कविता
असारैको पन्ध्र रिमझिम झरी खेत भरियो।
अँध्यारैमा जागी झटपट उठी ठिक्क परियो।।
कुलो छेकी आली थुनिकन छिटै आउनु भनी।
बुबाका आज्ञाले म पनि त हिंडें फुर्फुर बनी।।१।।
फुकाओ गोरू लौ, अब त हिडओ बेर नगरी।
जुटाओ रोपाहार् नमल सुरती बस्दछ झरी।
ठुली-कान्छी च्यूरा भर र कुटुरो बाँध र झर।
दही ठेकी बोकी म बरू हिँडुला तर्खर गर।।२।।
भनी बाले उर्दी गरिकन सबै खेत झरियो।
जुटे सात् हल् गोरू तल बगरमा जोत्न परि गो।।
सिँदुरेले भाँच्यो पटपट जुवा हेर दगुर्यो।
उता फाली फुत्क्यो अनि हरिसको ठेटि नि झर्यो।।३।।
पसे एक् हल् गोरू चरचर चरे व्याड हरियो।
धपा केटा! झट्टै टुलुटुलु अझै हेर्छ कति यो?
भनी बाले भन्दा थरथर भएँ खेद्न कसिएँ।
कसो तिन्का सिङ्मा उनिइन बरै धन्य बचियो।।४।।
उपल्लारे कान्छी नरुझ त्यसरी ब्याडमा पस।
ठुला'रेकी सेती छुपुछुपु बिऊ रोप न बस।।
सुपाखोले जेठा हलबल गरी खुर्क त कुना।
साना केटा! तैंले अलिकति पीरो अम्चुर बना ।।५।।
बुहारी नौलीको लखटि-लखटी हुर्मत लिए।
हिलो छ्यापाछ्यापी खितितिति गरे मख्ख म थिएँ।।
मलाई के छोड्थे लथपथ गरे टाँक चुँडियो।
यसै हल्लीखल्ली गरिकन सबै काम पनि भो।।६।।
सबै गोरू फोई खललल हिलो साफ गरियो।
हलो जूवा बोकी लुरुलुरू सबै गाउँ झरियो।।
असारे भाकामा मधुर सुनिए नृत्य पनि भो।
अहो! मानो रोपी अब त सकियो दङ्ग परियो।।७।।