बन्दाबन्दीको समय छ। काठमान्डुको एउटा कोठामा एकान्तबास बसेर पुराना सम्झनाका कोठै कोठा चहार्दै जाँदा यादहरुको पनि हजुरबाउ स्तरको याद भए ठाउँमा पुग्छु म।
ओखलढुङ्गाको एउटा गाउँमा रहेका मेरै हजुरबासँगको सम्झनामा पुग्छु। सपेती पारेर लगाएको सुकिला दौरा सुरुवाल, स्टकोट, गलबन्दी र ढाकाटोपी। गहुँगोरो वर्ण, होचो-होचो कद, टम्म मिलेका नक्कली दाँतमा सजिएको बुढ्यौली नै हजुरबाको हुलिया हो। म हजुरबालाई बा भन्ने गर्छु। बासँगको सम्झनाको कुलै कुलो बग्दै जान्छु। कुलोबाट खोलामा पुग्छु।
'उहिले सिम्लेखोलामा कुलामा पानी फर्काउन जाँदा राति १२ बजे त्यो घट्टावारि मूल बाटैबाटो अघि-अघि सेतो घोडा चढेर मुर्कुट्टो हिँड्यो। मेरो पालो पछि-पछि लखेट्दै गएँ, दोबाटो आएपछि त्यो उता लाग्यो म यता लागेँ।'
'अँ बुढा, होइन होला।'
'के का नहुनु?'
'मरिजाम हो त?'
'हो भन्छु म।'
सुन्दा सुन्दै मलाई बादेखि नै डर लाग्थ्यो। बाले भुतका तर्साउनेका कुरा गरेदेखि नै मलाई रातको डर लाग्न थालेको हो। साँझ परेपछि पिसाब फेर्न जाँदा नि हजुरआमालाई साथी लानु परेको हो।
'उहिले हामी निङ्गालाको ढुङग्रीको कलम र सिमीको हरियो पातको मसी बनाएर राति ढोड बाल्दै मास्टर बुढासँग क, ख.. सिक्थिम' भनेर सुनाउने हजुरबाले नै मलाई सबैभन्दा पहिला क, ख पढ्न सिकाए। ममीले लेख्न सिकाउनु भयो। मलाई लेख्न सिकाउनु अघि आफूले पढ्न लेख्न सिक्दाको ममीको आफ्नै कहानी छ।
परदेशबाट बुवाले पठाउनुभएको चिठी पढ्ने मान्छे नभेटेर एक हप्ता यत्तिकै पोल्टामा बाकेर हिँड्नुभको थियो रे। त्यसैको दुःखले बाख्रा हेर्न, घाँस काट्न जाँदा शनिबार सगैँ गएका गाउँका देवरहरुलाई भनेर उनिहरुले हातभरी लेखेर लगेर 'क भन भाउजु, ख भन भाउजु' भन्दै सिकाउँथे रे।
क ख चिनेपछि डोकाको पिँधमा 'ठूलो वर्णमाला' किताब लुकाएर घाँस काट्न गएको बेला सिकेको भन्नु हुन्थ्यो। ती काकाहरुप्रति कृतज्ञ हुनुहुन्थ्यो। मैले थाहा पाउँदा ममी बुवालाई आफैँ चिठी लेखेर पठाउनु हुन्थ्यो। मैले थाहा नपाउँदैदेखि परदेशी हुनुभको बुवा म १२ कक्षा पढ्ने भएपछि घरमा बस्न थाल्नु भयो। त्यसैले हजुरबा नै हाम्रा बा भए, हजुरबा रहे।
'दिनकै स्कूल गए उ हुन्छ, के जाति एक तह उभोँ गइन्छ' भन्दै दुई पट्टी कपाल बाटेर बाले स्कूल पठाउँथे मलाई। फ्रकको मुजा बिग्रेछ भन्दै मिलाएर लगाइदिन्थे, जस्तो उनका अनुहारका मुजा मिलेका देख्थेँ म। बाले स्कूल पठाउँदा म विद्यार्थी थिएँ, अहिले शिक्षक भएर अरुका बाले पठाएका विद्यार्थीलाई सिकाउने काम गर्छु।
'बा, म पनि तिमी सगैँ जान्छु न।'
'तँ घरमै खेलेर बस किन जानु?'
'तिमी गाइ बाख्रा हेर, म तिमीले गाइबाख्रा हेरेको हेर्छु।'
'लु हिँड छाता बोकेर, मरेकी भुत।'
चैत वैशाखको बाँझो सिमखेतमा गाइवस्तु छोडेर बा मसँग जोर कि बिजोर खेल्थे। मसिना ढुङ्गा टिपेर एउटा मुठीमा जोर र अर्कोमा बिजोर राखेर कुन हातमा जोर र कुनमा बिजोर छ चिन्न लगाउँथे। तिनै जोर कि बिजोर खेल्न ढुङ्गा बटुलेका हातले अहिले म विद्यार्थीलाई 'अड र इभन नम्बर' सिकाउने गर्छु।
'मुनौरी! लु जा, पर कुवामा गएर कर्कलाको पातमा एक खोचो (दुनो आकारको) पानी ले।'
बा धुर्सुलको पात तानेर खोचो बनाएर देखाउँथे। ठूलो कर्कलाको पात छानेर एक खोचो पानी लिएर बा भए ठाउँमा पुग्दा एक घुट्की बाँकी रहन्थ्यो। त्यही पनि खान खोज्दा चिप्लेर आधा मुख बाहिर पर्थ्यो।
'बा अघायौ?'
'अँ। भयो।'
'अलि खान्छौ कि? सोच त।'
'भो हुन्दे कति हिँडछेस्'
पानीमा भिजेपछि ढाडिन्छेस भनेर पानी खेल्न नदिने बाको मायाले भने सधैँ भिजाइरह्यो। उनलाई पानी ल्याएर खुवाएको सम्झनाले अहिले मलाई शितल बनाउँछ। बाले मेरी नातिनीको नाम काही नभाको राम्रो राख्छु भनेर मुनाहरी राख्दिएका रे।
बुढाले उँट नै बनाएछन् नि। बाले राखेको नाम भनेर मलाई नि परिवर्तन गर्न मन लागेन तर अहिले बेला-बेला हरिलाई पेटमा राखेर मुखले मुना मात्रै भन्ने गर्छु।
'बा हाम्रो गट्टा खोई? चुङ्गी कहाँ राख्दियौ?'
'खेलेसी जतनले एक ठाउँमा राख्नु छैन मरेका भुतहरु। बाहिर दलान माथि खोपामा छ, खाटको गुन्द्रिमुनि छ। आमाले भेटेर आफाल्देली भनेर मैले राख्दिरछु।'
भाइ, बहिनी र मैले खेल्ने कुराको सधैँ जतन गरिदिन्थे बाले। ती कुनै मूल्य परेका हुँदैनथे तर हाम्रो मेहनत परेको हुनाले हाम्रो लागि अमूल्य थिए। गट्टा, चुङ्गी, बाँसको पँटेसको हवाइजहाज, काठको घुर्रा, गुच्चा यस्तै थिए हामीले खेल्ने कुराहरु।
त्यो बेला खेल्दाको रमाइलो ठ्याक्कै यस्तै भनेर अहिले अनुभूती गर्न त सक्दिन तर खेल्ने कुरा जतन गरिदिँदाको खुशी चाहिँ गरेर राखेकी छु त्यसैले म मेरा विद्यार्थीका खेल्ने कुरा उनीहरुलाई नै जतन गर्न लगाउँछु र कुनै कारण देखाएर जफत गर्दिन। विद्यार्थीले पनि मलाई बेलाबेला 'हजुरबा' बनाउँछन र भन्छन्-
'मिस, उ माथि अफिसको झ्यालबाट छिरेर बाहिर आउनु न। हामी यहाँबाट उ त्यहाँ, उ त्यहाँ भनेर देखाउँछौँ अनि हाम्रो चुङगी झारिदिनु है।'
जीवनको कालखण्ड सगैँ यसले महत्व दिने कुरा पनि फेरिँदै जान्छन। समय सँगै फेरो लाउन जानेका मेरा हजुरबाको भूमिकाले आज हामी नाति नातिनी पुस्तालाई खुशीले फेरो लाईरहेको छ। परिवारमा बा, आमा, बुवा, ममी र हामी नाति-नातिनीले हाम्रो घर पूर्ण छ।
म शिक्षा, बहिनी स्वास्थ्य र भाइ कृषि क्षेत्रमा काम गर्छौँ। साना दुईटा भाइ स्कूल पढ्दैछन। 'दुईटी नातिनी एउटा नाति ठिक्क भो मलाई पुग्यो, अब नपाओ भन्छु म कान्छा कान्छिलाई' भन्थे बा। बालाई पुगेपछि पनि 'भगवानले दिएको कुरा हात थापेर पाएका' कान्छा कान्छिका दुईटा छोराले घर रमाइलो बनाएका छन्।
म घर ग’को दिन सानोले भन्छ- 'दिदी म आज तपाईसँग सुत्छु ल। छेउ पट्टी कि भित्तापट्टी भन्नु त। नाइँ बाइ हुन्दिनु, छेउमा सुतेँ भने त म गुल्टिन्छु। भोलि तपाई र म लाप्पा खेल्ने ल।'
'बाले मलाई घाँस काट्न रहर गर्छे भनेर सानो चुटुक्क परेको डोकी बनिदिएका थिए। म साथिहरुसँग घाँस काट्न हिँड्न पाउँदा एक डोको खुशी हुन्थेँ। जुन परिवेशमा छोरी मान्छेलाई पढायो भने बिग्रिन्छन, यी अर्काको घर जाने जात हुन, तह लगाएर काम लगाउनु पर्छ भन्ने बुझाइ थियो, त्यही ठाउँको एउटा सामान्य किसान परिवारले म छोरीलाई सधैँ पढ्नमा प्रेरित गरिरह्यो।
छोरीलाई पढाएरै सक्षम बनाउनु पर्छ भन्ने एक्लो चेत कहाँबाट छिर्यो होला हाम्रो घरमा? म चार/पाँच कक्षामा पढ्दा एक बजेपछिको क्लासमा कोही बेला केटीमा एक्लै पनि पर्थेँ। खाजा खाने छुट्टीमा भागेर घर गएपनि मलाई स्कूलतिरै फर्काइदिन्थे बाले। उनलाई नातिनीले राम्रो पढ्छे भन्ने विश्वास थियो।
त्यो मेरो क्षमता माथिको विश्वासभन्दा पनि बाको विश्वास माथिको विश्वास थियो। घरमा दशैँ तिहार आफैँ आउँथ्यो तर दशैँ तिहारको रमाइलो बाले दलानमा पिङ हालेर ल्याइदिन्थे। हामी सगैँ दशैँ तिहारको खुशी पनि पिङ खेल्थ्यो।
'मुनौरी! उठ बा। उज्यालो भो, हिँड्नुपर्छ अब नत्र साथी छुट्छन्। बेलैमा नहिँडे फेरि भरे मन्थली बास बस्न पुगिदैन।'
'ला, यो हर्बल चुस्दै जा।'
'यो नरिवलको टुक्रो पनि गोजीमा हाल।'
'काठमान्डुको ठाउँ डर लाग्दो हुन्छ, तँ कहिले ग’की छैनस्, सबै कुरामा ख्याल गर्नु।'
'आउने जाने मान्छेका हात चिठी पठाउनु।'
'राम्रो मति लिएर पढ्नु, ११/१२ सकेपछि नजालिस बरु। अहिले यता पढ्ने क्याम्पस छैन। तेरै लागि हो बा, नराम्रो नमानी जा।'
म केही नबोली अघि-अघि हिँडिरहेँ। त्यो गाउँबाट प्लस टु पढ्नको लागि टाढा हिँड्ने छोरी सायद म नै पहिलो थिएँ कि जस्तो लाग्छ।
'लु जाउ बाबा, म यहिँबाट फर्किन्छु।'
बिरौटे चउरबाट फर्किन्छु भनेका बालाई एकचोटी फर्केर नहेरी सिम्लेखोला तरेँ। अलि माथि पुगेर हेर्दा बा अलि वरतिर डाँडामा आएर बसेका रहेछन्। सायद बाँस झाँङले मलाई छेकेर यता आएका होलान्। म जति अघि जान्छु बा उति मधुरो हुँदै गए। मैले पनि डाँडो काटेँ।
त्रिवि कीर्तिपुरबाट स्नातकोत्तर सकिन लाग्दा काठमाडौँ जिल्लाबाट शिक्षक सेवा आयोगमा नाम निस्क्यो। गोरखापत्रमा आफ्नो सगैँ हजुरबाको पनि नाम देख्दा खुशी भएकी थिएँ म। ममीको नाम पनि हुनु पर्ने थियो भन्ने पनि लाग्यो। एसएलसी पास भएपछि उच्च शिक्षाको लागि काठमाडौँ हिँडेकी मलाई पुर्याउन बिरौटे चउरसम्म पुग्ने बा अहिले पनि म घरबाट हिँड्ने दिन बिहानै तर्खर गर्दै उठ्छन्।
'अलि सानो टिका लाईदे आमोइ, पैतो ला’को राम्रो देखिँदैन।'
नातिनी राम्री जो देखिनु परेको छ बालाई।
'अझै राम्रो गर्दै जानु, हाम्रो मुख हेरेर हुँदैन। आफ्नो भविष्य बनाउनु पर्छ। हामी त डाँडा माथिका घाम। हजुरआमा नि ऐया आत्थो गरिराख्छे, कुन दिन मरिन्छ, उमेर पनि भयो अब।'
'तिमीले भनेर हुन्छ बुढा? तिमलाई कल्ले मर्न दिन्छ?'
'एकछिन बस न, झोला बोकेर नउभिइ। गाडिl यहिँ अगाडि आइहाल्छ।'
'आउ न त तिमी र म फोटो खिचेर बसुम्।'
'बा! म हिँडे है, भरे पुगेर फोन गर्छु। नराम्रो नमान न बुढा। छ/सात घण्टाको बाटो त हो नि। तीन दिन बिदा भए नि खुर्र आम्ला क्या।' पछिल्ला वर्षहरुमा हिँडने बेलाको यहि संवादले निरन्तरता पाइरहेको छ।
घरबाट हिँड्ने बेला मन भारी भएपनि मुखले ठाडो बोली बोल्दै हिँड्छु ताकी घरकालाई आनन्दले गई ठडेउरी भनेर म नफर्किन्जेल त्यही हाँसेको अनुहार र बोली सम्झेर सन्तोष होस्। गाडीमा खुट्टा हाल्नु अघि यसो घरतिर हेर्दा बा निधार माथि हात राखेर म तिर हेरिराखेका हुन्छन्। म हाँस्दै हिँड्छु।
मलाई खुशी लाग्छ किनकी हाम्रो संघार उज्यालो छ। हरेक उज्यालो सगैँ हाम्रो घरको अर्को घाम पनि बाहिर भित्र गरिरहन्छ।
'बा... बुढा... तिमी...' एउटी नातिनीको असोमती पारा? मलाई थाहा छ बा, तिमीले राम्रो बोल्नु पर्छ भनेर सिकाउँथ्यौ र स्वभावले पनि म त्यति तुच्छ खालकी छैन। हजुरबालाई 'तिमी' भन्नु झन् राम्रो मति हैन। यसले संस्कारको शोभालाई भत्काइदिन्छ। त्यसैले भाइबहिनीलाई तपाई भन्न सिकाएँ तर मैले तिमीलाई 'तिमी' भन्दाको लय भत्काउन सकिन बा।
मति नमिले पनि यसमै लय मिले जस्तो लाग्छ मलाई। म यहि लयमा बानी परेँ। यसमै आफ्नोपन भेट्छु, र दलानमा तिम्ले हाल्देको पिङ जस्तै पुराना सम्झनाको लयमा पिङ खेल्न पाउँछु।
आज म जस्ता छोरीहरुले संसार हल्लाइ राखेको बेला मैले केटाकेटीहरुको अगाडि मार्कर हल्लाउनु केही हैन तर जुन पृष्ठभूमी र जुन परिवेशबाट म यहाँ आएँ, त्यो केही हो।
बा तिमीले 'दिनकै स्कूल गए उ हुन्छ, के जाति एक तह उभो गइन्छ' भनेर स्कूल पठाइथ्यौ नि, थाहा छैन तिमीले भनेको 'एक तह उभो' के थियो र के हो तर त्यो परिवेशबाट एक तह उभो रहेर आफ्नो अर्को पुस्तालाई एक तह माथि उचालेर एउटा उज्यालो संसार देखाउन खोज्ने एक तह उभोको चेतना भएको तिमी जस्तो हजुरबा हुनु नै हाम्रो एक तह उभोको भाग्य हो। त्यसैले म एक तह उभै छु बा।