'नानी, छिटो उठ त। कति बेलादेखि आएको हो, थाहा नै पाइएन आज त। के-के चार्ज गर्नु पर्नेछ, ल गरिहाल। म मेसिन लाएर आउछु, ट्यांकीमा चराले खाने पानी पनि छैन।'
'ए लाइन आयो! हिजो तालिका नै हेर्न बिर्सेंछु, अलि छिटो उठ्नु हुन्थ्यो नि।' म मेरा कोठामा भएका दुई वटा प्लगमा एउटामा मेरो फोन र अर्कोमा इमर्जेन्सी लाइट चार्जमा राखेँ। दिदीले भएभरका लाइट अनि मेसिन चार्जमा राख्नु पर्यो भन्दै प्लग चियाउँदै हिडिन्।
म कोठा बाहिर बेसिनमा दाँत माज्दै थिएँ। ठूलै होहल्ला सुनेँ अनि दाँत माझ्न छोडेर, मुखैभरि फिज लिएर यसो नजर लगाएँ। म्याक्सीको आधा भाग हातले एकै ठाउँ गुजिल्टो पार्दै फलाक्ने त मेरै दिदी रहेछिन्। 'किन कराएको, के भो?'
'के हुनु, तल बस्नेले भर्याङको प्लगमा समेत लाइट झुन्डाएछन्। कतै छैन चार्ज गर्ने ठाउँ। कति बेला काट्ने हो फेरि!'
'अब दुई घण्टा आइहाल्छ नि, म कलेज जाने बेला पनि भयो। मेरो कोठाको एउटा प्लग खाली हुन्छ' भन्दै थिएँ, फ्याट्टै लाइन गहिहाल्यो। अब के गर्ने, मेसिनले पानीमाथि ट्यांकीमा बिसाउन पनि पाएको छैन। पानी कुर्दै दाँत माझ्दा दाँतको एक पत्र त गैसक्यो। धारामा पानी चुहिने छाँटकाँट छैन। मुख केले कुल्ला गर्ने, समस्या।
२५ रुपैयाँ तिरेर दाइले डडेल्नामा बोकेर ल्याएको पानी जगमा सार्न भान्सामा गएँ। दिदी मलाई हेर्दै थिइन्, मेरो पनि बाध्यता के गर्नु? एक जग पानी सारेर ल्याएँ। मुख कुल्ला गरेँ अनि दशैँमा काट्न ठिक्क पारेको खसीलाई मन्साएको जस्तो गरी अनुहार मन्साए।
'जा मलाई पनि ल्याइदे एक जग, मुख त धुनु पर्यो।'
'अघि त ठूलै आँखाले हेर्दै थियौ त, आफूलाई पनि चाहिदो रहेछ जारको पानी।' अनुहारमा पानी त छिटे तर ज्यानमा पूरै मैला पत्रमाथि पत्र जम्मा भएको थियो। ननुहाइ घरबाट निस्कन मन छैन, के गरुँ! दिदीसँग सल्लाह मागेको, अस्ति एकमुस्ट तीन महिनाको फिस तिरेको कुरा याद दिलाईदिइन्। सरक्क आफ्नो कोठामा गएँ, सर्ट लगाउन मात्र के उचालेको थिएँ, नजर त्यही कालोपत्रे गरेजस्तो सर्टको गलामा गइहाल्यो।
कसरी भिर्नु त्यो जिनिस, सकिनँ। फेरि दिदीलाई सबै कुरा बिसाएँ। आज फेरि स्कुलमा छ घन्टी पढाउनु छ, होस् आज कलेज जान्न बरु तिमीलाई खान पकाउन सहयोग गर्छु भन्नासाथ दिदीको अनुहारमा चमक आइहाल्यो। भन्सामा धेरै कुरा सम्झिएँ। आफू कलेजमा भएको भए के-के पढ्थे भनेरे। एकदिन कक्षा नलिनाले धेरै घाटा छ भन्ने विचार गर्दै काम गरेँ। कक्षानै त्याग्नु पर्ने कारण त्यही बिजुलि नै थियो।
'ल दिदी, म स्कुल गएँ। आज धेरै घन्टी पढाउनु पर्छ, गाह्रो छ, साँझ चाउमिन पकाइराख्नु है।'
'ल, ल।'
यता स्कुलको के कुरा गरुँ, एक हुल दिदी बहिनी, आमा, बुवा, दाजुभाइ गेट नजिकै छन्। किन हो केही थाहा छैन। अलि नजिक गएर बजिरहेको मुखलाई सुन्दा त आक्रोश पो रहेछ। 'लुट्न बसेका, ४५० कम्प्युटरको फी अरे, हाम्रा बालबच्चालाई महिनामा एकदिन पनि कम्प्युटर देखाउदैन रे। अझ बिलमा त्यत्रो पठाउन लाज लाग्दैन? तिर्दैनौँ हामी।' यो सब सुन्नेहरुमा म लगायत स्कुल छिर्दै गरेका मेरा निन्याउरो मुख लागाएका साथीहरु थिए।
'हामी के गर्ने त, दुई घण्टा लाइन आउछ, आको बेला लगेकै छौँ। हाम्रो के लाग्छ र! लाइन नभएको प्लगमा तार जोडेर नहुने’ प्रिन्सिपल सरले जवाफ फर्काए। के सक्थे अभिभावकहरुले पाँच तल्लाको भवनमा २००० विद्यार्थी हाक्ने प्रशासनलाई।
अंग्रेजीको शिक्षक भएकोले कम्प्युटरको खासै चासो पनि दिइनँ मैले। आठ कक्षामा निबन्ध पढाउने पाठयोजना थियो।
म गएर निबन्धको बारेमा फलाक्न थाले। कक्षाकार्य गर भन्दै शिर्षक बोर्डमा लेखेँ। त्यही राष्ट्रिय शिर्षक 'प्रोस्पेक्ट अफ वाटर रिसोर्स इन नेपाल'। मैले सुझाव दिन थालेँ कसरी सुरु गर्ने भनेर। नेपाल इज दि सेकेन्ड रिचेस्ट कन्ट्री… अनि त्यती बेला ती विचरा हुर्कदै गरेका बच्चाहरुका मानसपटलमा देश प्रति, राजनीतिप्रतिको तीव्र वितिष्णा थियो।
'बत्ती छैन, हामीले होमवोर्क गर्नलाई पनि पाउदैनौँ, अरु त परको कुरा!' के-के थप्दै थिएँ। म उनीहरुले सोधेका वर्डको स्पेलिङ भन्दै चाहर्दै थिएँ।
साँझ चार्ज सकिएको मोबाइल र उस्तै थकित शरीर लिएर घर फर्कदै गर्दा बाटोमा बेट्री, क्यान्डल, सोलार तथा इन्भर्टरका व्यापारीहरु पुट्ट भुँडी निकालेका रसिला हसिला अनुहार लिएर व्यापारमा मस्त थिए भने आम सर्बसाधारण जनता कागती निचोरेर रहेका खोस्टा जस्ता, अनुहारमा निराशाको बादल मडारिरएझैँ विछिप्त थिए।
घर पुग्नासाथ सबको हाहाकार फेरि दिनैभरि लाइन आएको रहेनछ। बिहान छिटो बत्ती गएकाले दिउँसो आउँछ कि भन्ने आश रहेछ। तालिका अनुसार ५-७ बजेसम्म आउनु पर्ने हो। टोलभरी चर्को होहल्ला हुनथाल्यो एकछिनमा, आयो!!! गयो! आदि आदि।
तल बस्ने गुल्मेली बुढीआमा टाउकेहरुलाई आफ्नै पारामा सराप्दै हुनुहुन्थ्यो। 'मरुन, जाद्रै जो गरे बाए, के हो र यस्तो। गाई खाने भा अर्को साल भोट दिछु भनी त, स्वादै र को। यस्तो गु मुत अर्ननी नपाएसी क्यार्न यिनलाई भोट दिम् तो हय। चिर्पाटाले हान्ने हुँ म त, किराले खानेलाई।'
म हाँस्दै माथि उक्लिएँ। माथि न भान्सामा बिहान भने जस्तो चाउमिन नै छ न त जारमा पानी। बेसनभरि एक रास जुठा भाडामा झिङा भन्किरहेका थिए। ढाडको रोगले दिदीले पानी बोकेर माथि पुर्याउन सक्दिनन्। बिहान त जारमा निकै पानी थियो तर दिनभर त्यही पानीको भरमा दुई बच्चा र आमा- के रहन्थ्यो र पानी!
थकित शरीर र आक्रोसित मनलाई कुर्सीमा बिसाएँ। पसिना र धुलोले लतपत गोडा, यसो हेर्दा कालिमाटीले लिपेझैँ, एकैछिन हेरिराखेँ चप्पलको तुनाले डामेको सानो धर्का। सो देख्दा कताकता आशाका किरण पनि पलाए। चारैतिर अन्धकारले छाएको गोडामा, सानो धर्का देख्दा कुनै दिन त मेरो घर उज्यालो होलाकी भन्ने सोचेँ।
चप्पलको तुनाले मेरो अलिकति गोडा जोगाए जसरी कोही आउँला कि मेरो देशलाई कालिमाटीबाट जोगाउन जस्तो लाग्यो।
भ्रष्टचारले अन्धकारमय बनाएको मेरो देशमा म स्वयमले आफ्नो भविष्य देख्न सकिनँ। यससँग जुध्नु नसकी विदेश पलायन भएका साथीहरुले बेस नै गरे जस्तो लाग्यो।
'मेडम! ओ, श्रीजना मेडम! छिमेकिको टट्कारो आवाज सुनेँ। झस्किदै 'हजुर' भनेँ। 'ल हेर्नु त ट्यांकीमा पानी भरिएर गएछ। पानी नाश भयो। मेसिन बन्द गर्नुस् न।’
अहो! म त आत्तिएँ। मेसिन लगाएर भुसुक्कै बिर्सेछु। म त आजभन्दा ४ वर्ष अगाडिको दिनमा पो पुगेछु। म त त्यो पुरानो अन्धकारमय दुनियाँ सयर गर्न पुगेछु।
हातमा मोबाइल लिएर चाहर्दै थिएँ। भाद्र महिना लाग्नसाथ सामाजिक सन्जालमा भोटिङ पोलदेखि ट्रोलहरुको लर्को नै लाग्यो- प्राधिकरणमा कुलमान घिसिङ की महेश काफ्ले भन्ने। कहिकतै त त्यो काल जमानाको १८ घन्टे तालिका पनि हुबहुँ टासेका रहेछन्। हाम्रो समूह पाँच र सात पर्ने गर्थ्यो। यी समूह तालिका हेरेँ अनि भावुक भएँ।
ती दिनहरुको सम्झनामा डुब्दा ट्यांकीबाट पानी भरिएर गएको पत्तै पाइएन। सम्झिदा पनि काहली लाग्दो दिनहरु। कतै फेरि त्यस्तै तालिका झ्यालमा टास्नु पर्ने त होइन, डर लाग्छ। अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ भने झैँ हामी त यो राज्य व्यवस्था देखेर डराएका छौँ। फेरि उस्तै नियती भोग्नु पर्ने पो हो की भनेर।
यसो भन्दै गर्दा अरु दक्षता भएका मान्छे नै छैन भन्न खोजेको होइन तर कुलमान जिको यो काम गर्ने शैली नै हामीलाई निकै मन परेको छ। ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्ने उखानलाई घिसिङ जिले चिरेकै हो। भो सरकार! रिस्क नलिऊ। अबको एक पटक पनि उहाँलाई नै सुम्पिदेऊ।
मलाई नेपालले अब बिजुली बेचेर डलरमा आम्दानी गर्यो भन्ने समाचार सुन्न र पढ्न मन छ। विद्युतीय साधनमा चडेर स्कुल गइ त्यही- 'प्रोस्पेक्ट अफ वाटर रिसोर्स इन नेपाल’ शिर्षकमा मेरा विद्यार्थीहरुलाई निबन्ध लेखाउनु छ।