कविता
भानु झैं कवि को छ यो मुुलुकको साहित्य भण्डारमा ?
चम्कन्छन् ती सधैं पवित्र रवि झैं साहित्य आकाशमा ।
रुन्छन् ती नरनारी, बालबनिता, मातापिता वृद्ध ती
श्रद्धाको सुमनै लिएर अहिले प्यारा कवि भानु मै ।।१।।
पाऊलान् सुखशान्ति यी जनहरू रामायणै पाठमा
मिल्ने नै छ अतुल्य भक्ति रसना काव्यसुधा साथमा।
नेपाली जनका पवित्र मनमा साहित्य प्रेम सिर्जना
उब्जाइकन रामको प्रियकथा बस्छौ दिलैमा सदा ।।२।।
आउनेछ सधैं असार महिना भानुको लिई सम्झना
गर्नेछन् कविले अमूल्य रचना भानुको लिई कल्पना ।
पाएका अहिले सुबोध रचना हामी सबै लोकले
भानु कै पहिलो प्रयास पहिलो सृष्टि दिने भानु नै ।।३।।
आऔं लौ मनले गुनेर अहिले श्रद्धाञ्जली भानुमा
आत्मा ती अमरै भएर रहने आदिकवि भानुमा ।
नेपाली जनका पवित्र दिलका बासी उही भानु हुन्
साहित्यै रचना कठोर सपना पुर्याउने वीर हुन् ।।४।।