चिठीमा न कुनै नाम, न ठेगानै थियो। हस्तलिखित चिर्कटो थियो, एकदमै सादा खामभित्र। 'गोरु' ले ढोका खोल्दा पाउदान (डोरम्याट) नहटाएको भए, सायद त्यसतर्फ ध्यान पनि जाने थिएन। पाउदान चोरी हुनसक्ने डरले ऊ हरेक दिन त्यसलाई कोठाभित्र हुलेर मात्रै ढोका थुन्थ्यो।
चिठी ढोकाभित्र छिराएर जाने मान्छे पाउदानबारे बेखबर थियो र आफूले छिराइदिएको चिठी त्यसमुनि च्यापिएको कुरासँग पनि अञ्जान।
चिठीमा लेखिएको थियो, 'याङ सूई आएकी छन्, भियतनामबाट। तिमीसँग भेट्न चाहन्छिन्। साँझ श्यामलको घरमा भेट्ने कुरा छ, आफ्नो नयाँ कविता लिएर आउनू।'
कविता?
गोरख पाण्डेलाई कुरा बुझ्न हम्मे पर्यो। कस्तो कविता?
न ऊ कवि हो, न यो होस्टलमा अरू कुनै कविलाई नै ऊ चिन्छ। चिठीमा नाम पनि त छैन। न शिरमा, न पुछारमा।
उसले चिठी पट्यायो र गोजीमा घुसार्यो। खाटमुनि छामछाम-छुमछुम गरेर 'केड्ज' झिक्यो, लगायो र जगिङ गर्न निस्कियो।
उसको दैनिक अभ्यास थियो यो– होस्टलबाट निस्कने, कलेजको मैदान पार गर्ने र हाइवे पारि बन्दै गरेको पार्क पुगेर दुई चक्कर लगाउने। गोरख पाण्डे बिल्कुल फिट देखिन्थ्यो, जसलाई केटाहरूले नामी नक्सलाइट गोरख पाण्डेको नाउँसँग गाँसेर 'गोरु' भनी बोलाउँथे।
एकाध दिनपछि घटना दोहोरियो। कामबाट फर्केर आएपछि ऊ कोठा सफा गर्दै थियो। त्यही क्रममा उसले पाउदान टक्टक्याउन उठाउँदा नयाँ चिठी भेट्यो।
उस्तै, साधारण खामभित्र सादा कागजमा लेखिएको। यस पटक पनि बेनामी थियो। मिति पनि थिएन।
अँ, व्यहोरा चाहिँ थपिएको थियो, 'दादा, धेरै मिस गरेँ तपाईंलाई। याङ सूई आज कोलकाता जाँदैछिन्, उतैबाट घर फर्किने सुर छ उनको। तपाईंको बाटो निकै हेरिन्। ट्रेनबाट जाँदैछिन्। भेट्ने जाँगर चल्यो भने साढे चार बजे स्टेसन बाहिर आउनु। म पनि त्यहीँ हुनेछु– पी।'
यस पटकको हस्ताक्षर उसलाई महिलाको जस्तो लाग्यो। अन्तिम वाक्य दोहोर्याएर पढ्यो।
त्यहीँ भेटिनेछु– 'पी'।
प्रीति या पुष्पा त हुन सक्दैन। कोही 'पार्थव' होला। झ्वाट्ट सम्झ्यो– पहिलो चिठी त ट्रयाक सुटको गोजीमा छ।
अनि ट्रयाक सुट लन्ड्रीमा।
राइटिङ टेबलको घर्रा खोलेर चिठी त्यसमै थन्क्यायो। केही बेरसम्म उसको मनमा चिठी खेलिरह्यो चिया-खाजा खाँदा पनि याद आयो।
साधारण तर्क आफसेआफ दिमागमा खेल्यो– कसैको रोमान्स चलिरहेको छ, कुनै भियतनामी केटीसँग। र, खबर गर्दा पनि भेट्न नगएकाले त्यो मान्छे कि त झोंक्किएको छ, कि झुक्याइरहेको छ केटीलाई।
कलेज पुग्दा नपुग्दै चिठीको कथा विस्मृत भइसकेको थियो।
त्यसपछि धेरै दिनसम्म उसलाई कुनै चिठी आएन। तर, बिहान या साँझ जब याद आउँथ्यो, पाउदान उठाएर हेर्थ्यो। यो आदतझैं बन्यो उसको। आदत पनि नभनूँ, यत्तिकै एउटा खुल्दुली जस्तै। चिठी कसका लागि थियो भन्ने कुरा चाहिँ उसको दिमागले पत्तो पाउन सकेन। पाउने कोशिस पनि गरेन उसले।
त्यसपछि पनि धेरै दिनसम्म चिठी आएन। कुनै कागजको टुक्रा पनि। त्यसो त सहरमा त्यसबाहेक थुप्रै कुराहरू भइरहेका थिए। नक्सल आन्दोलन सल्किरहेको थियो। कलेजमा अरूको कुरै छाडौं, प्रोफेसरहरूको हाजिरी समेत कम हुन थालेको थियो। उसको ज्यादा समय पुस्तकालय वा क्यान्टिनमा कट्न थाल्यो।
क्यान्टिनमा एक खालको गाइँगुइँ सुरू भयो। उसले वास्ता गरेन। तर जब बेचैनी बढेको महशुस भयो, उसले एक जना साथीलाई नसोधी बस्नै सकेन।
साथीले उसलाई हतारहतार मैदानतिर लिएर गयो र भन्यो, 'एउटा सभा हुँदैछ सहरमा। सायद राजपुरमा।'
'कस्तो सभा?'
'साहित्यिक हो। तर राजनीतिक पनि हो। हुन सक्छ...' कान नजिक साउती मार्यो, 'सायद गोरु पनि आउँछ।'
'ऊ को हो?'
'तिम्रो नाम मिल्ने मान्छे– गोरख पाण्डे!'
अर्को गोरख पाण्डे पनि बिहारकै थियो, बंगालमा निकै चर्चित, नक्सल आन्दोलनताका। पत्रपत्रिकाहरूमा उसको कविता पढ्दा कलेजका युवाहरूमा जोश जाग्थ्यो। उसको नयाँ कविता आउनेबित्तिकै सहरमा कुनै लहरझैं तरंग चल्थ्यो र केटाकेटीहरू प्रहरीसँग लुकीचोरी ट्राम र बसहरूमा उसका कविताहरू टाँस्थे।
मानिसहरूले उसलाई देखेका थिएनन्। उसको तस्वीर छापिन्थ्यो, तर एउटा तस्वीर अर्कोसँग मेल खाँदैनथ्यो।
मान्छेहरू भन्थे, प्रहरी उसको खोजीमा थियो, त्यसैले पटकपटक ऊ आफ्नो हुलिया फेरिरहन्थ्यो।
कतिपयको अनुमान थियो– छापिएकामध्ये कुनै पनि उसको तस्वीर होइन।
नक्सलबाडीमा सल्किएर बंगालमा फैलिएको नक्सलबाडी आन्दोलन बिहारमा सरेको थियो। बि.ए. को विद्यार्थी थियो गोरख। कुनै पनि राजनीतिक आन्दोलनसँग उसको कुनै सरोकार थिएन। तर साहित्यको विद्यार्थी भएका नाताले, गोरख पाण्डेका कविता उसले अवश्य पढेको थियो। र, त्यसको राप पनि महशुस गरेको थियो।
अर्को एउटा साथीले क्यान्टिनमा बसेका बेला एकचोटि भनेको थियो, 'गोरु, एक पटक सुनिस् भने तैंले लगाएको लुगै सल्किन बेर छैन, बुझिस्?'
'तैंले सुनेको छस्?'
'अरेऽ, त्यति भाग्यमानी भएको भए के तेरो अगाडि ज्यूँदै हुन्थेँ? मेरो खरानी हुन्थ्यो यो प्लेटमा,' अनि साथी फिस्स हाँस्यो।
त्यही साथीसँग गोरख त्यो सभामा सामेल हुन हिँड्यो। तर सभा कहाँ हुने हो, कसरी हुने हो र को-को मान्छे आउनेछन् भन्ने केही पनि निश्चित थिएन।
उनीहरू आधी बाटो नपुग्दै ट्राफिक अर्कोतिर डाइभर्ट हुन थाल्यो। कति ठाउँमा त बाटै जाम भयो। बादल चोक पुग्दानपुग्दै सारा सहर नै जाम भयो। स्टेसन रोड त पूरै बन्द गरिदिएका थिए। कुनै एउटा चोकमा बम पड्केर पुलिसको जीप उडेको खबर आयो। प्रहरी कमिश्नर चाहिँ बाँचेछ। गोरख र उसको साथी बसबाट ओर्लेर पैदलै होस्टल फर्किए। होस्टल आइपुग्न निकै घन्टा लाग्यो।
राति ओछ्यानमा ढल्किँदै गर्दा अचानक पाउदानतिर ध्यान गयो। गोरख उठेर हेर्न गयो। उस्तै खालको सन्देश रहेछ। निकै हतारमा लेखिएको थियो यो चिठी।
'सेन्ट एग्नेस चर्चको पछिल्तिर 'एस' भेटिनेछिन्। गाडी कोहिमा जानका लागि तयार रहनेछ। अब रत्तिभर ढिलो नगर्नु– पी !'
कहानीको तानाबानाबीचमै गोरखलाई निद्राले छोप्यो।
बिहानबिहानै होहल्लाले ब्यूँझायो पनि। पूरै होस्टल घेरा हालेको थियो प्रहरीले। सबै जनालाई बाहिर कम्पाउन्डमा लाइन लगाएर उभ्याइएको थियो। एक-एकको कोठामा तलाशी हुँदै थियो।
अचानक एउटा सिपाही दौडिँदै इन्सपेक्टर नजिक आयो।
'सर, भेटियो। साइनाइड निलिसकेछ,' उसको पछिपछि गयो इन्सपेक्टर।
छब्बीस-सत्ताईस वर्षको ठिटो देखिन्थ्यो। दाह्री खौरिएको चिल्लो अनुहार र आँखामा रिमरहित चश्मा।
'कुन कोठामा थियो?' एक जनाले सोध्यो।
'फिफ्टी वन,' गोरखसँगै जोडिएको कोठा थियो।
'को रै'छ,' गोरखले सोध्यो।
'चिन्दैनस्? नामी नक्सलाइट गोरख पाण्डे,' गोरख तत्काल जडवत् भयो।
'धेरै दिनदेखि गाइँगुइँ थियो, अचेल हाम्रै सहरमा छ भनेर। कतै लुकेर बसेको।'
'उफ्! हाम्रै होस्टलमा थियो तर कसैलाई सुइँको समेत थिएन।'
ट्रयाक सुटको गोजीमा थियो गोरखको हात। र, ट्राउजरसँगै धोइएर आएको चिठी मुठ्ठीमा थियो जसलाई ऊ किचिमिची पार्दै थियो।
मुचुल्का तयार पार्दापार्दै, होस्टल वार्डनलाई प्रहरी इन्सपेक्टरले एउटा छोटो चिठी देखायो, जुन गोरख पाण्डेको खल्तीमा भेटिएको थियो।
लेखिएको बाङ्लामा थियो- ये बार बिदाई दे मां, घुरे आशी। (अहिलेलाई बिदा दिनू आमा, घुमेर आउनेछु।)
(गुलजारको किताब 'पिछ्ले पन्ने' मा भएको संस्मरणात्मक निबन्ध 'गोरख पांडेय की बिदाइ' को प्रभाकर गौतमले गरेको अनुवाद।)