हातमा मेहन्दी नलाए पनि काँधमा जिम्मेवारी लिएकी छु
भोको पेट ब्रत बस्न नसके पनि परिवार प्रतिको दायित्व पूरा गरेकी छु
हरिया चुरा नलाए पनि हरिया साग सब्जी खुवाएकी छु
भ्रामिक संस्कृति भन्दा पनि वास्तविक जीवन सँग रमाएकी छु
विश्वास छैन मलाई मैले हरिया चुरा लगाउँदा हामी बीचको माया बढ्छ भनेर
विश्वास छैन मलाई मेहन्दीले तिम्रो नाम लेख्दा हाम्रो सम्बन्ध प्रगाढ हुन्छ भनेर
अनि पटक्कै विश्वास छैन म भोको पेट बस्दा तिम्रो आयु बढ्छ भनेर
माया बढाउनका लागि तिमीलाई विश्वाश गरेर आधा जिम्मेवारी निभाएकी छु
सम्बन्ध प्रगाढ बनाउनका लागि तिमीलाई सम्मान गर्दै आर्थिक भार सम्हालेकी छु
अनि तिम्रो आयु बढाउनका लागि स्वस्थ्यकर खाना र तनाव रहित पारिवारिक वातावरण बनाएकी छु
पतिव्रत नारी हुन नसके पनि तिम्रा काँधमा काँध मिलाएकी छु
तिम्रा हरेक कठिन परिस्थितिमा मेरो दरिलो साथ दिएकी छु
अनि तिम्रो जीवन साथीको रूपमा विश्वासिलो भूमिका निभाएकी छु
तिम्रो पाइलामा पाइला मिलाउँदै जीवन रूपी रथ हाँकेकी छु
तिम्रो मन दुख्दा मीठा कुरा गरेर भुलाएकी छु
तिम्रो आँखामा आँसु टिलपिलाउँदा झर्न नदिई रोकेकी छु
तिमीलाई दुबिधा पर्दा सही बाटो देखाइदिएकी छु
अनि तिम्रो मन मुटुमा मेरो भावनाको कोमल फूल राखिदिएकी छु
त्यसैले मेरा लागि हरिया चुरा तिमी प्रतिको विश्वास हो
मेरा लागि मेहन्दी तिमी प्रतिको मेरो सम्मान र भरोसा हो
मेरा लागि ब्रत बस्नु तिमीलाई मैले दिएको दरिलो साथ हो