कविता
फर्किएर जाऊँ जस्तो लाग्छ हिजोआज
बालापन रमाएका दिनहरू माझ
न त थियो सोच्नुपर्ने न त खोज्नुपर्ने
मुस्कुराउन कुनै एउटा पाटो रोज्नुपर्ने।
सुस्त-सुस्त पुतलीका पछि-पछि लागि
जति उड्छ भुर्रभुर्र त्यसकै पछि भागी
बल्लतल्ल समाएर रमाउँदै हेरी
मुस्कुराउने दिनहरू आउलान् कहिले फेरि?
फुर्किएर, फुर्तिएर नयाँ नाना लाई
वरपर देखाउँदै सबै साथीलाई
सबैभन्दा ठूलो भएँ जस्तो लाग्ने गरी
देखाउँदै हिँड्ने दिन आउलान् कहिले फेरि?
थाङ्ग्राबाटै कांकरीलाई फुत्त चुडाएर
नाङ्लो भेटे नाङ्लै सही गुर्र गुडाएर
झर्को लाउँदा माताजीको मुहारलाई हेरी
मुस्कुराउँदै भाग्ने दिन कहिले आउलान् फेरि?
बलेसीका पानी मुनि भिज्दै रमाएर
थुर्थुर थुर्थुर थुर्थुर थुर्थुर शरीर कमाएर
रिसाएका नयनमा छड्के आँखा हेरी
अँगालोमा लुक्ने दिन कहिले आउलान् फेरि?
नयाँ मोजा पिताजीको काटीकुटी पारि
धुजाधुजा पारिकन माताजीको सारी
बनाउँदै गोलो गोलो उफारेर हेरी
रमाउँदै खेल्ने दिन कहिले आउलान् फेरि?
कहिले वल्लो घर कहिले पल्लो घर गरी
कहिले हाँगामाथि कहिले कान्ला मुनि झरि
साथीसंगीसँग खेल्ने दिन कहाँ गए?
हेर्दा हेर्दै तिनै दिन आज नौला भए।
बालापन जिन्दगीको रहेछ पीच बाटो
न त चिसो हुने धेरै न त हुने तातो
न त हुने खाल्डाखुल्डी न त मर्किएको
नथेगिने बोझ बोकी हिँडदा चर्किएको।
ऐना हेरे जस्तै लाग्छ हेर्दा छोराछोरी
आफ्नै बालापन चोरी घुम्छन् वरिपरि
न त केही सोच्नुपर्ने न त खोज्नुपर्ने
मुस्कुराउन कुनै एउटा पाटो रोज्नुपर्ने।