प्रकृतिले उमारिदिएको मेरो पखेटा
तिमीले काटिदिएका हौ
र जबरजस्ती पिँजडामा कोचेका हौ
मलाई कुनै आशक्ति थिएन तिमीसँग जोडिन
न त कुनै सन्तुष्टि,
उन्मुक्त प्रकृतिको विचरणमा
म रमाइरहँदा पासोमा पार्यौ
मेरो भाषा, मेरो संस्कार, तिमीले तोडिदियौ
र लाद्यौ जबरजस्ती मभित्र तिम्रो दर्शन।
तिम्रा सिद्धान्तका ठेली घोक्दा घोक्दा
मैले मेरो पहिचान बिर्सेँ,
तिमीले तौली तौली खटाएर दिएको
जुठो पुरोले मैले आफ्नो कर्म बिर्सेँ।
इच्छाको त के कुरा? मेरै आँखा अगाडि
मजस्तै मेरा प्रजातिको निर्मम हत्या हुँदा
मैले हाँस्ने कि रुने? प्रतिकार गर्ने कि खुसी मनाउने?
सम्झिँदा सम्झिँदै बिर्सेँ दुई थोपा आँसु
तिम्रा अगाडि झार्ने कि लुकाउने?
तिमीले भन्ने गथ्यौँ, समय बलवान् छ,
एक दिन हाम्रो जित हुनेछ,
मैले पनि दिग्विजयी हुने आशामा
उरालिरहेँ तिम्रो नारा, जस्ताको तस्तै
उही जोशमा, उही हाउभाउमा,
पखेटा फट्फटाएर, पञ्जा उठाएर।
चिच्याइरहेँ पछि पछि,
पिँजडा तोडिने झिनो आशा लिएर
समय बलवान् छ, एक दिन अवश्य हाम्रो जीत हुनेछ।
मैले तिमीसँग कहिल्यै तनखा मागिनँ,
मैले तिमीसँग कहिले सम्मान मागिनँ,
अनि मागिनँ प्राणको भिक्षा।
तिम्रा मतियारहरुले हतियार चलाएको निर्निमेश हेरिरहेँ,
र युद्धको नाममा विध्वंश मच्चाएको समयको एक प्रत्यक्षदर्शी बनेँ।
तिमीले मुठ्ठी उठाऊ भन्यौ
मैले मुठ्ठी उठाएँ,
तिमीले बन्दुक समात भन्यौ,
मैले बन्दुक समाएँ,
तिमीले पड्काउन आदेश दियौ,
मैले आँखा चिम्लेर पड्काएँ,
तर जब आँखा खोलेँ, मेरो अगाडि मैले
मैजस्ता स्वतन्त्र उडान भर्नेहरु
रगतपच्छे भएर निसश्वास लडिरहेको पाएँ।
दुस्मन म थिइनँ, तिमीले बनायौ
बिद्रोही म थिइनँ, तिमीले बनायौ,
आकांक्षी म थिइनँ, तिमीले भ्रम छरिदियौ,
मेरो निर्दोषपनमा विद्वेषको आगो सल्काएर
ए मान्छे किन मलाई घरको न घाटको बनायौ?