लामो, फुक्क फुलेको पुच्छर
ठाडा-ठाडा कानहरु
उस्तै सुन्दर ठूला-ठूला आँखाहरु
गोला र चनाखा
चिप्किएका पन्जाहरु
छरितो र सिर्लिक्क परेको शरीर
खैरो भुवाहरुमा सजिएको
प्रकृतिको अनुपम सृजना
त्यो न्याउरी!
बन्दाबन्दीको मेरो साथी।
स्वतन्त्र, निस्फिक्री!
मेरो कोठा बाहिरको बरण्डामा
चिँ-चिँ गर्दै प्रत्येक बिहान
मलाई उठाउन आउँथ्यो साथीहरू लिएर
म झ्यालबाट बाचाल भै
तिनीहरुको चाल नियालिरहन्थेँ-
चुच्चो मुखहरु जोडेर कुरा गरेको
खाना खोजिरहेको, खेलिरहेको।
उनीहरुको सुखी संसार देखेर
मेरो विरक्त मन लोभिन्थ्यो ।
हो, अहिले मान्छेको संसार उझाडिएको छ
कोभिड-१९ को महामारीले
अनिश्चितताको डर र त्रासले
गुमेका जागिरहरुले
डुब्दै गरेका व्यापार व्यवसायहरुले
चुड्दै गरेका जिन्दगीहरुले।
कति खुसी जीवन त्यो न्याउरीको!
पीडाहरु मुक्त
मलाई एकाएक न्याउरी बन्न मन लाग्यो!
एकाबिहानै
बरण्डाबाट आएको च्याँ-च्याँ
भय मिश्रित आवाजले मलाई तर्सायो।
जुरुक्क उठेर झ्यालमा पुगेँ
अनि देखेँ एउटा सुन्दर बाज
घुम्रिएको ठोड, छिर्के-मिर्के शरीर,
शिकारी पन्जामा च्यापिएको न्याउरी!
हतास मन लिएर हत्तपत्त बाहिर निस्केँ
उसको जीवन बचाउँन
तर बाज न्याउरीलाई पन्जा मै लिएर भुर्र उड्यो।
उसका साथीहरू लामो समयसम्म
बिलौना गरिरहे, म स्तब्ध भैरहेँ।
अनि सोचेँ के सबै प्राणीहरुको जीवन
उस्तै हैन र?
सुख, दु:ख, खुसी, बिपत्ति, जन्म, मृत्यु
सबै प्राणीहरुका साझा अनुभव हैनन् र?