उसकी आमा उसलाई हाईस्कूल पनि आफ्नो गाउँमा नभएको हुँदा टाढाको स्कूलमा लगेर भर्ना गरी डेरामा राख्न बाध्य भएकी थिइन्। उनका लागि त्यही छोरा सर्वस्व थियो।
आफूलाई पढ्ने चाह हुँदाहँदै पनि पढ्न नदिइ सानैमा विवाह गरेर डाँडा कटाएको तत्कालीन समाज र परिवारप्रति रुष्ट थिइन्। त्यसैले पनि छोराको पढाइका लागि उनी जुनसुकै मूल्य चुकाउन पछि परिनन्। हप्तैपिच्छे खर्च बोकेर छोरालाई पुर्याउन जानु उनको जीवनको साप्ताहिक कार्य थियो। तर त्यसमा उनी आफूलाई अहोभाग्य ठान्थिन्। जसोतसो स्कूल उतारिन् र साइन्स पढ्ने योग्यता राख्ने छोरालाई त्यही पढाएर प्रमाण पत्र तह पनि उतारिन्।
हसिलो मुहार भएको त्यो छोरालाई अब आफूले केही काम गरेर परिवारमा टेवा पुर्याउनुपर्छ भन्ने भावनाले छोप्यो वा थप योग्यता हासिल गर्न टाढाटाढा जानुपर्ने झन्झटले प्रश्रय पायो। उसले जागिरको सुरसार सुरु गर्यो।
समय बित्दै गयो हसिलो मिजासिलो व्यक्ति प्रेमको चक्करमा परेर कुनै स्कूलकी शिक्षिका लिएर हिँड्यो। हिँड्यो मात्र होइन बेपत्ता भयो। यता आमाको बेहाल हुन थाल्यो। कुनै ज्योतिषी रहेनन् उनले छोराको चिना लिएर देखाउन बाँकी। कुनै चिनेका मान्छे बाँकी रहेनन् छोराको खोजखबरीका लागि। कुनै नदीका तिर बाँकी रहेनन् खोज्नका लागि। कुनै डाँडापाखा भीरपहरा बाँकी रहेनन् हाडखोड बाँकी छ कि, कतै हत्या वा आत्महत्या पो भयो कि भनेर।
केटी मात्र होइन, भएभरका गरगहना र नगद सम्पत्ति लिएर भागेको आरोप लगाउनमै मस्त थिए केटीका परिवार र आफन्तजन। छोरो मत्याएर पालेकी भन्ने आरोप लगाउनेको पनि कमी थिएन। आफूलाई छोरो जिउँदो छ कि छैन भन्ने चिन्ताले बचेरा चोरी भएकी परेवीको जस्तो अवस्थाले दिनको दृश्य न रातको निद्रा भइरहेको छ।
दिन बिते, हप्ता बिते, महिना, वर्ष बिते, दुई वर्ष, चार वर्ष, १०, २० वर्ष बितिसके, अहँ! छोराको चिनुखुट केही पत्ता लागेन। बाघद्वारा लखेटिएको हरिणझैँ चिन्ताद्वारा लखेटिएकी लखेटिएकै छन्। आशाको त्यान्द्रो कतै फेला पर्दैन। जतासुकैबाट निराशाका सूचना मात्र आइरहन्छन्।
बुढ्यौली लागिसक्यो। उसलाई देखेर मर्न पाए हुन्थ्यो भनिरहन्थिन्। घरमै बसेर त्यो जिउँदै छ होला त? भन्दै शंकालु मनलाई बलजस्ती थिच्दै र बिरालोले मुसो खेलाउँदै मारेझैँ छोरा भेट्ने इच्छालाई खेलाउँदै मार्दै दिन काट्नु उनको दिनचर्या भयो। यसरी नै चिन्तैचिन्ताले उनलाई छिट्टै मधुमेहले छोयो। स्मरणशक्ति हराउँदै गयो। डिमेन्सिया भयो।
के गर्दै छु? के गर्नुपर्छ? भन्ने छ्यानपहिचान हराउँदै गयो। अन्तमा अल्जाइमर्सले पूर्णरुपेण छोप्यो। शरीर धरमराउन थाल्यो। सिथिलता बढ्दै गयो। आफूलाई अहिलेसम्म पलपलमा साथ दिँदै आउने र पाल्ने छोरोलाई कहिलेकता चिनेँ भन्नुबाहेक नातिनातिना, बुहारी इष्टमित्र सबै को हो? अहँ, थाहा छैन।
यस्तै समयमा उही हराएको छोरो आइपुग्यो, तीस वर्षपछि। आमालाई देख्यो, आँखाभरि आँसु पारेर ढोग्यो। अनि उठेर आमा भनेर बोलायो। कुनै प्रतिक्रिया छैन। त्यसपछि बाध्य भएर मलाई चिन्नुभयो भनेर सोध्यो। आमाले अँ चिनेँ भनिन्। चिनेँ भनेर कुनै प्रतिक्रिया नदेखाउने आमा देखेर उ अचम्मित भयो।
'बाबु, आमा सन्चै हुनुहुन्छ?' आमाले सोधिन्। छोरो अकमक्क पर्यो। सोध्न बाध्य भयो उ अनि सोध्यो- 'म को हुँ र?'
आमाले भनिन्- 'तल्ला गाउँकी कान्छीको छोरो हौ नि, म चिन्दिनँ र? सधैँ भेट्न आइरहन्छौ। आमा सन्चै छन्?'
उसले आँखा हेरेर पनि केही देख्न सकेन। आफूले आमालाई भेटे पनि आमाले आफूलाई देख्न पाइनन्, आँखै अगाडि भएर पनि। पछुताउँदै अवाक् भएर आमालाई हेरिरह्यो, हेरिरह्यो एकटक।