आमा, हरेक संकटमा म तिमीलाई सम्झिन्छु
झरी परेको रात अझै धेरै सम्झिन्छु
साँझ पर्दै जाँदा
घरअगाडि कालिकाथान माथिको आकाशमा अँध्यारो हुँदै गर्दा
तिम्रो अनुहार त्योभन्दा अँध्यारो हुन्थ्यो
किनकी रातमा झरी पर्छ भनेर तिम्रो मन रोइरहेको हुन्थ्यो
तर तिमीले त्यो कुरा कहिल्यै कसैलाई भनिनौं
न त हामीले बुझ्न सक्यौं
अहिले सम्झिँदा लाग्छ- ती दिनहरू तिमीले कसरी बितायौ?
त्यही भएर आमा झरी परेको रात म तिमीलाई सम्झिन्छु।
एक रात होइन, दुई रात होइन धेरै रात तिमी अनिँदो भएकी थियौ
खरको छानी थोत्रो भएर प्लाष्टिकले छोप्दासमेत नधानिएका पानीका थोपा ओछ्यानसम्मै आइपुग्दा पनि
तिमीले कहिल्यै हरेस खाइनौ
बरू हामीलाई नरूझाओस् भनेर थोरै भएका भाडा थापेर बस्यौ
ती भाडामा पानीका थोपा खस्दा तिम्रा आँखाबाट कति आँशु खसे होलान्
भाडामा खसेको पानीको थोपाले तिमीलाई कति दुःख दियो होला
हामी मस्त निन्द्रामा भएको बेला त्यो थाहा पाउने कुरै भएन
त्यही भएर त झरी परेको रात म तिमीलाई सम्झिन्छु।
बिहान ब्युझिँदामात्रै हामीले थाहा पाउँथ्यौं
रातभर पानी परेको रहेछ भनेर
तिम्रो रात भने बित्ने रहेछ पानीका थोपा गनेर
घाममा लगेर थाङ्ना र गुन्द्री सुकाउने अनि रातमा पानीले भिजाउने भइरह्यो
यो दुःखको चक्र तिम्रो जीवनमा धेरै वर्ष चलिरह्यो
त्यसैले हो नी आमा झरी परेको रात म तिमीलाई अझै बढी सम्झिन्छु
पानीले ओछ्यान अनि घर भिज्दा पनि तिम्रा आँखा भिजेको हामीले देखेनौं
तिमी भित्रको आँट अनि भरोसाले सायद आँशु पनि डरायो होला
अनि पानीको थोपा पनि हरायो होला
अहिले सम्झिन्छु- त्यो बेला भित्रभित्रै तिम्रो मन कति चहरायो होला
सहरका फ्ल्याटमा त्यो पानीको उराठलाग्दो आवाज सुन्नु पर्दैन आमा
तर पनि झरी परेको रात म तिमीलाई नै सम्झिन्छु।