एसएलसी सकेको भोलिपल्ट त्यो केटो झापातिर लाग्यो। म, उर्मिला आफ्ना झोलीतुम्बा बोकेर घरतिर लागेँ। घर भनेर मेरो जाने ठाउँ मामाघर नै थियो।
म जन्मनुभन्दा तीन महिना अगाडि नै घाँस काट्न जाँदा रुखबाट खसेर बा बित्नुभएको, घरको आर्थिक अवस्था कमजोर भएको भएर बाइस वर्षको उमेरमा विधवा भएकी मेरी आमा माइतीको शरणमा पुग्नुभएछ।
एउटा गरिब बाहुनसँग प्रेम विवाह गरेर गएकी मेरी आमा गाउँकै जमिन्दार काजी खलकमा शरण पर्न बाध्य हुनुभयो। उहाँलाई माइतीमा बस्न खान त दिए तर अपहेलना सहिसक्नु थिएन अरे। हजुरबा, हजुरआमा हुन्जेल ठीकै भयो।
बारम्बार आमाले काजी खलकको इज्जत माटोमा मिलाएको, माग्नेसँग पोइल गएको, यस्तालाई पाल्नुपर्ने भनेर जेठा मामाको वचन खाँदाखाँदा सहन नसकेर माइतीमा शरण पर्न आएको तीन वर्षपछि बा लड्नुभएको भिरबाटै हामफालेर आमाले आत्महत्या गर्नुभएछ।
म तीन वर्षकी थिएँ। आमाको मधुरोमधुरो आकृति अझै आउँछ आँखामा। अनि म रहेँ बाँकी। म मामाघरमै हुर्किएँ। बारम्बार माग्ने काठाकी सन्तान, प्याउसी, टुहुरी यस्तै भनाइहरू खाँदै हुर्किएँ।
कान्छी माइजू अलिकति पढेलेखेकी र सभ्य परिवारको हुनुहुन्थ्यो। उहाँकै जोडबलले गर्दा आठ वर्षको उमेरमा भए पनि स्कूल जान पाएँ। पढाइमा मामाका छोराछोरीहरूभन्दा अब्बल भएकाले पटकपटक स्कुल छोड्नुपर्ने परिस्थिति आइरह्यो। हरेकपटक कान्छी माइजूले जोगाउनुभयो।
मामाहरू आफूलाई धनी र खानदानी हौँ भन्थे। जेठा मामा सामन्त मात्रै हैन गाउँका प्रधानपञ्च पनि भएपछि मात्तिनका लागि अरु के चाहिन्थ्यो र। तर जतिसुकै धनी र ठूला भए पनि घरका सारा काम, मेलापात, पर्म, गोठाला, खेती सबै परिवारकै मान्छेहरूले गर्थे।
त्यसमा मैले छुट पाउने त कुरै भएन। बिहानभरि घाँस काटेर थुपारेर स्कुल जान्थेँ।
बेलुका आएर गाईवस्तुलाई पानी खुवाउने गोठमा बाँध्ने, बाख्रा खोरमा हुल्नेदेखि साँझमा मझेरी लोटाउने, चुलो पोत्ने, भाँडा माझ्ने काममा सघाउनु पर्ने रुटिङ नियमित हुन्थ्यो। पढ्ने त स्कुलमै मात्र।
मैले कामबाट फुर्सद पाएको र पढाइमा मात्रै ध्यान दिन पाएको त त्यही एसएलसी दिन डेरा लिएर बस्दा मात्र हो।
मामाघर पुगेँ। एसएलसी सकिएको कुरा, जाँच राम्रो भएको खुसीको खबर मैले कसलाई सुनाउनु थियो र, कसैलाई थिएन। कान्छी माइजूलाई यताउति हेरेँ, देखिनँ। आफ्नो ओछ्यान भएको कुनामा झोला फ्याकेँ। घरमा मलाई नै पर्खेर बसेझैँ अनेक कामहरू छँदैथिए। डोको बोकेर लागेँ बारीतिर घाँस काट्न।
घाँस लिएर घर आइपुग्दा बाहिर आटमा ढस्स परेर गोपिन्द्रे सुर्ती उडाउँदै बसिरहेको रहेछ। मैले, “किन आएको ?” भनेर अलि झर्केर सोधेँ।
“बडाबाले बोलाएर आएको। तँलाई के खाँचो?” भन्यो ।
“मलाई पाउँला भन्ने सोचेका छौ भने सपनामा पनि नदेख्नू बुझ्यौ? नत्र खाउला अस्तिको जस्तै।”
मौकामा यसलाई तर्साइहाल्नुपर्छ भन्ने लागेर मैले भनिहालेँ ।
“यी नापिस् अब त । बडिबाले आजै कुरो छिन्ने भनेका छन्, बुझिस्?” गोपिन्द्रेले परैबाट मलाई लोपार्दै भन्यो। म आज फर्किन्छु भनेर मामाले उसलाई बोलाइसकेछन्। म मामाका लागि कति धेर भएकी रहिछु त।
“यी नाप्लास् तैँले!” मैले पनि परैबाट उसलाई लोपारिदिएँ।
गोपिन्द्रेलाई हप्काउँदै गरेका बेला कान्छी माइजू आइपुग्नुभयो। गोपिन्द्रे र मेरो विवाद माइजूले सुन्नुभएछ।
भन्नुभयो, “तिमी पर्सि मात्रै आऊ अरे है गोपिन्द्र, बडिबाले भन्नुभएको। बडिबा घरमा हुनुहुन्न।”
“मलाई आजै आउनु भन्नुभएको थियो।” ऊ अलि निराश देखियो।
“भनेको थियो अरे, तर अब पर्सि मात्रै आउनु भनिदिनु भन्नुभएको छ।”
“ला, हो र!” भन्दै गोपिन्द्रेले बेस्सरी सुर्ती तान्यो। नाकबाट हुसुसुसुसु धुवाँ निकालेर आँगनतिर जोडले फ्याँक्यो र रछ्यानतिर सुर्तीको ठुटो फालेर बाटो लाग्यो।
गोपिन्द्रेको खास नाम गोपिचन्द्र खत्री हो। बिर्खे खत्रीको कान्छो छोरो। बिर्खे खत्री हाम्रा जेठा मामाको इमान्दार चम्चा। गोपिन्द्रे सानैदेखि छुच्चो, दुष्ट प्रवृत्तिको। आफ्नै आमालाई ढुङ्गाले हानेर झण्डै परमाधाम पुर्याएको घटना मैले सानैमा सुनेकी हुँ।
पाँच कक्षामा पाँचैपल्ट फेल भएपछि बाबुले यसको बिहे गरिदिएका रहेछन् एउटी बालिकासँग। बिहे गरेको केही महिना पछि नै यसले आमालाई ढुङ्गाले हानेको हो।
गोपिन्द्रेले हानेको ढुङ्गा लागेर आमा लडेको देख्ने बित्तिकै गोपिन्द्रेको घरबाट भागेर माइती पुगेकी उसकी श्रीमती फेरि फर्केर कहिल्यै गोपिन्द्रेका घरमा आइन। आउनै मानिन।
बरु भिरबाट हाम फालेर मर्छु तर त्यो घरमा जाँदै जान्न भनेर उधुम गरी। निकै पटक गोपिन्द्रेले फर्काउन प्रयास गर्यो, तर्सायो, धम्क्यायो तर कसैगरी ऊ आउन मानिन। एकपटक गोपिन्द्रेले उसलाई कुटपिट गर्दै घिसारेर ल्याउन लाग्दा उसकी आमाले कोदालाका बिँडले गोपिन्द्रलाई ठोकेपछि उसले स्वास्नी माया मार्यो। मैले थाहा पाउँदासम्म ऊ माइतीमै थिई। आइमाईलाई त मान्छेमै गणना नगर्ने पो त हाम्रो समाजले।
म आठ कक्षामा पढ्दै गरेका बेलादेखि मामाले मेरो बिहे गोपिन्द्रेसँग गरिदिने भनेर बल गर । म मामासँग त प्रतिरोध गर्न सक्दिनथेँ तर मैले गोपिन्द्रेलाई मेरो आशा नगर्नू, ज्यान जाला तँसँग बिहे गर्दिन भनेर धम्क्याएकी थिएँ।
उसलाई मामाले ढुक्क पारेका थिए। केही पटक बिहे गर्दिहाल्ने भनेर मामा तम्सिन्थे। म एसएलसी नदिई बिहे गर्दिनँ भनेर परपरै भाग्थेँ।
त्यसमा कान्छी माइजूको समर्थनले काम गरेको थियो। मेरो मात्रै कुराले त के हुन्थ्यो र। माइजूले ‘पहिला भाञ्जीलाई एसएलसी गर्न दिऊँ अनि गोपिन्द्रेसँग बिहे गरिदिने जिम्मा मेरो’ भनेर मामालाई आश्वस्त पार्नुभएको थियो।
माइजूले अलिकति चर्को स्वर पारेर भनेपछि मामा लु लु जेस्कै गर भन्दै पाखा लाग्थे। यति हुँदा पनि गोपिन्द्रे मेरो पिछा गरेको गरेकै गथ्र्यो। गाली गर्दा तँ मेरै हुने त होस् नि, आइज न भन्दै तान्थ्यो। एउटा घटनापछि चाहिँ गोपे मसँग अगाडि पर्न अलि डराउन थालेको हो।
मेरो नौ कक्षाको अन्तिम परीक्षाको अघिल्लो दिन बेलुका पनि मलाई पढ्ने वातावरण दिइएको थिएन। मामाले जाँचभरिलाई पुग्ने दाउरा थुपार्नु अनि पढ्न थाल्नू भन्ने उर्दी जारी गरेका थिए।
म दिनभरि तल्लो बारीबाट चिरेका दाउरा ओसारी रहेकी थिएँ। उकालोमा आउँदै गरेको बेला गोपिन्द्रेले बाटो छेक्यो र भारी बिसा एकछिन काम छ भन्न थाल्यो। मलाई त्यसको नियत ठीक लागेन। मैले सुरुमा गाली गरेँ।
“मामालाई भनिदिन्छु” भनेँ। उसले “भने भन् न, मामाले त तेरो बिहे मसँग गर्ने भनिसके।” भन्दै डोकोमा समातेर तान्न थाल्यो। म बल गरेर अगाडि जान खोज्दा, उसले डोको छाडेछ। म अगाडि उछिट्टिएर लड्न पुगेँ। ढुङ्गामा घुँडो ठोक्किएर हुरुक्क हुने गरी दुख्यो। मैले आँखै देखिनँ। हातमा बोकेको कचियाको झटारो हान्ने भएकी बज्याको टाउकामा चुच्चाले छेड्न पुगेछ।
“मरेँ नि” भन्दै ऊ थचक्क बस्यो।
निधारबाट रगतको भल बग्न थाल्यो। म हतारहतार उठेर भारी बोकेर उकालो लागेँ। उठेर आएर मार्छ होला भनेर म कुदेको कुदेकै घरतिर लागेँ । तर ऊ आएन।
यो घटनापछि एक्कैचोटि ऊ मेरो परीक्षा सकिएपछि बाबुलाई लिएर हाम्रो घरमा आयो । मामा भात खाँदै हुनुहुन्थ्यो।
म गाईवस्तुलाई खेततिर लैजान बाहिर निकाल्दै थिएँ। उसले छेउमा आएर टाउको देखाउँदै भन्यो, “त्यो दिन म बिहोस नभको भए तँलाई तीँ बारीमा गाड्थेँ, बुझिस्। अब त काँ जालिस् र तँ!”
मैले बिस्तारै भनेँ, “बिहे हुँदै हुँदैन । भयो भने भएकै राती तँलाई दुई टुक्रा पारेर जेल जान्छु ।”
“हेर्दै जा” भन्दै ऊ गयो ।
मैले कान्छी माइजूलाई इसारा गरेर खेततिर लागेँ। घरमा मेरो बिहेको सल्लाह भएछ। मामा त तुरुन्तै बिहे गरिदिनेमै थिए तर यसपालि पनि कान्छी माइजूले एकपटक भाञ्जीलाई नसोधी टुङ्गो गर्नु हुँदैन भनेपछि मलाई खोज्न जेठी माइजूलाई पठाएछन्।
उनले भनिन्, “काम छ अरे, घर हिँड भाञ्जी।”
“गोपिन्द्रे र त्यसको बाबु घरमै छन् कि गए?” मैले सोधेँ ।
“छैनन्। गए।” उनले ढाँटेको कुरा उनको बोलीमा प्रष्टै थियो।
“नढाँट्नु है माइजू, ढाँट्यो भने पाप लाग्छ नि ।” मैले माइजूलाई तर्साएँ।
“छन् छन त। मामाले छैनन् भन्नु भन्नुभएको छ।” जेठी माइजू सोझी मान्छे।
“हेर्नु माइजू, म त्यो गोपिन्द्रे भन्ने स्यालसँग कुनै पनि हालतमा बिहे गर्दिनँ। जबरजस्ती गरे भने दुईजना मान्छेलाई खुकुरीले हानेर जेल जान्छु। याँ बसे पनि जेलमा बसे पनि मलाई उही त हो। भाञ्जीले त्यही भनेकी छ भनेर मामालाई सुनाइदिनू। जानू।” मैले माइजूलाई भनेँ। माइजू बिचरा ! गइन्।
जेठी माइजूले मैले भनेका कुरा जस्ताको तस्तै सुनाइछन्। बेलुका घरमा ठूलो रडाको भयो। म बाहिरै दिन बिताएर साँझमा मात्रै घरमा पसेँ। मलाई आँगनमा देख्नासाथै मामाले सोधे, “को को दुईजनालाई काट्छेस् अरे तैँले?”
म बोलिनँ। मामाले गाउँ नै थर्किने गरी पटकपटक त्यही प्रश्न गरे। म बोलिनँ। अन्तमा उनले मेरो टाउकामा हत्केलाले बेस्सरी घँचेटेर सोधे, “कसलाई काट्ने अरे तैँले?”
मैले चिच्याएर भनेँ, “तपाईंलाई र त्यो गोपिन्द्रेलाई काट्छु।”
मामाले आफैँले पटुकामा भिरेको खुकुरी निकालेर मतिर हुर्र्याउँदै भने, “लु काट्, लु काट्।”
उनले मेरा अगाडि आएर गर्धन निहुर्याए।
कान्छी माइजू दौडेर आएर खुकुरी पर फ्याँक्नुभयो। कान्छा मामाले जेठा मामालाई समातेर तान्नुभयो। मामा रिसले मुर्मरिँदै भित्र पसे।
माइजूले मेरा कानमा भन्नुभयो, “ठीक्क पार्नुभयो भाञ्जी। आजदेखि मामा चुप लाग्छन्। तिनले त्यति खोजेका थिए। फिटिक्क नडराउनू, केही नाप्तैनन्।”
मामासँगको त्यो वादविवाद भएपछि एकाएक मेरो शरीर हलुको भएजस्तो भयो। मलाई डर पनि लागेन। पछुतो पनि लागेन बरु भित्र कतै गढेको काँडो झिकेर फालेजस्तो सन्चो पो भयो। म धेरै बेरसम्म घरबाहिर आटमा बसिरहेँ।
कान्छी माइजूले समातेर भित्र हुल्नुभयो। जेठी माइजूले भात पस्केर खान दिनुभयो। मज्जासित भात खाएर म सुतेँ। कस्तो छिटो निदाएँछु, भुसुक्कै।
(यसै साता बजारमा आउन लागेको लक्ष्मण गाम्नागे उपन्यास “पसिनाका पाइला” को एक अंश ।)