कथा- १: वि.सं. २०८०
लामो समयदेखि मेसेन्जरमा थुप्रिएका म्यासेजहरूको जवाफ दिन जाँगर चलेको थिएन। खासमा म यतैको हुन चाहन्थें। म ती वर्षदिनका रमाइला क्षणहरू अब सम्झनामै सीमित होउन् भन्ने चाहन्थें। फुक्काफाल जिन्दगी, कलेज, काम, घुमघाम, क्यासिनो, पार्टी, नाचगान, साथीभाइ जमघट, हो–हल्ला, पिआर, प्रेम, राजनीति सम्बन्धी वादविवाद र सल्लाह। यस्तै घटना, परिघटना र दैनिकीबाट लयबद्ध बन्दै गरेको जिन्दगानीलाई तत्काल हस्तक्षेप गर्ने मनसाय थिएन।
सिड्नी विश्वविद्यालयमा दर्शनशास्त्रको स्नातकोत्तर तहमा दोस्रो सेमेस्टर चल्दै थियो। दर्शनशास्त्रमा किन आकर्षित भएँ, प्रष्ट भन्न सक्दिनँ। शुभचिन्तक जिज्ञाशुहरूले के पढ्छौ भन्दा उत्तर दिन कम्ता गाह्रो पर्दैन मलाई। उत्तरै नभएको अध्ययनको विषयमा रूची बसेछ। जिन्दगी, भविष्य, आकांक्षा र इख पनि त्यस्तै निरूत्तर र दिशाहीन पथमा बरालिँदैछन्। भूत र भविष्यप्रतिको निर्लिप्तता तथा वर्तमानसँगको सम्पूर्ण साक्षात्कारिता।
सायद, अष्ट्रेलियाली संचेतना र निष्फीक्री जीवन एउटा नेपाली ठिटोमा आन्तरिकीकरण हुँदै थियो।
भाइबर म्यासेजको टुङ्ग नोटिफिकेसनसँगै मेरो आइफोन–१२ को स्क्रिन धपक्क बलेर निभ्यो।
‘भोलि दिउँसो अबर्न पार्क आउ है, म दिव्या।’
वाइफाइ अफ गरेर अर्को भित्तापट्टि पल्टिएँ। अतीतका नोटबुकहरू पल्टिन थाले।
वि.सं. २०७४ मा बाबाले काठमाडौंमा घर बनाएपछि हाम्रो परिवारै बाराबाट सर्यो। गाउँघरका कुरकुरे क्रसहरूसँगको वियोग बेस्वादिलो लाग्यो नै, तर यो विरहको विषय भने थिएन।
पुतलीसडकको एउटा पुस्तक पसलमा पहिलो पटक दिव्यासँग भेट हुँदा आफू प्रभावित नभएको राम्रो सम्झना छ, मलाई। एउटी क्लासमेटले परिचय गराइदिइन्।
‘मेरो मामाकी छोरी....। मेरो बेस्ट फ्रेण्ड पनि।’
दोस्रो भेटमा खास कुरा भेटिएछन् क्यार, चाहनाहरू हाम्फाली सकेछन्। यसमा दोष उनको अनुहारको उज्यालोको हो। ओठहरू भन्दा छिटो बोल्ने चम्किला आँखाका संकेतहरूको हो। आत्मादेखि आत्मासम्म सञ्जाल विस्तार भयो। हामी दुवै फिल्मको उतिसारो पारखी होइनौं तर कुमारी हलमा ३ बजेको शो सकिएपछि अर्को शो हेर्न सिभिल मल पुग्थ्यौं, बाई उच्चारणलाई तीन घण्टा पर धकेल्न सकिने आशामा।
लगत्तै महामारी आयो। भेट्ने अवसरहरू खुम्चिए। घण्टौं गफिइरहँदा मोबाइल सेटसँगै आएको एयरफोनले कानै घाउ पार्लाजस्तो भएपछि मुलायम बड्सको ब्लुटुथवाला एयरफोन अनलाइन अर्डर गरें। २०२१ को जनवरीमा कोभिडको उपचार पद्धति अन्वेषण भएपछि मैले वैदेशिक अध्ययनको प्रक्रिया आरम्भ गरें।
अबर्न पार्कमा परबाट मुस्काउँदै आफूतिर आउँदै गरेको मानवाकृति पहिचान गर्न खासै गाह्रो परेन। तर, यो पहिलाजस्तो चम्किलो थिएन।
‘फेरि एकपटक नियतिले मिलायो,’ उनको पहिलो वाक्य।
‘नियति हैन संयोग भन न। फेसबुकमा पनि आध्यात्मिकता सम्बन्धी स्टाटस र सेयर बढी देखिन्छन्। आध्यात्मिक भइछौ तिमी त।’
‘सम्बन्धहरू जुनीजुनी हुने रैछन्, मैले त पुनः भेट हुने आशा मारी सकेको थिएँ आयुष।’
‘गाला अलि धसेछन्।’
‘आहारको अपहरण भयो, अरूची बढ्यो। हेर आयुष यो लेखन्त रहेछ। नत्र, बिहे गर्न ठिक्क परेको मेरो अष्ट्रेलियाको भिसा लाग्ने थिएन,’ उनले भनिन्।
‘समय र संयोग त्यस्तै परेको,’ मैले भनें।
‘त्यतिका मेसेज नफर्काउने कति सारो हो मान्छेहरू?,’ उनले भनिन्।
‘म फेसबुक त्यति चलाउँदिन।’
‘अनि इमेल नि? अष्ट्रेलियामा सबै काम इमेलबाट हुन्छ क्यारे। दिनहुँ चेक गर्छौ होला। त्यतिका इमेलहरू एउटै पनि फिर्ता भएनन् त!’
‘मेरो नयाँ आइडी छ।’
‘आईडी फेर्दैमा सम्बन्ध फेरिन्न। हेर यो माया भन्ने चिज छुटाएर छुट्दैन, म त आएँ सत्यवानलाई बोकेको कालको पछि सावित्री लागेझैं।’
‘ठीकै छ त,’ मैले निस्पृहता देखाएँ।
उनीः प्रेम त फिनिक्स चरा हो। आफ्नै खरानीबाट अझ भरिपूर्ण यौवनमा पुनर्जीवित हुन्छ। प्रेम आत्माले गर्ने हो। आत्माले आत्मा चिन्दछ। देहहरू बदलिँदै गए पनि विशिष्टता उही। खिचेर ल्याउने रहेछ। सायद अघिल्लो जुनीमै वाचा गरेको हुनुपर्दछ हाम्रा दुई आत्माहरूले।
‘बेकारका कुरा,’ मलाई यो अलि बढी नै भइरहेको थियो। अनि भनें, ‘यो सब रसायन हो, पदार्थ हो।’
‘कस्तो रसायन? कस्तो पदार्थ?’
‘हेर, यसमा आत्माको छनौटले भन्दा बढी तिमीलाई भेटेपछि मेरा दिमाग र शरीरभरि दौडिएका रसायनहरूले हो, हाम्रो प्रणय सम्भव बनाएको। तिम्रो हकमा पनि आँखा, दिमागका स्नायुहरू, त्यसबाट उत्पन्न रसायनहरू, डोपामाइनका सल्बलाहटहरू र त्यसबाट उत्तेजित भई बढ्ने मुटुका धड्कन हुन्। यिनीहरूले नै हुन् हाम्रो सम्बन्धको ज्यामितीय साध्यलाई दायाँपक्ष र बायाँपक्ष बराबर बनाएको।’
उनीः आत्माहरूको प्रगाढता ईश्वरीय रचना हो। पवित्रता र भक्ति हो।
मः देहबाट उत्पन्न भई देहसँगै विलिन हुने सांसारिकता हो। पदार्थहरूमा रूपान्तरण भइरहने शक्ति हो।
उनीः आफू भन्ने अस्तित्वबोध नहुने भएर मात्र थाहा नभएको हो। आत्माहरू फर्किरहन्छन्। सबै चिज देखिँदैन। हाम्रो वरिपरिका विकिरण, वेभ र गुरूत्व शक्ति पनि देखिन्नन् नि त। हाम्रो पुनः भेट हुनुमा पूर्वनिर्धारित क्रमिकता छ। तिमी जे सुकै नाम देउ त्यसलाई।
मः त्यसो होइन। हामी रोबोटजस्तै हौं। व्यवहार र अभ्यासबाट सिक्न सक्ने क्षमता भएका असंख्य कोडहरूको संयुक्त हो, हाम्रो चेतना। रोबोट बोल्छ, लेख्छ, गीत गाउँछ, संसार देखाउँछ र संवाद पनि गर्दछ। डाक्टर, इन्जिनियर, वैज्ञानिक सबै हो। तर, त्यसलाई फुटाएमा त्यो सब भेटिन्न। भेटिन्छ त त्यही कन्ट्रोलर, मेमोरी, लिफ्टर र सेन्सरहरू। सिलिकनमा क्रमबद्ध चेपिएका र अतिसूक्ष्म ट्रान्जिस्टरहरूको तारैतारैले जेलिएका विद्युतीय सर्किटहरू बग्ने चौकोस। भन त रोबोटको आत्मा हुन्छ? जसरी रोबोटले अर्को जुनी लिँदैन, त्यसैगरी हामी मानिस फगत एक मेसिन हौं। फुटाएपछि केही भेटिन्न। जिउँदा जाग्दा संसारै हो। ढलेपछि मूढो। यदि मानिसको पुनर्जन्म हुन्छ भने यो कतिऔं जन्म हो? कसरी थाहा हुन्छ? भन्न सक्छौ?
उनीः ऊ त्यो मानिस हेर त। त्यसलाई कति हतार छ। छट्पटिएको र दौडिरहेको, असन्तुष्टिको पोकोजस्तो। त्यो तुलनात्मक नयाँ आत्मा हो। त्यसले धेरै चोला फेरेको छैन। प्रत्येक नयाँ देहमा पदार्पण गरेसँगै आत्मा पहिलेभन्दा शान्त, सुन्दर, धैर्यवान् र बुद्धिमान बन्दै जान्छ।
मः समयको उत्पत्ति भएको १४ अर्ब वर्ष भयो। हाम्रो ७० वर्षको औसत आयु आँखा चिम्लेर खोल्ने समयलाई करोड मान्दाको एकांश मात्र हो। भर्खरै थियो। अब छैन। जीवविज्ञान जटिल छ। हाम्रो इन्जिनियरिङ साठी लाख वर्षदेखिको क्रम विकास हो। हामी ईश्वरले ब्लुटुथमा बजाएको स्पिकर हैनौं। हाम्रो रिमोट कन्ट्रोल हाम्रै शरीरभित्रको डाइनामिक्स हो।
उनीः विज्ञानमा धेरै नबग। तिमीले भनेजस्तो हो भने यो पदार्थ कहाँबाट आयो? कसरी बन्यो? यो शक्ति कसरी उत्पन्न भयो? के शक्ति रूपान्तरण मात्रै हुने हो? उसो भए जुनसुकै स्वरूपमा शक्तिको निर्माण र विनिर्माणको सीमा के हो?
बहस बरालिँदै ब्रह्माण्डको सिंगुलारिटीसम्म पुग्ने देखेपछि तर्काउने विचार गरें।
‘छोड अब यी सब कुरा। अनि हुन लागेको बिहे नगरी किन आयौ? के होस् भन्ने चाहन्छौ?’
‘आयुष मैले चाहेर वा नचाहेर के नै हुन्छ र ? बरू आज म तिमीलाई एउटा कथा सुनाउँछु। मेरो बाबालाई उहाँको साथी महेशले सुनाएको महेशको आत्मकथा। एक जोडीको कथा। विश्वास छ, तिम्रा तर्क र विज्ञानभन्दा पर गएर आत्मा र मूलसँग जोडिनेछौ।’
कथा-२: वि.सं. २०५५
९:५० मा वार्निङ घण्टी लागेपछि म स्कुल हिँड्थे। उनी भने तीन गाउँ परबाट आउँथिन्। आठ कक्षामा भर्ना भएकी उनी, स्कुलको लागि नयाँ भएकोले वर्षैभरि बोलिएन भन्दा पनि हुन्छ। कक्षामा एक दुई पटक नोट मागेको त हो, तर हुन्छ हुँदैन ल र नाइमै टुंगिने वाक्यांश मात्र आदान प्रदान भए होलान्। कक्षा ९ ले भने साथीहरूबीच घनिष्ठता बढाउँदै लग्यो। मेरो अटोमा दुई जना केटी साथीहरूले लेखिसकेका थिए। अब उनीलाई दिने विचार गरें।
मीराका अक्षर छापा बराबर थिए। गणित र अंग्रेजीले त्यति माया नगरेका भए पनि नेपाली साहित्यसँग गहिरो दोस्ती थियो। एक हप्तापछि अटो फर्कियो। केही रंगीन फूलका चित्रहरूसँगै यस्ता हरफहरू थिए।
मसीले होइन मनले,
कोर्दैछु केही चित्र।
धनले होइन मनले,
राखेर मुटुभित्र।
ओइलाइ गए यो फूल,
सुक्नेछ प्रीतको मूल।
संगाली राखे मायाले,
नगरी त्यस्तो भूल
‘मेरोमा पनि लेख्देउ न। अटो भरिइसकेको छ। तर, बीचमा केही पानाहरू बाँकी छन्, आफैंले लेख्न राखेको। अब तिमीले केही थपिदिनु।’
यतिभन्दै मेरो हात पर्यो, हल्का निलो र पहेंलो रंगको आवरणमा हरिया रंगका दुई पातमा उम्रिँदै गरेको गुलाबको चित्र अंकित एउटा अटो।
कापीका बीचका पानाहरू पहिले उप्किएर छुट्टिन्छन्। मनको केन्द्रमा रहेको मान्छे उछिट्टिएर स्मृतिमात्रै बन्न हुन्न भन्ने भावना पोखें। सपनामा बारम्बार देख्ने गरेको एउटै चेहरा तिमी नै हुनुपर्दछ भन्दै निम्न हरफरहरू लेखें।
दिनमा होइन रातमा,
फर्किई र’ने सपनी।
साथीको माया साथीलाई,
रहन्छ जुनी जुनी।
तृष्णाको मृग लघार्दै,
दौडनु व्यर्थ भौंतारी।
मध्यान्ह कडक धूपमा,
शीतल सौम्य चौतारी।
फक्रन खोज्छन् शीतमा,
कोपिला र पल्लव।
गोडमेल गरी सिंगारे,
बढेर होलान् फूल।
एक अर्काको अटो कोरिसकेपछि अन्तस्करणमा कतै कोरिएको हुनुपर्दछ, हामी एक अर्कालाई देख्नेवित्तिकै मुस्कुराउने भएका थियौं। नोट साटासाट बाक्लिए। एसएलसीको फारम भर्ने बेलासम्ममा मित्रता गाढा भइसकेको थियो। दसैं तिहारको बीचमा दार्जिलिङ भ्रमण जाँदाको दुईत्व फर्केर आउँदा एकत्वमा अभिषारण भइसकेको थियो।
‘अनि त्यसपछि के भयो?’
दिव्या रोकिएको देखेर मेरो कौतुहलता एक्कासि उद्घाटित भयो।
‘एसएलसीलगत्तै उनीहरूले बिहे गरेछन्। केटा आर्मीमा गए रे। एक दिन बिहान एफएममा भिडन्तको खबर आएछ। दिउँसोको समाचारमा सहिदको लिष्टमा बाबाको साथीको नाम आयो रे। एक महिनापछि प्रसव व्यथाले मिराले पनि संसार छाडिन् रे। ती दुई आत्माहरू...।’
दिव्या थप केही भन्न खोज्दै थिइन्।
मैले मोबाइलको स्क्रिन देखाउँदै भनें, ‘पाँच बज्यो, अब छुट्टिनुपर्छ।’
अबर्न पार्कनजिकैको स्टेशनबाट हात हल्लाएर बिदाइ गरें। बिहानैदेखि बादलहरूले निकै कसरत गरिरहेका थिए, तर पानी पार्न सकेका थिएनन्। बादलतिर हेर्दै दोहोरिरहने सपना सम्झें।
एउटै अनुहारकी अन्जान केटी। विपनामा कहिल्यै नपुगेका फरक–फरक ठाउँहरू। अनि उनीसँग बिहेको कुरा चलेको। आजकल निकै भयो त्यो सपना देख्न छोडेको। आज अनायासै सम्झन पुगेछु। रेल्वे लिकको पारिपट्टी विलोको पातहरू हल्लाएको हावा मलाई छोएर भागिसकेछ। ज्यान सिरिङ्ग भयो। भित्र कतै कसैले खोतलेको जस्तो भयो। पाइला डेरातर्फ सोझ्याएँ।
बिहान उठ्दा ९ बजिसकेछ। आज फेरि उही सपना दोहोरियो। भनिन्छ ९५ प्रतिशत सपनाहरू तरंगित भएको दस मिनेटमै सदाका लागि बिर्सिइन्छन्। यही सपना किन पाँच प्रतिशतभित्र परिरहन्छ? सपनामै अघिल्लो पटकको सपना याद आउने यो ड्रिम डेजाभू किन भइरहन्छ मलाई?
एक हप्तापछि फेरि रिङटोन बज्छ। दिव्याको नम्बर। शान्त तलाउमा किन ढुंगाहरू खसिरहन्छन्? चर्केको सिसा जोड्न पटक्कै मन छैन मलाई। सम्बन्धको रबर तन्किएरै चुँडिएको हो। काटेर छुट्याएको होइन। सीमाभन्दा बढी तन्किएपछि चुँडिनु अवश्यम्भावी थियो। तर, अब यादहरू धमिलिँदै थिए। बिर्सने गुण प्रकृतिले मानवलाई दिएको सुन्दर उपहार हो। नभए सम्झनाहरू भरिएर मगज पड्किन्थ्यो होला। ग्रीष्ममा डढेलोले खाएको वनमा वर्षा लागेपछि हरियाली फर्केर आउँछ। ऋतुचक्र पर्खने साहस आफ्नो हो। सन्चो बिसन्चोको औपचारिकतापछि ‘अर्को हप्ता’ भनेर फोन राखें।
दिव्याका बाबाको साथीहरू महेश र मिराको कथा गाउँघरमा चलिरहने कहानी हुन्। जन्म–मृत्यु, घटना–दुर्घटना, मिलन–विछोड, घर–मेलापात, झगडा–मेलमिलाप। तर, त्यही कथासँग उनको र मेरो के सम्बन्ध? दिव्याले मैले मूल भेट्टाउन सक्ने भनेर के संकेत गरेकी हुन्? के उनको र मेरो सम्बन्ध मलाई सानोमा हजुरबुबाले सुनाउने गरेको कथासँग पनि जोडिएको छ? हजुरबुबाका शब्दहरू स्मृतिमा घुम्न थाले।
कथा-३: वि.सं. २०३५
परिवारसँगै मधेस झर्दा गुरूप्रसाद त्यस्तै १० वर्षका हुँदा हुन्। चामलको भात देख्न धर्मकार्जे कुर्नुपर्ने त्यो बेलामा आँखाले भ्याउन्जेल धानका बालाहरू झुलेको फाँट देखिने कुराले फुरूङ्ग पारेको थियो। उनका मामाहरूको तराईमा पहिल्यै बन्दोबस्त थियो। मामाहरूकै लहरो समातेर उनीहरू नुवाकोटबाट त्रिशुलीको किनारै किनार समथर भूमिमा ओर्लेका थिए।
गाउँमा फडानी रोकिइसकेको थियो। फडानी चलुञ्जेल बुट्यान, झाडी फाँडेर झारपात सफा गरी चारकुना आली लाएपछि त्यसको आधा आफ्नो हुन्थ्यो। उनीहरूलाई त्यो सुविधा उपलब्ध भएन। उनको परिवारले हाम्रै घरछेउमा जग्गा किनेर घर बनायो।
पहाडमा दुई कक्षामा पढ्दैगर्दा गुरूको स्कुलमा नाम काटिएको रहेछ। त्यतिबेला हाम्रो गाउँबाट डेढ घण्टाको बाटोमा ८ कक्षासम्मको स्कुल थियो। उनले कक्षा ४ मा नाम लेखाए। हामी सबैको दैनिकी उस्तै थियो। खाना बनाउने, खाइवरी बुबा आमाका लागि छोपछाप गरी राखेपछि विद्यालय जाने। बिदाका दिनहरूमा गोठालो जाने, अरू बेलामा खेतबारीमा सघाउने।
पूर्व-पश्चिम बाटोमा उत्तरदक्षिण मिलेर बसेका करीब ३० घरले बनेको बस्ती थियो। गुरूप्रसादको भन्दा तीन घर पर अर्कोपट्टिको लहरमा बागलुङ्गेका दुई घर थिए। कान्छा भाइका चार छोरी एक छोरा मध्ये सबैभन्दा जेठी शान्ति, म भन्दा २ वर्षले कान्छी थिइन्। घुँडाभन्दा तल पुग्ने ट्युनिक र खुकुलो सुरूवाल, यही हुने गर्थ्यो प्रायः उनको पहिरन।
कपाल सोहोरेर पछाडि बाँध्ने र सधैं गाजल लगाउने। १५ वर्ष भइसक्दा पनि विद्यालय टेकेकी थिइनन् तर उनका बाबाका किताबहरू पिँढीमा बसेर पल्टाएको देखेको थिएँ।
एक डोको घाँस काट्ने बेलामा मात्र हो, उनी बाहिर निस्कने। बिहान बेलुका खाना बनाउनु, गाईवस्तुलाई पराल हाल्नु, पानी खुवाउनु, बढारीकुँढारी घर आँगन चिटिक्क राख्नु, शान्ति यसमै व्यस्त रहन्थिन्। गुरूप्रसाद विभिन्न निहुँ पारेर उनको घरमा गइरहन्थे। घनिष्ठ दौंतरी भएकाले हाम्रो बीचमा कुनै कुरा लुक्दैनथ्यो। शान्तिको विषयमा कुरा हुँदा गम्भीर हुन्थे। विपनामा कहिल्यै नपुगेका ठाउँहरूमा शान्तिलाई भेटिरहने र बिहेको कुरो समेत चल्ने गरेको सपना सुनाउँथे।
एक साँझ हाम्रो पिँढीमा छिमेकीहरू जम्मा भएर मकै नंग्याउँदै थियौं। दुई वटा टुकी खाँबोको काँटीमा झुण्डिएर धिपधिप बल्दै थिए। मेरो छेवैमा बसेका गुरूका मामाले मधुमालतीको कथा हाल्न सुरू गरे। सबै कथाको लयमा मुग्ध थिए। यतिकैमा ऐया आवाज आयो।
‘शान्ति’ भन्दै गुरूप्रसाद अत्तालिएर दौडिए। शान्तिको खुट्टामा सर्पले टोकेछ। दंश भएको ठाउँमा गुरूप्रसाद मुख लगाएर विष प्रशोचन गर्न लागे। करीब दुई घण्टाको घरेलु उपचारपछि शान्तिलाई साइकलमा अस्पताल दौडाइयो। उनको बाटैमा मृत्यु भयो। मुखमा परेको विष कडा रहेछ, गुरूप्रसादले पनि प्राण त्याग गरे।
आँगनको खाटमा कहानी भन्दै गरेका हजुरबुबाको विस्मातले खुम्चिएका निधार मेरो मष्तिकभरि छायो। मेरो आफ्नै ड्रिम डेजाभू, महेशको सपना र यो कथाका गुरूप्रसादका सपनाबीच के तादाम्य होला?
आज दिव्यालाई भेट्ने दिन। २६ जनवरी, अष्ट्रेलिया दिवस पनि। फूलको थुंगोझैं हल्का महसुस भइरहेको छ। २३३ वर्षअघि आजकै दिनमा बेलायती जहाजहरूको समूह पोर्ट ज्याक्सनमा अवतरण भएको थियो। धेरै आत्माहरू ती जहाजहरूमा यहाँसम्म यात्रा गरेका हुनुपर्छ। ब्रह्माण्डमा छरिएको कुनै वेभ हुनसक्छ, आत्मा। रेडियसन पत्ता लगाउने म्याक्सवेल नजन्मेर हुन सक्छ, अघिल्लो जन्मका घटनाहरू याद नभएको। म त्यही हुँ भन्ने बोध नभएको। नत्र गुरूप्रसाद–शान्ति, महेश–मीरा र आयुष–दिव्यारूपी शरीरहरूमा किन एक जोडी आत्माहरू पटक–पटक अवतरण भइरहेछन्।
हिमालको सिरेटोले हुर्काएको मेरो शरीरलाई समुद्री सतहका न्याना हावाहरूले पोषित गर्न थालेका थिए।
बोन्डाइका छालहरूसँग अभ्यस्त हुँदै थिएँ। तर, आज केही भइसकेको छ। तेस्रो संस्करणमा आत्माहरू पुनः एकीकृत हुँदैछन्। प्रेमपुञ्जमाथि घन बर्साउँदा दुख्ने आफैंलाई हो। मैले मूल भेट्टाउनैपर्छ। पहिलो जन्मको अतृप्त आत्मा र दोस्रो जन्मको अर्धतृप्त आत्मा तेस्रो जन्ममा संतृप्त हुनै पर्दछ। भाइबरमा नेपाली टाइप गरें।
‘जुनी जुनीसम्म आत्माहरूले देहहरू ठम्याउन सकून्।’
दिव्याबाट तुरून्त जवाफ आयोः ♥♥♥...।