रातिदेखि एकनासले दर्केको पानी अनि हिँउद लागेझैँ चिसो। बिहानी भैसक्दा नि पानी फाट्ने छाँटकाँट केही छैन्। सधैँभन्दा आज मन केही खिन्न छ। बिहे भएको तीन वर्ष बित्नै लाग्दा सायद पहिलो पटक यति लामो र रमाइलो माइती घरको बसाइँ, त्यो पनि श्रीमानसँगै आज सकिदै छ।
२/४ दिन ढिला डोल्पा जान पाए हुन्थ्यो भन्ने चाहले मनमा घोचिरहेकै छ। लकडाउनको अवधिको यात्रा साह्रै महंगो रहेछ, जो सुर्खेत पुग्दासम्म थाहा पाइसकेको थिए। यस अवधिमा नेपालगन्जदेखि ५ पटक नै प्लेनमा आवत-जावत खर्च एकै पटक सकिने थियो। केही साथीहरू मिलेर गाडी रिजर्भमा जाँदा कम पैसा लाग्ने हुनाले हामी पनि साथीहरुलाई कुरेको एक हप्ता हुन थालेको थियो।
अघिल्लो राति मात्रै सबै कुरा मिलेपछि आज नै हिड्नु पर्ने भयो। एकातिर साथीहरुसँगै जान त पाइयो तर मनमा कता-कता डरले भित्र-भित्रै खाईरहेको थियो। कतै कोरोना संक्रमितसँगको सम्पर्कमा त थिएनन्। अर्कातिर लाखौँ लगानी गरेर भर्खरै सुरु गरेको व्यवसाय नि हेर्नु पर्ने। असार सुरु हुनै लागेको थियो। कार्यालयमा पुगेर बिल पेस गरेर भुक्तानि लिनुपर्ने। त्यसले पनि मनमा बराबरी ठाउँ ओगटेको थियो।
एकनासको झरी त्यसैमाथि कच्चि बाटो यात्रा अनि अहिलेसम्म होमक्वारेन्टाइनमा स्वस्थ बसेका हामी, बाटोमा जाँदा कतै रोग पो सँगै नासो बनाएर लिन्छौं कि भन्ने पिर एकातिर छ। बिहानैदेखि यता छुट्यो कि उता छुट्यो कि भन्दै सामान झोलामा राख्ने काम सकियो। अब खाना खाएर पर्खाइ गाडीकै थियो।
यो पटक यो ठाउँ छाड्दा अरु बेलाभन्दा नरमाइलो लागिरहेको छ। केही बाँकी इच्छा अनि यहाँ आउदा बनाएका कत्ति योजना सफल नभएर पनि होला, मैले स्कूल पढ्दा हिडेका ती बाटाहरु, तिनै स्कूले जीवनका साथीहरुसँग फेरि एक पटक धित मरुन्जेल हिँड्ने अनि पानीपुरी, चाट खाने इच्छा थियो।
साथीले बयान गरेका कत्ति त्यस्तै रेस्टुरेन्ट जो अहिले केही समय अगाडिमात्रै खुलेका तर फरक-फरक खानेकुराले चर्चामा रहेका ठाउँमा गएर धित मरुन्जेल खाने चाहाना। हामी जहिले फोनमा घण्टौ घण्टा सँगै हुँदा आफ्ना इच्छा यसरी उसरी पूरा गरौँला भनेको नि अधुरो भएर होला, धेरै यादहरु जुन यो अवधिमा बसेर पुन दोहोर्याउन मन थियो। न स्वास्थले साथ दियो न समयले नै।
बिहानको ११ बजे तिर यात्रा सुरु गरेका हामी बेलुका ६ बजे मात्रै हामी गन्तव्य तर्फ कुदेउँ। सुर्खेतदेखि रुकुमको राडी बजारसम्मका लागि बोलेरे जीप कुरा गरिएको रहेछ। रिर्जभ भाडा २६ हजार रहेछ, करिब पचास किमिको यात्रामा भाडा केही महंगो नै भयो। यति महंगो पैसा तिरेर तीन जनामात्र जान पाइने गरे। हामी भने सात जनाको टीम।
आधा साथीलाई छाडेर आधामात्र जाने कुरै भएन। बरु त्यो गाडी क्यान्सिल गरेर बन्द बोडी स्कारपियो रिर्जभ गर्ने कुरा भयो। पैसा २५ हजार तिर्नुपर्ने भयो। सबै जान पाइने भएपछि २५ हजार तिर्न गाह्रो भएन। गाडी व्यवस्था अनि ठाउँ-ठाउँमा छरिएर बसेका साथीहरुलाई पिकअप गर्दागर्दै धेरैसमय बितिसकेकाले करिब ६ बजेतिर यात्रा सुरु भयो।
बाटोमा गाडी रोकेर केही खान खोज्दा ग्राहक तान्न खिचातानी गर्ने होटेल पसल आजभोलि बिल्कुल सुनसान थिए। उनीहरुलाई अहिले पैसाभन्दा पनि ज्यानको माया नै बढी थियो। नहोस् पनि कसरी? यसरी विश्वका कयौँ धनि र विकसित देशलाई घुडा टेकाएको यो रोगले हामी जाबो सामान्य अवस्थाका नागरिकलाई किन नझुकाओस्?
जति भोकाएर बसे पनि रोगको डरले जो कोही खानेकुरा दिनु त परैको कुरा नजिक आएर बोल्न पनि डराउने। चार जिल्ला छोएर आउने मेरो घर केही समय अघि सेनाले खोलेको कच्चि बाटो अनि ५ ठाउँमा गाडी फेरिरहनु पर्ने झन्झट्, अझै यो अवधिमा आफ्नो पास देखाउँदा पनि अनेक प्रश्नले घेरेर घन्टौँसम्म अल्झाउने प्रहरी।
मैले यसो भनिरहँदा प्रहरीले दुख दिए भन्न खोजेको हैन है, उनीहरु पनि त हामी जस्तै लाखौ जनताको स्वास्थ बचाउनको लागि दिनरात घामपानी नभनेर जुटेका राष्टसेवक, उनीहरुको कर्तव्य पनि थियो।
सहज बाटो यात्रा राति २ बजे हामी अर्को गाडी फेर्नु पर्ने ठाउँमा आईपुगेउ। रातिको समय हामीलाई त्यही छाडेर उताबाट नि बिरामी लिएर फर्कनु पर्ने गाडी। हामीलाई भोकाएको पेटभन्दा पनि अब चिन्ता मध्यरात कसरी कटाउने भन्ने थियो। भाग्यवस भनौँ, फोनमा टावर नहुँदा डोल्पाबाट आएका बिरामी भेटिएनन्, हामी रातिमा खोज्नुभन्दा दुई घण्टा निदाउन उपयुक्त ठानेर बिहानै उठेर खोज्ने सर्तमा गाडीमै निदायौँ।
बिहान बिरामीलाई गाडीसम्म पुर्याएर फेरि हाम्रो यात्रा सुरु भयो। पूल तरेर पारि जाँदा गाडी त भेट्यौँ चालकसँगको लामो अनुरोधपछि। हामीलाई लिन न राजी भयो, भाडा असाध्यै महंगो अझैँ उसले हामी नआउदै लिन ठिक्क पारेका यात्री हामी कोरोना संक्रमित ठाउँबाट आको भनेर गाडीनै नचढी बाटो लागे।
शरीर यसै पनि अस्वस्थ झनै रातभरी राम्ररी निदाउन नपाएका अनिदो र अघिल्लो दिनको खानाको भरमा घरको यात्रामा हिँडेका हामी। एकोहोरो परेको पानी अनि माथिबाट ढुंगा खस्ने होकि, बाटोमा पहिरो आउने होकि, यात्रा बीचमै रहेका हामीलाई अनेकौँ डर र त्रास त छदै नै थियो ठाउँ ठाउँमा ड्राइभरको मनपरी ज्यानको माया नै नभएको जस्तो गरि अगाडि ड्राइभर सिटमा मात्रै चार जना बसालेर हिड्यो।
हामीले अनेक अनुरोध गर्दा पनि मान्न राजी भएन। बरु यसरी मान्छे राखेर गाडी चलाउने गरेको छु भनेर जवाफ फर्काए। यसरी यात्रा गर्न पर्दा त प्वाल परेको डुंगामा भेरी तर्न खोजेझैँ आभास हुने। कति बेला त्यही प्वालबाट पानी भरिएर आफूलाई पनि डुबाउने हो भन्ने पिरलो।
मेरो मनमा भने यात्राभरी अस्ति मात्रै भारतबाट घर र आफ्नो माटोको मायाले फर्किदा दुर्घटनामा परेर मृत्यु भएकाको याद आईरह्यो। हुन त यो बाटो यात्रा गर्दा सधै यस्तै महशुस हुन्छ। क्षमताभन्दा बढी मान्छे बोकेको देख्दा लाग्छ, मैले मृत्यु नजिकै देखिरहेको छु। हरेक पटक भए झैँ यो पटक झन् धेरै भईरह्यो।
हजारौंको संख्याका मृत्युदेखि भाग्दै आफ्नो मातृभूमिमा फर्किरहँदा हामी यही भएर पनि सुरक्षित रहन सक्दैनौँ कि भन्ने आभास भैरह्यो।
यसरी नै धेरै पटकको गाडी साटासाट गरेर आएको हाम्रो यात्रा अब गृह जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खदाङ्गमा आईपुग्यौँ। हामी गाडीबाट झर्ने बित्तिकै प्रहरीका केही सिपाही हामीलाई सोधपुछ गर्न थालेपछि मात्रै थाहा भयो डोल्पा पनि कोरोनाबाट अछुतो रहेन भनेर।
जगदुल्ला गाउँपालिकामा ३ दिन अघि मरेका एक वृद्धको रिपोर्ट आज बिहान मात्रै पोजेटिभ आएको रहेछ। त्यसैले जिल्ला सिल गर्नु कोहीलाई जिल्ला प्रवेश गर्न नदिनु भन्ने आदेश रहेछ।
हामी यात्रा सुरु गर्ने बेलाबाटै परेको पानी यहाँ पनि उस्तै रहेछ। एकतमासले परिरहेको। सुर्खेतमै हुँदा त त्यति चिसो थियो, यो त झन् हिमाली जिल्ला। यसै पनि चिसो ठाउँ पानी परेर झन् चिसो, त्यसैमा पनि तातो कपडा केही नबोकी हिँडेका हामीलाई पानीमा भिजेरै माथिल्लो निकायको आदेश कुर्न असाध्यै कठिन भयो।
करिब पौने घण्टाको प्रतिक्षा पछि हामीलाई जान आदेश त दियो, हामीसँगै आएका दुई जनालाई त्यही रोकिदियो जान दिने आदेश छैन भनेर। सँगै आएका साथीको माया हुँदा हुँदै पनि आफ्नो स्वस्थ्यलाई ध्यानमा राख्दै हामी फेरि उनीहरुलाई त्यही छाडेर त्यहाबाट पनि बाटो लाग्यौँ।
करिब दिनको ३ बज्न आटेको थियो, गाडीले आफ्नै रफ्तारमा हामीलाई गन्तव्य पुर्यायो। अघिल्लो दिनदेखि रफ्तारमा परेको पानीले पनि सायद हामी जस्तै गन्तव्य भेटेछ। प्रकृतिलाई सफासुघर बनाएर घामको जिम्मामा पृथ्वीलाई छाडेर बिदा भयो। लगातारको पानीले भिजेको मेरो कर्मघर स्वर्गको टुक्रा जस्तै देखिएको थियो, निश्चल, स्वच्छ अनि छेउमै भेरी नदी।
हिजो हामी जसरी गन्तव्य पुग्नलाई आतुर थियौँ, उसलाई पनि त्यस्तै हतार थियो। केही धमिलो, केही झार-रुख बगाउँदै थियो। यसरी करिब २४ घण्टाको झरीमय र भोकमय यात्रा, घर पस्न नपाउँदै हामीलाई १४ दिनसम्मका लागि क्वारेन्टाइनमा पठाइयो। त्यसपछि पहिलो पटक सरकारी नुनपानी खानेगरी क्वारेन्टाइन दैनिकी सुरु भयो।