एक साँझ कोटेश्वरको अप्सरा गल्लीमा एक्कासि दुर्योधनसँग भेट भइदियो।
अप्सरा गल्ली कोटेश्वरको बदनाम गल्ली थियो। अप्सरा गल्लीमा विभिन्न दरका अप्सरा भाडामा पाइन्थे। काठमाडौंका अधिकांश मान्छेले ती अप्सराहरूसँग आफूलाई बदनाम गरिसकेका थिए।
राजधानीको बदनाम गल्लीमा इतिहासको एक बदनाम पात्रसँग भेट हुनु मेरा लागि भने सुखद संयोग थियो।
'ओहो, हस्तिनापुर युवराज? यता पाल्नुस् न,' मैले स्टिलको गिलासमा भएको मदिराको अन्तिम घुड्को मुखमा हाल्दै शाही मार्काको आतिथ्य प्रकट गरेँ, 'के टक्र्याऊँ हजुरलाई?'
म अप्सरा गल्लीको अप्सरा खाजाघरमा बसेर स्टिलको गिलासबाट घरेलु मदिरापान गर्दै थिएँ। मेरो अगाडिको टेबुलमा स्टिलकै प्लेटमा एकाध टुक्रा प्याजहरू सितन थिए। म खाजाघरको ढोकैछेउको टेबुलमा थिएँ, गल्लीमा हिँडिरहेको दुर्योधनलाई देखेर आफैंले निम्तो दिएको थिएँ।
'तपाईं जे खाँदै हुनुहुन्छ, त्यही ल्याउनुस् न,' सानो तर बहुत भारी आवाजले मलाई आदेश दिएर यताउता पल्याक-पुलुक हेर्दै मेरो अगाडिको फल्याकमा दुर्योधन बसे।
युवराजको परिधान राजसी ठाँटको थियो। शरीर मणिमाणिक्यले सजिसजाउ तर शिरमा मुकुट थिएन।
मैले ध्यान दिएर हेरेँ- उनको दाहिने तिघ्राबाट अलि अलि रगत चुहिँदै थियो। युवराज कतै महिनावारी त भएनन्? म आश्चर्यचकित भइरहेको थिएँ।
'आज कताबाट बाटो बिराएर यो बदनाम सहरको बदनाम गल्लीमा सवारी भयो त सरकार,' म आफूले जानेसम्मको राजसी अभिवादन प्रस्तुत गर्ने कोशिस गरिरहेको थिएँ।
यत्तिकैमा अप्सरा खाजाघरकी 'वेट्रेस' अप्सराले एउटा स्टिलको गिलासमा जर्किनबाट खन्याएको घरेलु मदिरा ल्याइदिइन्।
मैले वेट्रेस अप्सरालाई राँगाको सुकुटी पनि ल्याउन आग्रह गरेँ। हस्तिनापुरको युवराजजस्तो मान्छेलाई पनि जाबो प्याज टोकाएर मात्रै मदिरा पियाउनु त उत्तम नहोला!
'म चित्रगुप्तको न्यायसभामा थिएँ। सभामा सबैको पाप र पुण्यको लेखाजोखा हुँदै थियो। यत्तिकैमा सबैको हिसाबकिताब सक्कियो। आ-आफ्नो कर्मअनुसार कसैले स्वर्ग पाए, कसैले नर्क,' दुर्योधनले एकैपटक सिंगै एक गिलास मदिरा स्वाट्ट पार्दै भने, 'मलाई मेरो कर्मअनुसार चित्रगुप्तले स्वर्गको निर्णय सुनाए। म स्वर्गमा अप्सराहरूको खोजी गर्दै हिँडेको थिएँ, यहाँ आइपुगेछु। स्वर्ग भनेको यही हो र?'
म पुनः चकित भएँ।
'हँ…स्वर्ग?' मेरो मुखबाट आश्चर्यमिश्रित आवाज प्रश्नका रूपमा निस्कियो। दुर्योधनलाई पनि स्वर्ग? मलाई चित्रगुप्तको न्याय प्रणाली पनि हाम्रै नेपालको जस्तो अप्रभावकारी रहेछ कि क्या हो जस्तो लाग्यो।
'हो... यो पनि एउटा स्वर्ग नै हो,' मैले नेपाललाई स्वर्गसँग तुलना गर्दै दुर्योधनलाई भनेँ।
म अझै पनि दुर्योधनजस्तो ऐतिहासिक खलनायकलाई स्वर्ग कसरी प्राप्त भयो भनेर अचम्ममा परिरहेको थिएँ।
***
म हस्तिनापुर भएर बग्ने गंगा नदीको किनारमा तिघ्राबाट रगत बग्दै गरेका दुर्योधनसँगै प्रकट भएको थिएँ। दुर्योधनको तिघ्राबाट रगत किन बगिरहेको थियो भनेर मलाई थाहा थिएन। मैले सोधेको पनि थिइनँ।
बालक राजकुमार दुर्योधन आफ्नो माइलो भाइ दुशासनसँग मिलेर भर्खर विष खुवाएर बेहोस पारिएका भीमसेनलाई गंगामा बगाउन खोज्दै थिए। बडो मुस्किलसँग दुई दाजुभाइले खिरमा विष मिलाएर भीमसेनलाई पिलाउन सफल भएका थिए।
'तपाईं यस्तो काम गरेर पनि कसरी स्वर्ग जान सफल हुनुभयो त दुर्योधनजी,' मैले बोरामा खाँदेर ल्याइएका भीमसेनलाई देखाउँदै सोधेँ।
ठीक त्यसै बेला दुशासनले भीमसेनलाई खोलामा ठेलिदिए।
दुर्योधन एकटकले भीमसेन डुब्दै गइरहेको हेरिरहेका थिए। दुर्योधनको त्यो हेराइ सामान्य थिएन। ग्लानी, अफसोच, सन्तुष्टि, मुस्कान, तृप्ति, खेद आदि-इत्यादि सबै विशेषणले भरिपूर्ण एउटा अजिबको हेराइ थियो।
मलाई दुर्योधन बहुत रहस्यमयी पात्र लागिरहेको थियो।
'एउटा १३ वर्षे बालकले कसैको हत्या गर्ने सोच बनाउँछ भने तपाईं आफैं सोच्नुस्, त्यो बालकको दिमागमा कतिसम्म विष र मनमा पीडा भरिएको रहेछ,' पर क्षितिजतिर हेर्दै दुर्योधनले अश्रुमिश्रित आवाजमा भने।
'कसैले पनि कुनै मान्छेको हत्या रहर लागेर गर्दैन। त्यो हत्या गर्नुका पछाडि धेरै कारण लुकेका हुन्छन्। मेरो मनमा यति धेरै पीडा दबिएर बसेका थिए कि त्यति बेला मैले भीमको हत्या गर्नु नै मुनासिब सम्झिएँ,' दुर्योधन आफ्नो तिघ्रामा लागेको रगतको पाप्रा उक्काउन खोजिरहेका थिए।
बालक दुर्योधन अर्कैतिर लागिसकेका थिए। दुशासन उनकै पछिपछि दगुर्दै गए।
'भीमसेन बलवान थियो। हामी दाजुभाइमा सबभन्दा बलवान ऊ नै हो। यो कुरामा दुई मत छैन,' दुर्योधनले सुस्केरा हाले, 'उसले आफ्नो बल प्रदर्शन जहिल्यै पनि हामी कौरवहरूमाथि मात्रै गर्थ्यो। म लगायत मेरा भाइबैनी सबैलाई दुःख दिइराख्थ्यो। भीमको हातबाट हामीले कति कुटाइ खायौं, त्यसको लेखाजोखा छैन।'
'उसले धेरैपटक मेरी बैनी दुशालालाई लछारपछार पारेर उसको कपाल लुछेको छ। मेरा भाइहरू कतिको हात भाँच्चियो, कतिको खुट्टा। बलवानले आफ्नो बल प्रदर्शन निर्धामाथि त गर्ने होइन नि। म सबभन्दा जेठो कौरव भएका नाताले आफ्ना भाइबैनीको रक्षा गर्नुपर्ने जिम्मेवारी काँधमा थियो। तर, म आफैं लाचार थिएँ,' दुर्योधनले आँशु चुहिएलाजस्तो अनुहार बनाएर आफ्नो वाक्य अन्त्य गरे।
'त्यति हुँदैमा हत्या नै गरिहाल्नु हुन्थ्यो त? यो त ठीक भएन नि,' मैले एकदमै मसिनो आवाज निकालेर प्रतिप्रश्न गरेँ।
सायद यो म नभएर अप्सरा गल्लीमा पाइने स्टिलको गिलासभित्रको झोल बोलिरहेको थियो।
'मैले भीमको शिकायत प्रायः सबै ठूलाबडासँग गरेँ। पितामह भीष्मसँग गरेँ, गुरु द्रोणसँग गरेँ, पिता धृतराष्ट्रसँग पनि गरेँ। जतिसुकै शिकायत गरे पनि पाण्डवहरू अनाथ हुन्, उनीहरू ज्ञानी छन् भनेर कसैले पनि उनीहरूको खिलाफको उजुरी सुन्नै मान्दैन थियो। कसैले पनि मेरो अवस्था बुझ्ने कोशिस नै गरेन। एउटा किशोर भित्रभित्रै पीडाको रापमा पिल्सिरहेको थियो।'
'हेर्नुस्, त्यो बेला मलाई जे ठीक लाग्यो, मैले त्यही गरेँ। मलाई आफ्नो त्यो कार्यप्रति कुनै ग्लानी छैन। केही पश्चाताप छैन,' दुर्योधनले स्टिलको गिलास एकदमै जोडसँग टेबलमा राख्दै ठूलो स्वरमा भने।
गिलासको आवाज सुनेर वेट्रेस अप्सरा दगुर्दै बाहिर हाम्रो छेउमा आइन्।
अप्सरा खाजाघरको एउटा कुनामा बूढीऔंला नभएको एकलव्य बहुत मार्मिक तरिकाले सूर्ति मोल्दै थिए। चुरोट त कसैले पिएको थिएन तर सायद भान्साबाट निस्किएको धुवाँका कारण पूरै खाजाघर धूवैँधूवाँले भरिएको थियो।
अप्सरा खाजाघरमा जम्मा चारवटा टेबुल थिए। सबभन्दा कुनाकोमा बूढीऔंला नभएको एकलव्य बसिरहेका थिए। ढोका छेवैको टेबुलमा म र दुर्योधन थियौं। दुर्योधनले कतिवटा स्टिलको गिलास रित्याए, त्यसको हिसाब मैले राख्न छोडिसकेको थिएँ। सायद वेट्रेस अप्सराले राखिरहेकी थिइन् होला।
***
म पाञ्चाल नरेश द्रुपदको राज्यसभामा आयोजित द्रौपदीको स्वयंवरमा कर्णको कुर्सीपछाडि उभिएको थिएँ। मेरो देब्रेतिर दुर्योधन उभिएर एकटकले द्रौपदीतिर हेरिरहेका थिए। आफ्नो हुनेवाला भाउजूलाई त्यसरी एकोहोरो हेर्न कुनै पनि क्षत्रीयलाई शोभा दिन्थेन।
'म यो राज्यसभामा उपस्थित सबै मान्यजनसँग यो निवेदन गर्न चाहन्छु कि म कुनै पनि शुद्रसँग विवाह गर्न सक्दिनँ,' द्रौपदीले धनुषमा ताँदो हाल्दै गरेका कर्णतर्फ हेर्दै चर्को आवाजमा निवेदन गरिन्। म सभामा पुग्नेबित्तिकै कर्ण आफ्नो कुर्सी छाडेर धनुष राखेको ठाउँतर्फ अघि बढिसकेका थिए।
दुर्योधनले भने, 'राजकुमारी द्रौपदी! मान्छेको जात उसको जन्मले होइन, कर्मले निर्धारण गर्छ। मान्छेले जस्तो कर्म गर्छ, त्यस्तै जात पाउँछ। ब्राह्मणको घरमा जन्मिएको मान्छे पनि आफ्नो कर्मले शुद्र बन्न सक्छ। शुद्रको घरमा जन्मिएको बालक पनि कालान्तारमा ब्राह्मण बन्न सक्छ। मेरा परममित्र कर्ण जन्मले शुद्र भए पनि कर्मले कुनै क्षत्रीयभन्दा कम छैनन्।'
द्रौपदीले जवाफ दिइन्, 'मलाई एउटा शुद्रसँग विवाह नै गर्नु छैन।'
दुर्योधन जंगे, 'कर्ण अंग देशका राजा हुन्। र, उनले राजाका रूपमा अंग देशमा रहँदा पूर्ण रूपमा क्षत्रीय धर्म पालना गरेका छन्।'
कर्ण मौन थिए। सभामा उपस्थित अरू पनि सबै मौन। म चाहिँ अलमल्ल।
द्रौपदीका दाइ धृष्टद्युम्न उठे, 'स्वयंवरमा अन्तिम निर्णय जहिले पनि वधुको नै हुन्छ। यदि दिदीलाई अंगराज कर्णसँग विवाह गर्नु छैन भने हामीले कर गरेर, कुनै तर्क गरेर हुँदैन। हाम्रो पाञ्चालमा नारीको मतको पनि सम्मान गर्ने चलन छ।'
दुर्योधन फेरि जंगे, 'इच्छा अनिच्छा आफ्नो ठाउँमा छ राजकुमार। तर कसैलाई आमन्त्रण गरेर उसको क्षमता नहेरी जन्म मात्रै हेरेर निर्णय गर्ने र सम्मान गर्नुको सट्टा अतिथिलाई अपमान गर्ने चलन चैं तपाईंको पाञ्चालमा मात्रै रैछ राजकुमार।'
द्रौपदीले भनिन्, 'मलाई दलितसँग सम्बन्ध गाँस्नु छैन। तपाईं जतिसुकै तर्क दिनुस् युवराज दुर्योधन तर म एउटा दलितलाई आफ्नो श्रीमानका रूपमा कदापी स्विकार्न सक्दिनँ।'
कर्णले भने, 'यदि त्यस्तो थियो भने मलाई यो स्वयंवरको निम्तो किन दिइयो? म सहभागी भइन्जेल किन केही भनिएन। मैले धनुषमा ताँदो चढाइञ्जेल किन केही भनिएन। अहिले अन्तिममा आएर जातको आधारमा मेरो किन अपमान गरियो?'
द्रौपदी चुप। धृष्टद्युम्न चुप। म चाहिँ आश्चर्यचकित।
'पाञ्चाल देशमा अरूलाई अपमान गर्ने चलन पुरानै हो। पहिले पाञ्चाल नरेशले गुरू द्रोणलाई अपमान गरे। पछि मेरा मित्र कर्णलाई। इन्द्रप्रस्थको मायावी दरबारमा पाञ्चालीले मेरो पनि अपमान गरिन्। द्रौपदी एकदमै घमन्डी छन्, मात्तिएकी र पुल्पुलिएकी छन्,' युवराज दुर्योधनले एकदमै क्रोधमिश्रित आवाजमा मलाई सुनाए, 'यो एकदमै असंस्कारी देश हो। यहाँ धेरै समय बस्नु हुँदैन। जाऔं।'
म पुनः अप्सरा खाजाघरतर्फ जाने तयारी गर्दै थिएँ।
'आज यस रंगभूमिमा उपस्थित सबै जनासमक्ष म एउटा ऐतिहासिक घोषणा गर्छ,' गुरू द्रोणाचार्य एउटा अग्लो आसनमा उभिएर एकदमै चर्को तर शान्त आवाजमा बोलिरहेका थिए।
पाण्डव तथा कौरव राजकुमारहरू भर्खर मात्रै आफ्नो शिक्षा सकेर गुरुकुलबाट हस्तिनापुर फर्किएका थिए। उनीहरूको स्वागतका लागि हस्तिनापुर दरबारको प्रांगणमा रंगभूमि तयार थियो। रंगभूमिमा सबै राजकुमारले आफ्नो कला प्रदर्शन गरेपश्चात् गुरू द्रोणाचार्यले अर्जुनलाई संसारकै सर्वोत्कृष्ट धनुर्धर घोषणा गर्न गइरहेका थिए।
म त्यतै मुख्यद्वारमा खटिएको दरबानछेउ उभिएको थिएँ। युवराज दुर्योधन पनि मसँगै एउटा खुट्टा खोच्याएर उभिइरहेका थिए।
हामी द्रौपदी स्वयंवरबाट अप्सरा खाजाघर नगई सिधै रंगभूमितर्फ आएका रहेछौं।
'एकछिन आचार्य! प्रतियोगिता नै नगरी तपाईं कसरी अर्जुनलाई संसारकै सर्वश्रेष्ठ धनुर्धर घोषणा गर्न सक्नुहुन्छ,' मेरै छेउबाट रंगभूमिमा प्रवेश गर्दै अधिरथ पुत्र वाशुसेन चिच्याए।
'म पर्शुराम शिष्य कर्ण, आज यो आकाश, धर्ती, सूर्य, वायु, ऋषिगण, हस्तिनापुर र यहाँ उपस्थित सबै व्यक्तिलाई साक्षी राखेर अर्जुनलाई खुला चुनौती दिन चाहन्छु,' वाशुसेनको चुनौती देखेर मञ्चमा आसिन दुर्योधनका आँखा अलिकति तन्किए।
कृपाचार्यले भने, 'हे योद्धा, रंगभूमिमा राजा तथा राजकुमारलाई मात्रै आफ्नो कला देखाउन अनुमति हुन्छ। त्यसैले अर्जुनलाई लल्कार्नु अगाडि आफ्नो परिचय देऊ।'
कर्णले भने, 'म अधिरथ तथा राधाको पुत्र वाशुसेन हुँ। मैले आफ्नो सबै शिक्षा गुरू परशुरामसँग लिएको छु।'
भीष्म, 'अहो ! तर यो रंगभूमिमा शुद्रहरूले आफ्नो कला प्रदर्शन गर्न पाउँदैनन् हे स्वघोषित महान् योद्धा।'
दुर्योधन यहाँ फेरि जंगिए, 'तपाईंहरू जस्तो मान्यजनले एउटा महान् योद्धालाई जातका कारण आफ्नो कला प्रदर्शन गर्नबाट वञ्चित गर्न पाउनु हुन्न।'
द्रोणाचार्यले जवाफ फर्काए, 'रंगभूमिको नियम त हामीले परिवर्तन गर्न मिल्दैन राजकुमार। कर्ण न त राजा हुन् न त राजकुमार। राजवंशी त परको कुरा, कर्ण त क्षत्रीय पनि होइनन्। कर्णले यो प्रतियोगितामा भाग लिनु रंगभूमिकै नियमविपरीत हुनेछ।'
दुर्योधनले भने, 'आज यो सभामा उपस्थित सबैको सामुन्ने म पर्शुराम शिष्य कर्णलाई आफ्नो विशेषाधिकार प्रयोग गरी हाम्रै हस्तिनापुरको राजपाठअन्तर्गत पर्ने अंग देशको राजा बनाउने घोषणा गर्छु। अंग देशको राजा भइसकेपछि कर्णले औपचारिक रूपमा अर्जुनलाई चुनौती दिन पाउनेछन्।'
मैले भनेँ, 'यो बहुत स्वार्थी निर्णय गर्नु भयो दुर्योधनजी तपाईंले।'
ब्राह्मणहरू कर्णको राज्याभिषेक तयारी गर्दै थिए।
दुर्योधनले मलाई भने, 'कसरी?'
'तपाईंका सबभन्दा ठूला शत्रु पाण्डवहरू हुन्। पाण्डवको खम्बा भनेकै भीम र अर्जुन हुन्। युधिष्ठिर, नहकुल र सहदेवलाई हराउन तपाईंका ९९ जना भाइहरूले मज्जाले सक्छन्। भीमलाई तपाईंले गदायुद्धमा मज्जैले हराउन सक्नुहुन्छ। तर, अर्जुनलाई टक्कर दिनसक्ने तपाईंसँग कोही थिएन। आज कर्णका रूपमा तपाईंले अर्जुनविरुद्ध प्रयोग गर्न सकिने हतियार फेला पार्नुभएको छ। राजा बनाइदिएको गुनबापत तपाईं कर्णलाई प्रयोग मात्रै गर्न चाहनुहुन्छ। तपाईं स्वार्थी हुनुहुँदो रहेछ दुर्योधनजी।
कर्ण अंग देशका राजा भइसकेका थिए।
दुर्योधनले भने, 'अरे…तपाईंले त पूरै पूर्वाग्राही कुरा गर्नु भयो यार।'
'इतिहास साक्षी छ युवराज,' मैले भनेँ।
'इतिहास जित्नेहरूले लेख्छन्। हार्नेहरूले पनि इतिहास लेख्न पाउने छुट भइदिएको भए आज इतिहासका धेरै नायकहरू खलनायक भइसकेका हुन्थे। मैले समाजको नियममाथि प्रश्न उठाएँ, समाजले मेरो नियतमाथि नै प्रश्न उठाइदियो। परापूर्वकालदेखि चलिआएको सामाजिक कुप्रथा नमानेका आरोपमा मलाई असामाजिक घोषणा गरियो।'
'मतलब?'
दुर्योधनले भने, 'मलाई मान्छेको जन्मका आधारमा जात र जातका आधारमा कामको विभाजन गरेको कहिल्यै मन परेन। कर्ण दलित भए पनि मैले उसको क्षमता पहिचान गरी उसलाई राजा बनाएँ। तर, रुढीले जरा गाडेको समाजले मलाई खलनायक बनायो। एउटा रथ हाँक्ने सारथिको छोराले देश हाँक्न सक्छ भनेर मैले गरेको कुरा कसैलाई पचेन। समाजमा परिवर्तन ल्याउन मुस्किल छ। तर, असम्भव छैन। दलितले छोएको खाने राम भगवान भए, दलितलाई राजा बनाउने म राक्षस भएँ। मान्छेको जात जन्मले होइन, कर्मले निर्धारण गर्छ।'
'र, अर्को कुरा यदि मैले कर्णसँग उसलाई पाण्डवविरुद्ध प्रयोग गर्न मात्रै मित्रता गाँसेको थिएँ भने किन उसलाई युद्धको पहिलो १० दिन युद्ध नगर्न भनेँ त? भीष्म पितामहको मैले आजसम्म कुनै पनि कुरा मानेको छैन तर कर्णलाई युद्धमा सहभागी हुन नदिने सर्त मन्जुर गर्नुको कारण के हो? कर्णलाई म आफ्नो मित्र मान्थेँ, आफ्नो मित्र अलि लामो समय बाँचेको हेर्ने इच्छाले नै म त्यो सर्त मान्न मन्जुर भएँ। अझ तपाईं भन्नुहुन्छ, मैले कर्णलाई पाण्डवविरुद्ध प्रयोग मात्रै गरेँ? इतिहासमा सबैले क्रान्ति गर्छन्, गर्नै पर्छ। क्रान्ति सफल भए क्रान्तिकारीहरू नायक हुन्छन्, असफल भए खलनायक।'
म उनको जवाफले नतमस्तक भएँ।
अंगराज कर्णको जय। महाराज कर्णको जय। राजकुमार दुर्योधनको जय।
***
'तपाईंहरूलाई अब के ल्याऊँ त,' अप्सरा खाजा घरकी वेट्रेस अप्सराले सोधिन्।
अघिको अप्सरा ड्युटी सक्काएर घर गएकाले होला, नयाँ अप्सरा आएकी रहिछन्। सूर्ति माड्दै कुनामा बसेका एकलव्य अहिले थिएनन्। सायद सहरमा कुनै भुस्याहा कुकुर खोजेर त्यसको मुखमा वाणको बुजो लगाउन हिँडे होलान्। एकलव्यले छाडा पशु व्यवस्थापन गर्ने विभागमा काम गर्न थालेका हुन् र?
'यहीँ अघिदेखि खाइरहेकै थपिदिनुस् न माता,' मैले स्टिलको गिलास देखाउँदै अप्सरालाई सम्मानपूर्वक भनेँ।
नयाँ अप्सरा मलाई नानाभाँती गाली गर्दै सन्केर हिँडिन्। मलाई पुरानो अप्सराको याद आइहाल्यो।
'तर तपाईं चैं स्वर्ग कसरी पुग्नुभयो,' मैले दाँत कोट्याउने छेस्कोले एक टुक्रो सुकुटी मुखमा हाल्दै एकदमै फोहोरी तरिकाले सोधेँ।
'कुरुक्षेत्र भनेको धर्मक्षेत्र हो। धर्मक्षेत्रमा वीरगती प्राप्त गर्ने सबै स्वर्ग जान्छन्,' दुर्योधनले एकदमै रुखो र ठाडो जवाफ फर्काए।
'पाण्डवहरू चैं किन स्वर्ग पुग्न सकेनन् त? उनीहरू तपाईंभन्दा धर्मात्मा थिए त?'
'तपाईं अझै गलत इतिहासको गलतफहमीमा हुनुहुन्छ।'
'लौ न त, त्यसो भए मलाई साँचो इतिहास सुनाएर वैतरणी नदी पार लगाइदिनुस्।'
त्यसपछि दुर्योधन उवाच सुरू भयो:
'पाण्डवहरू ढोंगी थिए। तपाईंलाई थाहै छ, उनीहरूले अनेक जालझेल गरेर भए पनि कुरुक्षेत्रको युद्ध जितेरै छाडे। अनि लासैलासले भरिएको राज्यको बागडोर सम्हाले। कुरुक्षेत्रको त्यो महान युद्ध सक्किँदा लगभग विश्वको असी प्रतिशत जनसंख्या सक्किइसकेको थियो। युद्धमा सहभागी हुन नसक्ने बालक, वृद्ध, महिला, अपांग मात्रै भएको देशमा बडो शानले युधिष्ठिरको राज्याभिषेक गरियो।
युद्धमा जित हासिल गरेपछि त्रेतायुगमा रामले १० हजार वर्षभन्दा बढी राज गरिरहँदा किन युधिष्ठिरले जम्मा ३६ वर्षमै राजपाठ त्यागेर हिँड्नुपर्यो त? किनभने उनको राज्याभिषेक ताका बालक नै रहेका प्रजाहरू ३६ वर्षमा वयस्क भइसकेका थिए। उनीहरू बुझ्ने भइसकेका थिए। युधिष्ठिर राजा बन्न योग्य छैनन् भनेर प्रजाहरूलाई थाहा भइसकेको थियो। भित्रभित्रै उनीविरुद्ध आन्दोलन चर्किइरकेको थियो। राजा भनेको कूटनीतिक पनि हुनुपर्छ, सत्यवादी मात्र होइन। युधिष्ठिरमा राजा हुने गुण थिएन। युधिष्ठिरले आफैं राज्य त्याग नगरेका भए उनलाई जनताले नै गद्दीच्यूत गराउने थिए।
म हस्तिनापुर युवराज भएको ताका पूजापाठ र दानधर्म नियमित रूपमा गरिरहन्थेँ। प्रजा अत्यन्तै खुसी थिए। मेराविरुद्ध पाण्डवहरूबाहेक कोही थिएनन्। त्यत्रो युद्ध गरेर, स्वजन हत्या गरेर आखिर उनीहरूले के पाए? मरेको लास र जिउँदो लासले भरिएको राज्य? अरूको त के कुरा, उनीहरूले आफ्नै आमालाई पनि खुसी दिन सकेनन्। युधिष्ठिर राजा भएसँगै काकी कुन्ती पनि मेरो माता र पितासँगै वनबास जानुभयो। आखिर त्यो सबै केका लागि?
तपाईंलाई थाहै छ, पाण्डवहरू आफूलाई धर्म र न्यायका हिमायती नै ठान्थे। तर, कुरुक्षेत्रको अन्तिम युद्धमा हेर्नुस्, कसरी आफ्नो लत्तो छाडे। भीष्म पितामह, गुरू द्रोणाचार्य, कर्ण र मलाई समेत छलपूर्वक हत्या गरे। हो, अभिमन्युको हत्या युद्धको नियमविपरीत भएको थियो। यो कुरा म स्विकार्छु। चक्रव्यूहमा पसेपछि कुनै पनि व्यक्ति त्यो व्यूहको शिकार बन्छ। अभिमन्यु पनि व्यूहको शिकार भए। तर, जाबो १६ वर्षे किशोरलाई सुरक्षाको झूटो बाचा गरेर त्यत्रो खतरनाक चक्रव्यूहमा पस्न दिने भीम लगायत महान् पाण्डवहरू अभिमन्युका असली हत्यारा हुन्।
युधिष्ठिर सत्यवादी भइकन पनि एकदमै जुवाका सोखिन थिए। उनको मनपसन्द खेल जुवा हो भन्ने ठानेर मैले सबै पाण्डवलाई निम्तो दिएँ। र, खेलमा युधिष्ठिरले हार्दा हार्दा यति धेरै हारे, आफ्नो सारा इन्द्रप्रस्थ नै जुवामा थापे। जुन मैले जितेँ। तर, मलाई जुवा नराम्रो अम्मल हो भनेर थाहा थियो। त्यसैले युधिष्ठिरको सबै जितेको सम्पत्ति फिर्ता पनि गरिदिएँ।
तर, फेरि युधिष्ठिरलाई के सनक चढेछ, पुनः जुवा खेल्न बसे। मामा शकुनी जुवाका पेशेवर खेलाडी हुनुहुन्थ्यो। उहासँग जुवा खेल्नु भनेको हार्नु नै हुन्थ्यो। यो कुरा युधिष्ठिरलाई पनि थाहा थियो। युधिष्ठिरले पुनः जुवा खेल्दा फेरि हार्न थाले। यो खबर खोइ कसले द्रौपदीलाई सुनाइदिएछ, उनी पूरै रिसको झोंकमा हान्निएर सभामा प्रवेश गर्न लागिन्।
उनी महिनावारी भएर पर सरेकी हुनाले ठूलाबडा उपस्थित हुने राजसभामा आउन नहुने थियो, तर घमण्डी द्रौपदीले कसलाई टेर्ने!
मैले दुशासनलाई 'जा भाइ, भाउजूलाई यता भित्र आउन नदे' भनेर अह्राएँ। दुशासनले गएर द्रौपदी छिर्न आँटेका बेला ढोकाको खापा ठेलिदिएछ, जसमा अल्झिएर उनको सारी फुस्किन पुग्यो। तर, द्रौपदी उता गएर 'दुर्योधनले दुशासनलाई भनेर मेरो सारी फुस्काइदियो, मेरो वस्त्रहरण भयो' भनेर गुहार माग्न थालिन्। यो मामिलामा मेरो धेरै चित्त दुखाइ छ। मैले एउटा आदर्श क्षत्रीयले गर्ने कार्य मात्रै गरेको थिएँ।
द्रौपदी हामीलाई देखिसहन्न थिइन्। मायाजालले भरिएको दरबारमा बोलाएर पनि हाम्रो अपमान गरिएको थियो। तर मैले कहिल्यै त्यसको गुनासो कसैसँग गरिनँ।
कुरुक्षेत्रको युद्ध हामीले जितेका भए आज कथा अर्कै हुन्थ्यो। झूटको पुलिन्दा हुँदैनथ्यो। सत्यको पक्षमा हुन्थ्यो।'
म महाभारतको साँचो इतिहास सुनेर एकछिन नेपाली भाषाको अप्ठ्यारो शब्द भएँ - किंकर्तव्यविमूढ।
मैले आजसम्म सुनेको र पढेको महाभारतभन्दा यो नितान्त नौलो र फरक थियो।
'यो जर्किन नै अन्तिम हो। अरू सबै सक्किइसक्यो,' एउटा पुरानो जर्किन हाम्रो अगाडि राख्दै खाजाघरकी नयाँ अप्सराले पुनः ठाडो आवाजमा बोलिन्।
राँगा 'प्लस' भैंसीका अजिबोगरिब परिकार टेबुलमा लडिरहेका थिए। म बेलाबेला क्वाप्प टिपेर चपाउँदै थिएँ। दुर्योधन एकटकले मास्तिर हेरिरहेका थिए। पल्लो कुर्सीका एकलव्य अझै आइपुगेका थिएनन्।
दुर्योधनले एक गिलास मदिरा एकैचोटि स्वाट्ट पारेर गिलास जोडले टेबुलमा बजाए- ट्याङ्ग।
नरोवा कुन्जरोवा अश्वस्थमा हतोहत। युधिष्ठिरले मध्य दिउँसोमै आफैंलाई शिक्षा दिने गुरूसँग सफेद झूट बोले। एउटा जाबो राज्यका लागि आफ्नो इज्जतमाथि नै खेलवाड गरे। झूट बोलेर कमाएको राज्य उनले ३६ वर्षमै छाड्नुपर्यो। हस्तिनापुर बिलाइसक्यो। आज ३६ हजार वर्षपछि पनि उनको नाममा लागेको कालो उस्तै छ। उनले आफ्नो जीवनकालभरि बोलेको सत्य कुराभन्दा एकचोटि मात्र बोलेको झूटको चर्चा ज्यादा हुन्छ।
मैले युधिष्ठिरबारे यति सोचुञ्जेल धृष्टद्युम्नले कुरुक्षेत्रमै समाधि लिएर बसेका द्रोणाचार्यको गला छिनाइसकेको थिए। कठै! हातहतियारबिना मैदानको बीचमा पुत्रशोकमा परी पद्मासनमा बसिरहेको वृद्धको हत्या गरेर पाण्डव सेनापतिले ठूलो उत्सव मनाए।
पितामह भीष्मले महिलाविरुद्ध हतियार उठाउदिनँ भनेर खुद आफैंले आफूलाई कसरी हराउन सकिन्छ भनेर पाण्डवहरूलाई सुनाउँदै थिए। युवराज दुर्योधनलाई आफ्नै सेनापतिले धोका दिँदै थिए। धर्मको पर्यायवाचीका रूपमा परिभाषित पाण्डवले आफ्नै पितामहलाई धोका दिँदै थिए। जुन युद्ध छलपूर्वक लडिएको छ, त्यो युद्धलाई धर्मयुद्ध किन भनियो भनेर म सोचमग्न थिएँ।
आफूले भोगेको लैंगिक विभेदलाई पूर्वजन्मको फल भनेर राजकुमार शिखण्डीले चित्त बुझाइरहेका थिए। यो सबैका लागि गंगापुत्र भीष्म जिम्मेवार छन् भनेर उनलाई विश्वास दिलाइएको थियो। तसर्थ आफूले जीवनभरि भोगेको अपमानको कारक तत्वलाई नै नाश गर्ने अवसर उनले गुमाउन चाहन्थेनन्। उता भीष्म पूरै पुरातनवादी सोचले ग्रस्त थिए। तेश्रो लिंगीहरूलाई पनि उनी महिलाकै दृष्टिले हेर्थे। र, त्यसैका कारण उनको मृत्यु पनि भयो।
म युद्ध मैदानमा आफ्नै सुरमा हिँड्दाहिँड्दै कर्णको अगिल्तिर पुगेको थिएँ। महान भइकन पनि श्रापित भएकाले उनलाई म इतिहासकै सबभन्दा अभागी योद्धा ठान्थेँ। खोइ कसरी कसरी उनको रथको पाङ्ग्रा जमिनमा भासियो। धर्मयुद्धमा धर्मको पक्षबाट युद्ध गरिरहेका अर्जुनले खोइ केको उन्मादमा हो, सहयोग गर्नुको सट्टा निरीह एउटा मान्छेलाई धनुष ताक्दै थिए। मैले रोक्ने कोशिस गरेँ, तर सायद मलाई अर्जुनले देखेनन्। हेर्दाहेर्दै महान धनुर्धर अर्जुनले एउटा लाचार मानिसको हत्या गरे र ठूलो उत्सव मनाए।
अनि आफूले आफैंलाई संसारको सर्वश्रेष्ठ धनुर्धर घोषणा गरे। छ्या!
अघि नै खाजाघरबाट भुस्याहा कुकुर खोज्न निस्किएका एकलव्य फर्किएका भए अहिले अर्जुनको घमन्ड तोड्न हुन्थ्यो।
भीमसेन र दुर्योधन अन्तिम गदा-युद्ध गर्न तम्तयार थिए। बलपूर्वक दुर्योधनलाई हराउन सकिँदैन भनेर तथाकथित धर्मको पक्षबाट युद्ध गरिरहेको भीमसेनलाई थाहा भइसकेको थियो। त्यसैले पुनः छलपूर्वक, नियमविपरीत दुर्योधनको तिघ्रामा प्रहार गरे। म त्यहीँ थिएँ। दुर्योधनको तिघ्राबाट रगत चुहिन थाल्यो।
पाण्डवहरू किन नर्क गए र किन दुर्योधन चाहिँ स्वर्ग गए भनेर मैले उत्तर पाइसकेको थिएँ। म अब दुर्योधनसँग चित्रगुप्तको न्यायसभामा गएर पूरै छलफल हेर्न चाहन्थेँ। तर, अप्सरा खाजाघरको टेबलमा म एक्लै थिएँ। मेरो अगाडि कोही थिएन। खाली प्लेट र खाली गिलासहरू मात्रै थिए।
नयाँ वेट्रेस अप्सरा आएर मलाई भनिन्, 'दुर्योधनजी, ए दुर्योधनजी। अब हुटेल बन्द गर्ने बेला भो। तपाईंलाई अरू केही चाहिन्छ कि पुग्यो?'
लेखकः अज्ञात लुईंटेल