प्रिय मितिनी
धेरै सम्झना!
कुशल छु अनि कुशलताको कामना गर्दछु। अनेकौँ ज्वारभाटासँग सामना गर्दै जीवन नौका खियाइरहेका बेला आज अक्षरको बाटो हुँदै यहाँसँग एक अदृश्य भेट गर्ने जमर्को गरेकी छु। अचानक हजुरको नाममा यो पत्र आउँदा अचम्म लाग्यो होला। अहँ! मेरो उद्देश्य तपाईलाई अचम्मित र विचलित पार्नु कदापि होइन। लहराजस्तै मनभरि झ्याङ्गिएका भावनाहरू अतीतको मसीले रङ्गाएर पोख्न मन लागेर नै आज यो पत्र कोर्दैछु।
जुलाईमा छोरीको जन्मदिन रहेछ है! छोरी कति चाँडै ठूली भइछन्। आठौँ वसन्त भनेपछि त हजुरलाई गाह्रो, अप्ठ्यारो पर्दा पक्कै पनि सहयोगी बन्छिन्। जसरी हजुरले कमला काकीलाई सघाउनु हुन्थ्यो। काकीलाई धेरै सम्झिन्छु। सातको वार्षिक परीक्षा मैले हजुरकहाँ नै बसेर दिएकी थिएँ नि। काकीले नयाँ चाइनिज कलम र बोर्ड उपहार दिनुभएको पल मानसपटलमा ताजै छ। ती उपहार पाउँदा मन चङ्गाजस्तै माथि माथि उडेथ्यो।
परीक्षा दिने बेलाका ती साथीहरूसँग हाम्रा अन्तरङ्ग भावना मिल्ने भएकाले त्यो क्षण बारम्बार याद आइरहन्छ। पालैपालो साइकलका प्याडलहरू हान्दै उकाली र ओराली गर्दै स्कुलतिर लागेका दृश्यहरूले मेरो आँखामा डेरा जमाएका छन्। मेरो घरमा पढ्ने वातावरण नभएको कुरा बुझेर काकाले परीक्षाको समयमा आफ्नै घरमा बसाली आवश्यक चिज किनिदिने भन्दै मलाई पढाइमा उत्प्रेरित गर्नु भएको थियो। यो गुन म कहिल्यै बिर्सिन्नँ।
उहाँले गाग्रीबाट चिसो पानी गिलासमा सारेर थाल अगाडि राखिदिएको याद सधैँ न्यानो बनेर आउँछ। त्यसरी परीक्षा दिएर म प्रथम अनि हजुर द्वितीय हुँदा तपाईको अनुहारमा खुसीको दीप प्रज्ज्वलित भएको पाएकी थिएँ। जस्तो अहिले मलाई महशुस भएको छ।
हो, त्यस्तै कता कता केही नमिलेको र हारेको जस्तो मनमा एक किसिमको चिसो अनुभव भएको थियो। अनि मैले पाँच वटा कापी र जियोमेट्री बक्स पाउँदा हजुरले चार वटा कापी र कलममा कति गह्रौँ मन गराएर चित्त बुझाउनु भएको थियो। अहिले त्यो मलिन अनुहार झलझली याद आउँछ। ऐना हेर्दा अहिले आफ्नो त्यस्तै अनुहार पाउँछु।
हजुरले ढकाल समोसा पसलमा प्रायः आफैंले समोसा किनेर दुई भाग लगाएर हाँस्दै खाँदै गर्दाको आनन्द बेग्लै थियो। त्यसैमा आजका घरेलु समोसाहरू साट्ने प्रस्ताव राखेँ।
एसएलसी पास गरेपछि अत्यन्तै उमंग छाएको थियो मनमा। त्यति बेला मेरो खुसीको सीमा नै थिएन। हतार हतार हजुर कहाँ पुगेर मैले काठमाडौँ गई अङ्ग्रेजी विषय पढ्ने कुरा अवगत गराएकी थिएँ। मेरो यस्तो निर्णय सुनेर सबैका अनुहारमा खुसीको भाव छचल्किन्थ्यो। हजुर र म खुसी नै भए पनि मेरो कुरा सुनेर काकीको अनुहार भने अँध्यारो भएको थियो।
उहाँले रूँदै भन्नु भएको थियो, ‘तिमी कहाँ, बिनु कहाँ हुने भयौ। यसको रिजल्ट पनि राम्रो छैन। यतै रामपुर क्याम्पसमा नेपाली पढ्छे।’ यस्तो भन्दै गर्दा काकीमा एक भिन्न भाव प्रवाह भए जस्तो लागेको थियो। सायद उहाँले पहिलोपल्ट तुलना गर्नु भएको थियो, तपाई र मेरो बीचमा।
यता काठमाडौँको माहोल भने नितान्त भिन्न छ। केही रमाइलो, केही उदासी। विशाल घरमा बस्ने मान्छेको मन भने सानो। घर पनि सिमेन्टकै अनि मन पनि सिमेन्टकै। कमिलाको ताँतीजस्तै लस्करै देखिने यी घरैघरमा म कति छिटो हराएँ। बालुवामा पानी बिलाए जसरी।
हजुरको विवाहपछि पनि एक पटक हामीले भेटेका थियौँ नि। सुनौलो रङ्गमा सजिएकी हजुरको मुहारमा सरल भाव देखिन्थ्यो। मलाई त एक झट्कामा कहाँबाट कहाँ पुगेजस्तो लाग्यो। आफू भने यता एक्लोपनको विषाद बोकेर बाचेकी। वास्तवमा मलाई हजुरको जस्तै रूप लिनु थियो। त्यस्तो अनुभवलाई हारेको अनुभव भन्छन्।
सायद मलाई पनि त्यस्तै भयो। हजुरलाई देखेर निकै खुसी लाग्यो। अझ उहाँले अष्ट्रेलियामा पीआर पाएको र उतै घर परिवारसहित व्यवस्थित भएर बसेको सुन्दा झनै खुसी लाग्यो। आफूलाई हजुरसँग दाज्न थालेँ। मनमा न रिस छ न त डाह नै। तर त्यो एउटा यस्तो भाव थियो जसमा यी दुई चिज र मायाको त्रिकोणात्मक मिश्रण छ।
बेलाबेला मनमा हजुरको सम्झनाको बाढी उर्लिएर आउँछ। त्यो बरको रूखमुनि बसेर हामी कति बात मार्थ्यौँ। हाम्रो उमेर ढल्किएपछि कस्तो होला के होला भनेर भविष्य विचरण गरेको त हिजो जस्तै लाग्छ। यो हिउँदमा म त्यही बरको रूखमुनि पुगेकी थिएँ। समयले त्यहाँ निकै बदलाव ल्याएछ। ठूलो शिवजीको मन्दिर बनेछ। तारबार पनि लागेछ। एकछिन भए पनि त्यहाँ बस्ने मन थियो।
त्यो बरमा टिका लगाएर हामी मितिनी भएको क्षणको साक्षी त्यहाँका वृक्ष, हाँगा र पात सबैथोक थिए। गाडीको चर्को हर्नको संकेत गरेर दाइले फर्किन हतार गर्नुभयो। मैले त्यो दृश्य देख्न पाइनँ। फनक्क फर्केर आएँ। हाम्रो माया मिठो थियो। सम्झिँदै घर फर्केँ। बाटोमा गाडीको झ्यालबाट हजुरको घर आँगन देखेँ। मन धेरै कोमलो भयो। आँसु रोक्न सकिनँ। बाटो पुरै धुलाम्य थियो।
आँखामा आएर जम्मा हुन्थे धुलाका कण। दाइले झ्याल लगाउन भन्नु भयो। पुराना दिनका याद मनभरि बोकेर त्यहाँबाट हामी गाडी हुइँकाउँदै घरतर्फ फर्कियौँ। तह तहमा काटिएको कालो कपाल। टाउकोमा ठूलो कालो चश्मा। निलो टिसर्ट र जिन्स पाइन्ट। एयरपोर्ट पनि आउनु हुन्न कि भनेर सोचिरहेकी थिएँ। आएको देखेपछि अनुहारमा खुसीको दीप बल्यो।
त्यो क्षण पनि मनमा कैद भएर बसेको थियो। अहिले झल्झली सम्झिन्छु। म त्यति बेला हरियो सर्ट र निलो पाइन्टमा थिएँ। अफिसबाट मुस्किलले बिदा मिलाएकी थिएँ। मभित्र समस्याका पहाडहरू भए पनि अनुहारमा भने त्यस्तो भाव देखिन्नथ्यो। मलाई पनि भेट्न मन त थियो। फेरि अब कहिले हो भेट्ने भनेर आएकी। पर्सिबाट ब्याचलर पहिलो वर्षको परीक्षा छ।
मेरो अवस्था ठिकै छ। एउटा जागिर छ, यस्तै भन्दै थिएँ। हजुरको मोबाइलमा फोन आयो। सायद सैना आउनु भएको छ। त्यसैले भेट्न बाहिर आएकी भन्ने जवाफ थियो। म नबोलेर मौन रहेँ। त्यसरी पास गरेर भुइँ छोड्ने मेरो भित्री रहर थियो। अलि चिसो अनुभव भयो। यतिकै हात खुट्टा काँपेको जस्तो भयो। तपाईको निकै याद आउला जस्तो लाग्यो। एक किसिमको डर पनि लाग्यो। भविष्य र वर्तमान सम्झेँ।
आठ कक्षामा पढ्दै गर्दा अनेक बिन्ति गरी हजुरलाई मेरो घर लगेकी थिएँ नि! याद छ? घरमा साइली दिदीले स्टिलको थालमा भात पस्किँदै गर्दा त्यसमा होइन, चरेसको थालमा दिनुहोस् न सैनालाई भनेकी थिएँ। साँझ सुत्ने बेला हामी पिढीँको खटियामा सुत्यौँ। मलाई त त्यस्तो असहज केही लागेन। मेरो लागि त्यो नौलो कुरा थिएन। पिढीँमा मैले थुप्रै रात बिताएकी थिएँ।
तर, तपाईलाई भने त्यहाँ बेचैनी भएजस्तो लाग्यो। सायद चुक घोप्ट्याएजस्तो अँध्यारो रातले तपाईलाई भयग्रस्त बनाएको हुनसक्छ। त्यस्तै खालको डरको महशुस मलाई एयरपोर्टमा भयो। आँखा खोल्दा र बन्दा गर्दाका बीच केही पनि भिन्नता थिएन। जताततै अन्धकार व्याप्त थियो।
दिन, महिना, वर्ष गरी समय बित्दै गयो तर केही समय तपाईको अत्तोपत्तो भएन। म भने यता जीवनको निकै सुखद क्षण व्यतित गरिरहेकी थिएँ। मलाई माया गर्ने र जीवनभरि साथ दिने मान्छे फेला पारेकी थिएँ। कलेज पढ्दा हामी एउटै बेन्चमा बस्थ्यौँ। एक दिनको कुरा सरले कक्षामा नाटक पढाइरहनु भएको थियो। नाटकमा एउटा पात्रको नाम वियंका थियो।
त्यो नाम हाम्रो अरिकलको भित्तामा गएर टाँसिएछ। हामी दुवै जनाले एक अर्कालाई हेर्यौँ अनि विस्तारै ‘वियंका’ उच्चारण गर्यौँ। ठमेलबाट ओरालो सामाखुसीतिर झर्दै गर्दा एक अर्काको हात समाएर भन्यौँ, ‘ल हाम्रो छोरीको नाम वियंका राख्ने।’
समयको गतिसँगै मेरो जीवनले अर्को मोड लिएको थियो। विदेशको सपनाको मोहलाई हामी दुवैले मिलेर दागबत्ती दिइसकेका थियौँ। एक दिन मोबाइमा ८० अङ्कित नम्बरबाट कल आयो। केही समय म्यानपावरमा काम गरेकाले मलाई बेलाबेला मलेसिया, कतार, दुबईबाट अनौठा नम्बरबाट फोन आइरहन्थ्यो। तर त्यस दिन आएको नम्बर विल्कुल फरक थियो।
फोन उठाएर कुरा गर्दै गर्दा पछाडिबाट बच्चा रोएको आवाज सुनिन्थ्यो। ‘सञ्चै हुनुहुन्छ, सैना?’ यस्तो आवाजले मेरो खुसीको सीमा नै रहेन। एकछिन म अक्मकाएँ।
पछाडि सुनिएको होहल्लाबारे सोधेँ। उहाँले भन्नुभयो, ‘मेरी प्यारी छोरी हो। यही जुलाईमा जन्मिएकी। म सुत्केरी बिदामा घरमै छु। सासु आमाले तेल लगाइदिँदै हुनुहुन्छ, त्यसैले रोइरहेकी छे।’ मलाई के भनूँ भनूँ भयो। हाँस्दै बधाई दिएँ। महिना दिन हुन थाले पनि अझै तेलको बानी परेन। त्यसो भन्दै गर्दा मनमा विदेशको ठाउँमा अझ पाउडर लगाउने ठाउँमा तेल बच्चीले मन पराइन जस्तो लाग्यो।
हजुरले एउटा विशेष कुरा छ भन्दै सुनाएको सम्झिएँ। त्यो कुरा सुन्न मेरा कान एकदमै उत्सुक थिए। अनाचक तपाईले आफ्नो देवरसँग बिहेको प्रस्ताव राख्नु भएको थियो। तर मैले मास्टर पास गरेपछि मात्रै बिहे गर्ने सोच भएको बताएकी थिएँ। यस्तो बताउँदै गर्दा आफूले मुटु साटेको मान्छेलाई सम्झिएँ। निकै डर लागेर आयो। मेरो मनले हजुरको देवरसँग बेहुली हुने कल्पना गर्नै सकिनँ। त्यो चित्र मष्तिष्कमा ल्याउनै सकिनँ। मनको सिंहासनमा त उनकै तस्बिरले राज गरेको थियो।
एकछिन फोनमा सन्नाटा छायो। म निशब्द भएँ। उता छोरीको रुवाईको आवाज प्रष्टै सुनिन्थ्यो। तपाईले वियंका! कति रून्छौ तिमी सानु? भनेको सुन्दा झसंग भएँ। ‘छोरीको नाम वियंका हो?’ मैले सोधेँ। ‘हो नि। यो नाम हामी दुवै जनाले राखेको’ हजुरले भन्नुभयो। म झन् निशब्द बनेँ। हाम्रो मनको भावनाको संयोग पो हो कि जस्तो लाग्यो।
मेरो सोचाइ र कल्पनामा आउने कुराले मूर्त रूप लिँदा हामी दुवैको अन्तस्करणमा एउटै अनुभूति भएको आभाष दिलायो। यस्तै अन्तरङ्ग वार्तामा फेरि जोडिन हामीलाई निकै समय लाग्यो।
म मेरो किताबी दुनियाँमा हराएँ। सांसारिक कोलाहल त पटक्कै मन पर्दैनथ्यो। बुबाको परलोकपछि मलाई जीवन दर्शनसम्बन्धी किताब पढ्ने र केही कोर्ने बाहेक अरू चिजमा मनै लाग्दैनथ्यो। अन्तिम पल्ट हजुरले फोन गरेपछि मलाई फोन गर्ने हिम्मत नै आएन। के विषयमा कुरा गर्ने भन्ने अन्योलले फोन गर्ने इच्छा मार्दथ्यो।
हजुर र मेरो बीचमा आकाश र पातालको जस्तै फरक भएको भान हुन्थ्यो। यही फरकले मलाई रोक्यो। सम्बन्धले पुराना दिनको जस्तो आभाष दिलाउन सकेन। समयलाई कसले आफ्नो लगाममा हिँडाउन सक्छ र? हेर्दा हेर्दै आफ्नै बिहेको दिन पनि आयो। आमाले विवाहमा बोलाउनु पर्ने नजिककालाई मात्र सम्झिएस् है भन्नु भयो। धेरै जम्मा गर्यो भने दाइहरू रिसाउँछन् अनि धेरै खर्च पनि त गर्न सकिन्न भन्ने उहाँको बुझाइ थिये।
सात समुद्र पारी रहेकी तपाईलाई मेरो बिहेकै लागि आउन मिल्दैन कि जस्तो लाग्यो। त्यही लौसा र विजयनगरमा त त्यति धेरै फरक थियो। मेरो जीवन भोगाइ, मैले बिताएका दिन अनि रातहरू हजुरका लागि नयाँ नौला थिए। मेरो र तपाईको जीवनशैलीमा निकै भिन्नता आइसकेको थियो। उति बेला चार किलोमिटरको दूरीमा त त्यति फरक थियो भने अहिले त धेरै माइलको कुरा छ।
तपाईको र मेरो घडीका सुई नै टाढा टाढाबाट यात्रा गरिहेका छन्। विचार र सोचाइको शैलीमा पनि त भिन्नता आयो होला। मलाई इतिहास दोहोर्याउनु थिएन। फेरि हजुरलाई अनिदो राख्न मन थिएन। खबर नै नगरी बिहे गरेँ।
तपाईसँग जीवनको एउटा यस्तो बिसौनीमा भेट्न मन छ जहाँ अतीतप्रिय हावाले स्पर्श गरेर हाम्रो विगतको थकान सबै हरण गरोस् र एक अर्काको समीपमा बोझको भारी बिसाउँदै आँखा चिम्लेर निदाउन पाइयोस्। त्यो बाल्यकालको माया फेरि फर्काउन मन छ। कापी सकिएका बेला पाना च्यातेर कक्षाकार्य गरेजस्तै मनका बह च्यातेर सँगै नयाँ अध्याय लेख्न मन छ। जसरी पनि सृजना अनि त्यो विनुलाई त्यही धरतालमा फर्काउनु छ।
फेरि सोच्छु, प्रत्यक्ष मिलनको क्षण त अहिले कसरी जुर्ला र? अनि चिठीमा लेखेको जस्तो भावना फोनमा व्यक्त हुने कुरा पनि त भएन। आधुनिक विश्वले दिएको प्रविधिको साटो आज मैले यहाँलाई चिठीका माध्यमबाट भावनाको सञ्चार गर्न खोजेकी हुँ। यसमा सन्देश मात्रै होइन, सिङ्गो अतीतको सुगन्ध नै तपाईँ समक्ष पुगेको अनुभूति दिलाउन पनि यो पत्र सम्प्रेषित गरेकी हुँ।
हवस् त! अहिलेलाई यति नै। नानी वियंकालाई धेरै मीठो माया, सरलाई नमस्कार।
हजुरकी मितिनी
सृजना पोखरेल।