कविता
मेला गएर फर्कंदा
पोल्टोमा बचेको अलिकति सामल
अँगेनामा भुट्दै हुनुहुन्थ्यो आमा
पड्किएर उछिट्टिँदै मझेरीभरि फैलियो लट्टे
घान निकाल्दा
एक दाना रहेन हाँडीमा।
हामी दिदीभाइ
लट्टेका सेता दाना टिप्दै खान थाल्यौं।
अचानक पानी पर्यो
झुप्रो चुहिएर पानीले निथ्रुक्कै भिजें म !
अहो !
सपना टुटिहाल्यो।
कामबाट निकालिएपछि
परदेशका सडक किनारहरू
आकाश देखाउँदै मस्त निद्रा दिन्छन् मलाई।
बुवाले छाउन नसकेको
झुप्राको छानाबाट झर्ने झरीजस्तै
यहाँको आकाशबाट झरिरहेछ पानी!
आमाले लिपेको मझेरीजस्तै छ, आकाश
लट्टेका दानाजस्तै छरिएका छन्, ताराहरू
लट्टे, टिपेर खाइरहन्थे
तर तारा, न टिप्न सक्छु, न खान नै
नत, बुवाले केराको पात काटेर झुप्रो टालेजस्तै
आकाश टालेर ओताउन सक्छु, आफूलाई।
यस्तो लाग्दै छ
भोक लागेपछि बच्चा बनिँदो रहेछ ... ।।