोचेझैं जिन्दगी छैन भन्ने कुरामा जानेर ,बुझेर र देखेर नै भारत पसेको निकै समय भैसकेको हो हर्केलाई। तै पनि उसको जीवन सोचेझैं कहाँ भएको छ र ! बिहानै समाचार सुन्छ कोरोनाको महामारीबाहेक अन्य समाचार उतिसारो फलाक्दैन रेडियो आजभोलि।
‘बुढीले आँगन गोबरले लिप्दै गरेको हेर्छ। घाँटीमा पातलो एकसरो पोते पहिरिएको देखेर हर्के बोल्छ ‘तँलाई यसपालि नक्कली इन्डियन मंगलशूत्र ल्याउँला भनेको हेर .... ’।
अब भैगयो दिन समय यस्ता लागेका छन् बाँचिहाले लाउनु त कताजाला र ! तपाईं जोगिएर घर पुग्नु भयो अहिले त कति हो कति। ” उसको बोली पूरा नहुँदै बोल्छे उसकी श्रीमती।
टिनका बाकसबाट तीन हजार भारुलाई ४८ सय नेपालीमा आएको दोस्रो दिनमै बदलिसकेको थियो, जसलाई तासका पत्तिजस्तै सोचेरमात्रै खर्चंदै थियो।
के होला वा नहोला भन्ने भविश्यप्रतिको आशा/निराशालाई वेवास्ता गरेको थियो। पुनः फर्केर भारत काममा जान पाइएला वा नपाइएला तर सधै बञ्चित रहने गरेको घरपरिवारको सुगन्ध र अपनत्वमा हर्के हराएको थियो।
जे परे पनि अब यतै पर्ला सोचिरहेको हुन्थ्यो दिनदिनै। उसको यो सोच आफ्नै रहेन धेरै दिनसम्म , उसको सोच धुर्मुरिँदै गएको थियो।
दिनहरू दिनमात्रै नभएर महिना भएर जाँदै थिए केही दिनपछि त वर्षको आधा पनि। उता भारत खुला भइसकेको समाचार सुनेको निकै भइसक्यो चम्पाको पसलमा उधारो बढ्दै जाँदा उसको घाँटीको घ्यारघ्यार पनि बढिरहेकै हुन्थ्यो।
जे परे पनि देशमै गरौंला, मरे पनि परिवारसँगै मरौंला तर रोगले भन्दा भोकले मरौंला भन्ने अन्तर्मनको बलियो आवाज अब बिस्तारै कमजोर हुँदै टुटिरहेको थियो। केही दिन उसको अन्तर्मन शून्य भयो, कुनै आवाज आएन। केही समययता उसको अन्र्तमनबाट अर्को आवाज आउँदैछ। ‘भोकले भन्दा रोगले मर्नु नि बरू !’
आफू वरपर हेर्छ। सल्लाका रुखहरूले श्रृंगारिएका अग्ला डाँडाहरूमा हरियाली छाएको छ। त्यो पनि वर्षात् भएर नै हो नभए केही महिनापछि यी हरिया डाँडा नांगा डाँडामा परिणत हुनेछ।
यहाँ बसे उसको जीवन पनि खण्डहरमा परिणत हुनेछ भन्ने आभाष बिस्तारै हुन थालेको छ। उसको एउटा ज्यानले ऊमाथि आश्रित परिवारका अन्य ज्यानको ग्यारेन्टी लिन सक्दैन।
अर्को दिन बिहान सुन्छ भारत कोरोनाबाट संक्रमित हुने देशहरूमध्ये दोस्रो नम्बरमा परेको छ।
जतिजति रोग बढिरहेको छ गाउँमा युवा जवानहरू पुनः भारततर्फ जाँदैछन्। उसका गाउँबाट पनि धेरै जना गइसके , कोही स्याउ टिप्न त कोही मजदुरी गर्न।
सेती नदीको किनारामा आज अबेरसम्म बसिरह्यो। बेलुकाको चिसो सिरोटोले उसलाई झस्काउँछ तर आफूभित्रको गर्मीले उसलाई उकुसमुकुस पार्छ। जुरुक्क उठ्छ र घरजान्छ। घरको भान्सामा बुढी खाना पर्खंदै रहेकी छ।
नुन र कोदाको रोटीसँग चामल पखालेको पानी जत्तिको मही सुरुक्क पार्छ।
‘बुढी मेरो टिनको बाकस खाली गर, बिहानै म भारत जाने भएँ।’
उसकी श्रीमतीले मुखमा हाल्दै गरेको गाँस बीचमै रोक्छे। भन्न सक्ने अवस्थामा केही भए पो भन्नु। घरमा गुजारा हुन ज्यानमात्रै सँगै भएर हुँदो रहेन छ।
‘जाने भयौ त बुढा !’, उसका तरल हुँदै गरेका आँखाहरूमा समुद्रै थियो तर केही आँसुका थोपामात्रै बग्न दिन्छे।
‘अँ, बरु मरे पनि रोगले मरूँला। कसरी बाँच्न सकिन्छ अब घरभित्रै बसेर त।’
अर्को दिन, कुखुराको डाँकभन्दा पहिले हर्के उठिसक्छ। भारतीय रासन कार्ड ओर्काइफर्काइ हेर्छ र सुरक्षित राख्छ। एकपटक सुतिरहेका छोराछोरीको अनुहार हेर्छ। च्यातिएका , उध्रेका लुगामा मैलको डल्लो जमेको छ। हिजो रातिनै छोराछोरीलाई आफूजाने कुरा सुनाइसकेको थियो।
‘अर्कोपालि आउँदा सेतो मिश्री ल्याउनु है बा, अनि घुम्ने पुतली पनि।’ छोराछोरीसँगको संवाद सम्झन्छ र बच्चाहरूको ख्याल राख्नु भन्दै श्रीमतीसँग बिदा भई लामा लामा पाइला अघि सार्छ।
बाटोमा पर्ने स्कुलका भित्तामा सूर्य, रूख अनि केकेका चिन्ह मेटिएका छैनन्। भोट हाल्न नेपाल आएको पनि करिब तीन वर्ष हुन लागेको सम्झन्छ। प्रत्येक चुनावमा भोट खसाल्न आएर आशाहरूलाई हराभरा गरेर फर्कन्थ्यो।
आज हर्के ती चिन्हहरूमा थुकेर अघि बढ्छ। फाटेको नेपाली ढाका टोपी सीमासम्म लगाएर सधैं आउँथ्यो अनि खल्तीका घुसाथ्र्यो। तर आज उसलाई टोपीको होस भएन् वा ल्याउनै चाहेन आफूसँग।
राजमार्गमा उसलाई कुरेर बसेका उसका साथीहरूले उसलाई जीपमा चढाउँछन्। ऊ गुड्दै जान्छ । उसलाई लागिरहेको छ मानौं यहाँका डाँडा , बोट बिरुवा, गाईवस्तु उसलाई नै हेरिरहेका छन्। उसँगै भारत देश गइरहेका छन्। उसलाई भारत देश नै ठिक लागिरेहको छ बरु। हड्डी घोटेर, गाली सहेर भए पनि जेनतेन परिवार पालेकै थियो।
आफ्नो नागरिकताभन्दा भारतीय रासन कार्डको भर लाग्छ उसलाई बरु। यी पाखाहरू पनि उसँग न्याय गर्न नसकेकोमा दु:खी छन् त्यसैले तराई आउन्जेल उसको साथ छाडेनन्।
तराइको उरन्ठ्याउलो गर्मीमा आफूजस्तै उभिएका मानिसको लस्कर परसम्म देख्छ सीमा क्षेत्रमा। अनुहार सबैका फरक भए पनि विगत छ महिनामा भोगेको पीडा र अबको उद्धेश्य भने सबैको समान छ।
भारत नै गएर त्यहीँ काम गर्नु, विरानो देशमा विरानै व्यवहार सहनु तर आफ्नो देशमा विरानो भएर कसरी बस्नु !
आज महाकाली नदीको बहाव तीव्र गतिमा छ। १५ मिनेट लगाएर पूल पार गर्छ। पराया लागेका देश भारत कै भरोसामा आफ्नो परिवार छाडेर आएको छ।
महाकालीको छेउबाट देखिने नेपालका डाँडालाई आज हात नहल्लाई भारत देश प्रवेश गर्छ। अब ऊ जता काम मिल्छ त्यहीँको गन्तव्यमा जाने सोचमा छ।
अनुहार न्यास्रो छ मनमनै सोच्छ , यस्तो संकटमा समेत सोध्ने कोही भएन उसलाई , तँ किन भारत फर्कंदै छस हर्के ?