म आफू पनि धनीकी छोरी थिइनँ। काठमाडौँ आएर कलेज भर्ना हुनुअघि नै जागिर खाएको हो। गरिब भएपनि स्वाभिमान कसैको हात नथाप्ने खालको उच्च थियो। दुःख गरेरै भए पनि विद्यार्थी जीवनमै आफूलाई खर्च गर्न मन लागेको कुरामा दिल खोलेर खर्च गर्थेँ। यसमा मैले कसैको भर पर्नु पर्थेन।
सबै साथीहरुका ब्वाइफ्रेण्ड थिए। म पनि लभ गर्दिनँ भन्दा-भन्दै आफूजस्तै निम्न वर्गको मान्छेको प्रेममा परेँ। अब प्रेम भन्ने कुरा धनसम्पत्ति कति छ? त्यो हेरेर गर्ने कुरा त पक्कै होइन। सामान्य लुगाफाटा लगाएको हेर्दा साधारण तर असाधारण क्षमता बोकेको केटोसँग म प्रभावित भएँ।
प्रेममा परेपछि मन परेको मान्छे भेटिराख्न मन लाग्ने रहेछ। यो उसलाई मात्र होइन, मलाई पनि हुन्थ्यो। अफिस पाँच बजे छुट्टी हुन्थ्यो। ऊ हरेक दिन मेरो अफिस अगाडि अलि पर मलाई कुरेर बस्थ्यो। र हामी कहिले चिया, खाजा पसलमा खाजा खाँदै घण्टौँ गफ गरेर बस्थ्यौँ। उसँग हुँदा समय यति तीव्र गतिमा चल्थ्यो कि कुरै नगरौँ।
पहिलो र दोस्रो भेटमा खाएको खाजाको पैसा उसैले तिरेको थियो। हुन त त्यो भृकुटिमण्डपे सस्तो खाजा थियो। तेस्रो पटक मैले तिरें किनभने त्यो बाजेको सेकुवा कर्नर थियो। मलाई एकोहोरो अर्काले पैसा तिरेको खान लाज लाग्थ्यो। ब्वाइफ्रेण्डको पनि एकोहोरो खाइराख्न हुँदैन भन्ने लाग्थ्यो। त्यसमाथि पनि बेरोजगार ब्वाइफ्रेण्डको खाईराखे पाप लाग्ला झैं लाग्थ्यो।
सायद त्यो दिनपछि उसले खाजा खाएको पैसा कहिले तिरेन। खाजा खाएर म चुप लागेर बसेँ भने आज मेरो पर्स छुटेछ भन्थ्यो। कहिले पैसा तिर्ने बेला उसलाई पिसाब लाग्थ्यो। त्यही भएर पैसा तिर्ने जिम्मा मैले लिएँ।
एकदिन छुट्टिने बेला मुसलधारे पानी पर्यो। रोकिने छाटकाँट नदेखिएपछि अनामनगरमा छाता किनेर उसलाई डेरा पठाईदिएँ। मैले उसलाई दिएको पहिलो उपहार थियो त्यो छाता।
ब्वाइफ्रेण्ड राम्रो चिटिक्क परेर आफूलाई भेट्न आवस् भन्ने कसलाई लाग्दैन र? उसको सर्ट पाइन्ट देखेर आफैंलाई झ्याउ लाग्न थाल्यो। बर्थडेमा न्युरोड लगेर अलि गतिलो पाइन्ट र टिसर्ट किनिदिएँ। त्यसपछि राम्रा लुगा किनिदिने जिम्मा पनि मेरै भागमा पर्यो। मलाई लाग्थ्यो ऊ आज पो बेरोजगार छ, मलाई भोलि रानी बनाएर हिडाउने मान्छे यही त हो नि।
समयक्रमसँगै उसको मोबाइल रिचार्ज गर्दिनु पर्ने जिम्मेवारी मेरै हुन थाल्यो। रिचार्ज गर्दिए पनि उ मलाई मिस्कल मात्र गर्थ्यो। उसको मिसकल देखेपछि म आफैं कलब्याक गर्थेँ। छाताबाट सुरु भएको उपहार रिचार्ज कार्ड हुँदै मोजा, रुमाल, कापी, कलम, जुत्ता, फेसमा लगाउने क्रिमसम्म पुग्यो।
वातावरण कति सहज हुँदै गएको थियो भने उसको लागि अन्डरवेयर पनि मैले नै किन्दिनु पर्थ्यो। तरपनि म खुसी नै थिएँ उसँग।
राम्रो रेष्टुरेन्ट लगेर खाजा खुवाउँदा, उसलाई सपिङ गरिदिदा, म आफू भने थोत्रिदै गएछु। त्यो पनि निशाले भनेर थाहा पाए। कलेजकी साथी थिई। उ आफ्नो ब्वाइफ्रेण्डको बारेमा सुनाईरहन्थी। कोठा भाडा तिरिदिएको, कलेजको फि समेत तिरिदिएको कुरा गर्थी। एक पटक गाँउबाट आमा बिरामी भएर काठमाडौँ उपचारको लागि आउदा अस्पतालको सबै बिल ब्वाइफ्रेण्डले नै तिरिदिएको कुरा सुनाउँथी।
अहिले उसले स्कुटर पनि किनिदिएको रहेछ। कहिलेकाही त निशाको जस्तो ब्वाइफ्रेण्ड मैले किन पाइनँ भने जस्तो पनि लाग्थ्यो। तर मेरो दुःख पनि केही दिनको मात्र थियो। पढाई सकेर जागिर खान थालेपछि मेरो ब्वाइफ्रेण्डले रानी बनाएर राख्ने मलाई नै हो, यसमा मेरो दुई मत थिएन।
विस्तारै–विस्तारै मेरो ब्वाइफ्रेण्डको लत्ताकपडा मैले किनिदिएको भन्दा ब्राण्डेड हुन थाल्यो। कपडा मात्र होइन, हातमा पनि उसले सुनको ब्रासलेट लगाउन थाल्यो। उसले आफ्नो पारिवारिक अवस्था बताएअनुसार घरमा सुनको नाममा आमाको घाटीमा एउटा तिलहरी रहेको बताएको थियो। आमासँग भएको सुन छोराछोरी पढाउन आमाले बचेको कुरा गर्थ्यो। त्यही भएरपनि उसलाई र उसको परिवारलाई अब बढी सम्मान गर्थेँ, विशेषगरी उसको आमालाई।
एकदिन उ घाटीमा पहेलो रङको बडेमानको सिक्री लगाएर आयो। मैले सोधेँ, ‘सुनकै हो?’ उ मुस्कुरायो मात्रै। साथीहरु व्याइफ्रेण्डको मोटरसाइकलमा बसेर लङ ड्राइभमा जान्थे। काठमाडौँ वरीपरी डाँडा पाखापखेरा घुम्न गएको कुरा गर्थे। आफू भने सधै त्यही अनामनगर, बागबजार र भृकुटीमण्डपभन्दा टाढाको डेटिङ जान पाइनँ। तर एकदिन त उ प्लसरबाइक लिएर मलाई भेट्न आयो।
हिजोसम्म ब्वाइफ्रेण्डको बाइक नभएर दुःख मानेको मान्छे म, आज ऊ बाइक चढेर आउँदा झनै पीडा हुन थाल्यो। यी र यस्ता महंगा सामान कहाँबाट आइरहेको थियो मैले सोध्नै सकिनँ। उसले लाज नमान्दा मेरो शब्दहरु हराएका थिए।
उसँग जति ब्राण्डेड समान थपिदै गए,उति म प्रतिको माया हराउदै गएको थियो। मलाई नभेटेको र नदेखेको दिन निन्द्रा लाग्दैन भन्ने मान्छे हप्ता पन्ध्र दिन नभेट्दा पनि उसलाई मतलब हुन छोड्यो। एकोहोरो म तड्पिने दिन सुरु भएको थियो। मैले पटक–पटक उसलाई तिमी बिना बाच्न सक्दिनँ भन्थेँ। म रोईरहन्थे मायाको भिख माग्दै। उसले पनि मलाई माया गर्ने, छोड्न नसक्ने कुरा गर्थ्यो।
म पनि तिमी बिना बाच्न सक्दिनँ भन्दै उसले मलाई छोडिरहेको थियो। हाम्रो झगडा हुन थाल्यो। हिजोका दिनमा त्यही कुराले हाँसो मान्ने मान्छे, आज त्यही कुराको निहुँ झिकेर कराउन थाल्यो।
अर्काले दिएको हात थाप्न लाज नमान्ने मान्छेको पेट भर्न कहिले सकिदो रहेनछ। मैले दिएका उपहार सामान्य थिए होला तर मैले आफूलाई पूरै रित्याएर दिएको थिएँ।
फेसबुक र भाइबरमा डिस्टर्ब गरेको भन्दै उसले मलाई ब्लक गर्यो। फोनमा पनि महिना दुई महिनामा कुरा हुन्थ्यो। पछि उसले सिम पनि झिकेर फालेछ। तर मलाई यो आश थियो कि उसको रिस मरेपछि उसले आफै मलाई फोन गर्नेछ। तर फोन आएन। प्रत्येक पल मर्दै बाच्नुपर्ने स्थिति सिर्जना भएको थियो। अफिसमा काम गर्ने जाँगर हराएको थियो।
अचानक एकदिन सम्झेँ, एक्स ब्वाइफ्रण्डको दाइलाई। उ भर्खर-भर्खरै विद्यार्थी राजनीतिमा लागेको थियो। मेरो दाइ भविष्यमा स्वास्थ्य मन्त्री बन्ने पक्का भन्थ्यो ऊ। अब ब्वाइफ्रण्डको बारेमा पत्ता लगाउने मात्र उही दाइ थियो। विद्यार्थी नेता भएकाले दाइको नम्बर पत्ता लगाउन गाह्रो भएन। मैले फोन गरें, डर खुब लागेको थियो। तर मेरो अरु उपाय थिएन।
उताबाट हल्लो भन्ने आवाज आएपछि मलाई बोल्नु नै पर्ने भयो। तर यतिबेलासम्म पनि के भनेर बोल्ने होला भन्दा नभन्दै दाइले ‘को बोलेको’ भनेर सोधे। म अप्ठ्यारो मान्दै डराइ-डराइ तपाईको भाइको गर्लफ्रेण्ड हुँ भनेर आफ्नो नाम बताएँ। थाहा छैन मैले आफूलाई त्यसरी चिनाउन हुन्थ्यो हुन्थेन। भाइको बारेमा सोधेँ। महिनादिनदेखि कुरा नभएर मलाई दुःख लागेको कुरा सुनाए।
मलाई लागेको थियो, अब मेरो समस्या हल हुने भयो। तर उताबाट समाधान होइन गाली आयो। 'लाजसरम नभएकी बेसरम केटी, तेरो हिम्मत कसरी भयो मलाई फोन गर्ने?’ उनको यो शब्दको वाणले मेरो मुटु चिरियो। त्यसपछि मेरो सबै बाटो बन्द भएछ भनेर मन बुझाउन बाध्य भएँ।
अब मसँग उसको सम्झना बाहेक अरु केही बाँकी रहेन। ए साँच्ची, उसले दिएको पाउडर छ। जन्मदिनमा दिएको उपहार थियो। आफन्त पर्नेले उसको आमालाई अमेरिकाबाट ल्याईदिएको रहेछ। आमाले रिसले अमेरिकादेखि जाबो पाउडर ल्याइदिने भनेर फाल्न लाग्नुभएछ। त्यही पाउडर उठाएर ल्याएको उसैले सुनाएको थियो।
तर जेसुकै होस्, पाउडर उसले मलाई दिन गाँउदेखि बोकेर आयो। मैले यसैलाई ठूलो मानेँ। कोठामा कोही साथी आए ब्वाइफ्रेण्डले दिएको गिफ्ट भनेर सुनाउन पाइने मसँग पनि केही त थियो। उसले छोडेपछि काठमाडौंमा तीन ठाउँमा डेरा सरिसके तर त्यो पाउडर कहि छोडिदैन। उसले छोडेपनि त्यो पाउडरले मलाई छोड्न मान्दैन। दूधले नुहाएजस्ती गोरी गर्लफ्रेण्डलाई पाउडर गिफ्ट दिनु ठूलो हिम्मतको कुरा हो। जो उसँग थियो।
केटीहरु धोकेवाज हुन्छन्। पैसामा माया बेच्न सक्छन्। केटीले गर्दा धेरै युद्ध भए, भनेर धेरै लेखिएर हो। केटीहरुले आफ्नो प्रेम नलेखेर हो नत्र यहाँ धोका दिने केटीभन्दा केटा धेरै छन्। दाइजो ल्याएन भनेर मार्ने, छोरा पाइनस् भनेर सौता हाल्ने, कुनै रोग लागे माइती लगेर छोड्दिने। यो बिहेपछिका धोका केही लेखिए पनि बिहे अगाडि केटाले दिएको धोकाको बारेमा कमैले लेखे।
एक वर्ष अगाडि गर्भपतनसम्बन्धी समाचार लखेकी थिएँ। मेरी स्टोप्सको डाटा अनुसार ७५ प्रतिशतभन्दा बढी अविवाहितले गर्भपतन गर्ने रहेछन्। यो बाध्यता कसरी सिर्जना हुन्छ? आफ्नो बैनी सम्झेर सोचौँ त यो परिस्थिति केटी एक्लैले निम्त्याएका हुन्छन्।
यहाँ प्रेमीको नाममा प्रत्येक पाइलामा नाफा र घाटाको व्यापार गर्नेहरु छन्। कहिलेकाही उसैको तर्फबाट सोच्छु, उ व्यापारी थियो भने म जस्तो गरिबसँग नै किन?
चार वर्ष बित्यो। काहीँ कतै उ मेरो मुटुमा अझै बसिरहेको छ। अचानक आज एक्स ब्वाइफ्रेण्डको दाइलाई फेसबुकमा देखेँ। उसले चुनाव जितेर ठूलै विद्यार्थी नेता भएको रहेछ। मिडियातिर टन्नै अन्तर्वाताहरु दिएको फेसबुकमा सेयर गरेको रहेछ। भाइसँगको फोटोहरु टन्नै भेटेँ। म वर्षौँपछि फेरि रुन पुगेँ।
फेसबुकमा फोटोहरु हेर्दै गएँ। ब्वाइफ्रेण्डलाई मैले दिएको गलबन्दी लगाएर खिचेको फोटो त्यसको दाइले हालेको रहेछ। मैले दिएको जाडोमा लगाउने टोपी पनि त्यसले लगाएको रहेछ। मैले दिएको टिसर्ट लगाएको रहेछ। अरु त अरु, मैले एक महिनाको पूरै तलब खर्चेर उसको बर्थडेमा न्युरोडमा किनिदिएको घडी पनि लगाएर फोटो खिचेको रहेछ त्यसको दाइले।
लाजसरम नभएकी केटीले दिएको उपहार लगाएर हिड्न त्यसको दाइलाई किन लाज नलागेको होला? त्यो विद्यार्थी नेता अर्थात् एक्स ब्वाइफ्रेण्डको दाइलाई।