यौवन फक्रन नपाउँदै आमा बनेकी
अनि वर्षै पिच्छे कोख फुटाएकी मेरी आमा
कहिल्यै लागिनन् कुरूप मलाई,
श्रृङ्गगार सामग्री देख्दै नदेखेको
उनको मुहारमा सधैं चम्किरह्यो
बात्सल्यको एउटा अनन्त आभा
अनि ममताको अद्भुत सौन्दर्य
दिनरातको ढिकीजाँतो र
घाँस दाउराको रापले पिल्सिएर
चिरा चिरा परेका उनका हत्केला
कहिल्यै खस्रा लागेनन् मलाई
बरु महशुस गरिरहेँ ती हातमा हरदम
मातृत्वको न्यानो सुरम्य स्पर्श
आमा बन्दाबन्दै हजुर आमा जस्ती देखिएकी
उमेरले यौवना मेरी आमा
कहिल्यै बुढी लागिनन् मेरा बा लाई,
धेरै नबोलेरै पनि
स्वीकारी रहें मौनतामै
उनको निश्चल र निस्वार्थ माया
र रहिरहे हरदम वरिपरि
दिएर एउटा दरिलो साथ
तर
नारी सौन्दर्य हेर्ने चस्मा
फेरेछौं हामीले शायद आज
त्यसैले त
आजका आधुनिक नारी
तपाईं हाम्रै पत्नी र दिदी बहिनीहरू
खोजिरहन्छन् सौन्दर्यको अर्थ
महँगा क्रिम, पाउडर र लालीहरूमा
अनि धाइरहन्छन् सहर र बजारका गल्ली गल्लीमा
सौन्दर्यका नकाब बेच्न बसेका
सौन्दर्य प्रसाधन केन्द्रहरूमा