बाहिर झम्झम् पानी परेको छ। गर्मी सिजन भएपनि बाहिरको पानी र कोठाको एसीले शितल महशुस भैरहेको छ। अक्षर चिन्ने बेलाकी मिल्ने साथी भेट्ने हुटहुटी पनि घडीको सुइ चलेसँगै बढिरहेको छ। कक्षा एकदेखि एसएलसीसम्म मेरो उ र उसको म बाहेक हामीले अरु कसैलाई मिल्ने साथीको रुपमा लिएनौं या भनुँ बनाउन आवश्यक ठानेनौँ।
एसएलसी पछि उ उच्च शिक्षाका लागि सहर गई। म भने नजिकैको उच्च माविमा उच्च शिक्षाको लागि तयार भएँ। उसँग छुट्टिएको १२ वर्षपछि प्रत्यक्ष भेट भएको पहिलो पटक हो। बीचबीचमा फोनमा सामान्य सञ्चो विसञ्चो बाहेक अरु कुरा गर्ने अवसर मिलेको थिएन। तर आज उसकै चाहना बमोजिम आजको पूरा दिन एकअर्काका लागि हामीले छुट्याएको भएर पनि मेरा लागि खास थियो।
सामान्य गफगाफमा उ पहिलाकी मेरी साथीभन्दा फरक लाग्थी जो मेरो बाल्यकालकी साथी थिइन्। उ त एक परिपक्व आमा, श्रीमती र बुहारी लाग्थी र कहीलेकाही म उसलाई यही भनेर जिस्काउथीँ। ‘भो, छाड जे पनि टाइममै गरेको राम्रो। अब तेरो बिहेमा मेरा छोराछोरी जन्ती जाने भए। कतै लभ सभ पारिछैनेस् ? छ भने भन म घरमा कुरा गरिदिन्छु। कि बुढी कन्या नै बस्ने मन छ?’ भनेर मलाई जिस्काउथी।
त्यही जिस्काउने र मलाई सल्लाह दिनेवाली साथीभन्दा पनि परिपक्व एक अभिभावकसँग भेट्न आतुर थिए म। पातली उ, मोटाएर झन राम्री भएकी। गाडीबाट झर्नासाथ मलाई देखेर हाइ भन्दै हात हल्लाई। मैले पनि हाइ भनेँ। आफ्नो श्रीमानसँग परिचय गराउदै भनी, ‘मैले कुरा गरिराख्ने स्मृती यही हो।‘
मैले नमस्ते गरेँ। उसले म आज उसकैमा बस्न पनि सक्छु, नभए हजुरलाई फोन गर्छु लिन आइसेला है भन्दै बाई भनी उसले। आएर अंकमाल गर्दै मलाई आवुई यो त जस्ता कि त्यस्तै, झनझन सोह्र वर्षे भैछेस् त। म त हेर् त मोटायर बड्डी भैसके यार, तलाई देख्दा क्या रमाइलो लाग्यो। म आफू पनि तँ जस्तै अल्लारे महशुस भयो यार स्मृती भन्दै उसले आत्मियता देखाई।
जा कस्ती नखरेवाज तँ त, पूरै चेन्ज भैछेस् त भन्दै पुरानै वाला त हो फेभरेट? कि फेभरेट पनि चेन्ज गरिस्? धेरैका त बिहेपछि फेभरेट पनि चेन्ज भएर बुढाको फेभरेट नै आफ्नो पनि फेभरेट भनेर चित्त बुझाउछन रे त। तँ चाहि कुनमा परिस्? भन्दै उसले मिल्क कफी अर्डर गरिँ र भनेँ।
‘सुना यार पूरै आधीघण्टा कुराइस्। यति त मैले ब्याइफ्रेण्डलाई पनि कुरिनँ तर तलाई कुरेँ। कस्तो हिजो त तेरै सपना देखेछु। बिहानदेखि कतिबेला भेटुँ भैराको बाई। के भाहोला अर्काका मान्छेको पनि यति बिधि माया लाउछ त के’ भन्न नभ्याउदै उसले ‘के ब्वइफ्रेण्डलाई नै गफ दिएझै दिइस् त। छोड् बरु सुना के छ एकल जिन्दगीको तेरो मस्त कहानी? सुनेर भएपनि रमाउनु परो यार अब आफ्ना त दिन गए’ भन्दै उसले वातावरण सहज बनाई।
सामान्य आफ्ना बाल्यकाल हुँदै कलेज लाइफ मेरो पत्रकारिता, उसको राजनीति र उसका घरका परिवारका सदस्य, सदस्यका व्यवहार लगायत आइमाई भेट हुँदा गरिने सबै जसो गफ गरिवरि सिध्याउनै आट्दा उसले एउटा मेरा लागि कथा र उसको लागि भोगाइ यसरी सुरु गर्छे।
‘हेर, सबै चिज सोचे जस्तै भेटेँ लाग्छ। म जत्तिको भाग्यमानी कोही छैन। मिहेनती, लगनशील पति, चाहेको काम गर्ने वातावरण भएको परिवार, आफ्नो इच्छा बमोजिमको लवाइ-खवाइ, रहनसहनमा कुनै रोकावट छैन। बरु माइतीमा हुँदा यो गर, यो नगर हुन्थ्यो। तर घरमा आफूलाई ठिक लागेको गर्न कुनै रोकतोक छैन। जिवन सोचेजस्तै चल्दै थियो र छ पनि।
कामको सिलसिलामा हामी बुढाबुढी सहर बस्यौँ। अलिअलि सेटल भएपछि सन्तान प्लानीङ् गर्यौँ र छोरी जन्मायौँ। दुवै खुसी थियौँ। पहिलो सन्तान धुमधाम साथ भातखुवाइ गर्ने प्लानअनुसार धुमधामसँग भात खुवाइ गरिदियौँ। सबै खुसी भए। आफन्त खुसी हुँदा हामी नहुने कुरै भएन। हामी पनि खुसी भयौँ। त्यसै राति निदाएकै बेलामा एक्कासी कामेर यत्रो खुसीमा पनि मलाई नसम्झने भनेर मैले भनेँ। सामान्य अरु कुरा पनि भयो।
के हो? किन हो ? समस्या के हो भनेर तुरुन्तै डाक्टरलाई देखायौँ। तर केही रोग छैन, ठिक छ। कहीलेकाही सम्झेर सुतेको कुरा सपनामा आएको होला भनेर डाक्टरले केही औषधि पनि नदिएर घर पठाइ दिए। तर त्यो समस्या समाधान भएन। दिन महिना, वर्ष हुँदै अहिले ६ वर्ष भयो। हामी दुवै कम्युनिष्ट विचारधाराका मानिस देवी, देवता, भुत प्रेतमा विश्वास हुने कुरै भएन, रोग भनेर धेरै ठाउँ औषधी गरियो तर केही सीप लागेन।
जबजब परिवारमा संकट आउनेवाला छ र पनि जिउमा काम छुटेर यस्तो हुँदैछ भन्ने जानकारी दिने नपत्याएर कयौं पटक बसियो। घरकाले झन् नाटक गरेकी हो भन्न थाले। त्यसपछि जे-जस्तो भए पनि एकअर्का नै साहारा बन्यौँ। र भने अनुसार गर्ने प्रयास गर्यौँ र अलि सहज हुन थाल्यो।
जस्तो कि उस्ले केही कुरा गर्छु भनेर सोच्यो भने त्यो दिन मेरो शरीरमा त्यो शक्ति आउने र तैले यस्तो गर्न लागेछस्, यसरी गर या यो नगर भनेर भन्ने हुन थाल्यो। विस्तारै विश्वास नलागे पनि लागे झैँ गर्न थाल्यौँ। अचम्म त के भने, जस्तो उहाँ बाहिर जानु भो र उसले नगर्नु भनेर भनेको कुनै काम गर्नु भो या त गर्ने सोच्नु भो भने पनि म घरमा बिरामी पर्ने। अनि यदी नगर्नु भनेको काम गरि नै हाल्यो भने उ घरमा नआउने बेला लगातार फोन गर्ने।
घरमा नआएसम्म म बिरामी भैराख्ने। जब घर आउछ अनि बिरामी सञ्चो हुने र फेरि मलाई उसले गरेको कामहरु सबै समय, ठाँउ, गरेको काम, सहभागी सङ्ख्या, सहभागी व्यक्ति लगायत सबै रेकर्ड जसरी भनेर हामीलाई दंग पार्दिने। फेरि नगर भनेको किन गरिस् भनेर स्पष्टिकरण दिनु पर्ने हुन थाल्यो।
अनि सुरुमा त उहाँलाई मैले कोही मान्छे पो थियो र बेलीविस्तार लगाइ पो दियो कि भन्ने हुने रे अनि मलाई केही कुरामा रीस उठेथ्यो र पो मैले यस्तो भनेँ कि भन्ने कुराले पिरोली रहने भयो। यति भैसकेपछि बुढाबुढी एकअर्काले गर्ने काम नभन्ने के रहेछ भनेर सल्लाह गर्यौँ। तर जति समय बित्दै गयो, उति-उति यस्तो प्रकृया बढ्दै गयो। सबै भिडिओ बनाएँ। जसरी सरासर भन्ने कुनै कुरामा कहीं कतै नछुटाएर सोधेको सबै सही सही हुने हुन थाल्यो।
सामान्यतया साथीभाइ बसेर गफगाफ गरेको ठाँउमा शुभ हुँदैन या यो काम म गर्दिनँ या यो परिस्थितिको बारेमा भनेमा घरमा आउने बित्तिकै तैंले जहाँ पायो त्यहीं मेरो बेइज्जत गर्ने भनेर गल्ती गर्ने व्यक्तिलाई सजायस्वरुप उसले नै तोकेर सजाय दिने हुन थाल्यो। एक दिनको कुरा हो, उहाँको साथीहरुसँग पार्टी रहेछ। साथीहरुले ड्रिंक गर्न कर गरेपछि उहाँले मेरी त बुढी कडा छे यार, सिसि क्यामेरा जोडिछे। म त खादिनँ अहिले घर गयो भने कुटाइ खाइन्छ भन्ने बित्तिकै बाबा मामुलाई सञ्चो छैन छिटो आइस्यो भनेर छोरीले फोन गरिछन्।
केही नखाइ घर आउनु भएछ। घर आँउदाखेरी त म बेहोस। बिरामी सिरान गोड्यान छोराछारी रुदै बाबा-बाबा भन्दै कुरेर बसेका रे। उहाँ आउने बित्तिकै तैले बाहिर गएर मेरो बेइज्जत गर्ने, सिसि क्यामरा जोडेर राखेछ भन्ने गल्ती तैले गर्ने, दोष अरुलाई दिने भनेर उहाँलाई मैले कुटेछु। यसरी कुटेछु कि उहाँलाई म अब बाच्दिनँ लागेको रे। तर जब म सामान्य भएँ, उहाँलाई दुखाइ पनि रहेन बरु लाजले भुतुक्क हुनु भो, माफ माग्नु भो।
यसरी समयको रफ्तारमै जिन्दगी चलीरहेकै थियो। मलाई त जिउमा शक्ति आउने बेलासम्म मात्र हो, नभए त ह्या के केटाकेटी खेलेजस्तो कुरा होला। मलाई चित्त नबुझे मजाले झगडा गर्न पाए पनि हुने भनेजस्तो सामान्य लाग्ने। घरका अकल्पनीय दुखान्त घटना होस् या त राम्रो काम हुन लागेको कुरा, स्पष्टसँग पहिला नै त्यही स्वरुपमा आएर भनिवरी जान्छ भन्या।
कति कुरा मलाई बेलि-विस्तार नाम, ठेगाना उसको परिवार, अवस्था, उदेश्य सबै थाहा हुन्छ तर भन्न मन कहिल्यै लाग्दैन। बरु कसैले नभनेस् है भनेको कुरा भनिएला तर त्यो कुरा भनेर झगडा गर्छु सोचे पनि कुनै हालतमा आउदैन। बरु मनमनै तलाई सचेत गराएको हो तर झगडा गर्नलाई होइन भन्ने सोचाइँ आउछ। सबैले कुल देवता हुन् भन्छन् तर के हुन्? अहिलेसम्म मलाई यही हुन् भन्ने थाहा छैन तर आफूलाई भने अनुसार गर्दा सोचेजस्तो पुग्छ भने गरिदिउ न त भनेर म त गरिदिन्छु।
धेरै पटक घरमा बाबु र बाबुको बाबा लामो समय बिरामी पर्नु भयो भने अस्पताल अनुसार फरक -फरक रोग र औषधी दिन्छन तर साह्रै दुःख दिएर आफै शक्ति आएर कुन गल्तीको लागि सजाय हो? कति दिनमा सञ्चो हुन्छ सबै आफै सर्सती भनेर बाटो लगाइवरि जान्छन्। घरका अग्रजहरुले कुल देवताको थान जाने भनेर थान पनि गएँ।
त्यहाँ पनि यहाँ जे भन्थ्यो, त्यही भने घरका सबैले विश्वास मान्न थाले तर आफैलाई शक्ति आउने भएर हो कि, किन हो? खै, भनेको सबै गर्छु तर यही हो भनेर विश्वास गर्न सकेकी छैन।’
‘हेर् गफ यस्तै हुन्, उहाँ लिन आउनु भारैछ घर। नानुबाबु मानेनन् रे म्यासेज गर्नु भारैछ। ल बाई। म अहिलेलाई गएँ, पछि फेरि भेट्नु पर्छ ल’ भन्दै उ गइ।
पत्रकारिताको यो दौडानमा धेरै कुराको विष्लेषण गरियो, आफ्ना विचार राखियो, यो सही यो गलत भनेर धेरै समाचार लेखियो तर यसको बारेमा के लेखुँ केही मेसो पाएकी छैन र सोच्छु हरेक पटक उसलाई सम्झिनुभन्दा पहिला र सम्झिसकेपछि। पहिला उ मिल्ने साथी थिई, अहिले उसका भोगाई मेरा मिल्ने साथी भएका छन्।
एक पटक भए ल काही कतै झटारो लाग्यो होला तर पटक-पटक त सम्भावना छैन। यही कुराले आजभोलि बेचैन छु। सोच्दै छु, यदि दैवि शक्ति हुन्न भने यो के हो? कसैले मेरो प्रश्नको जवाफ देला?