कविता
मलाई
एउटा लामो लौरो चाहिएको छ,
तिखो, लामो लौरो ।
त्यो लौरोले म सुरुमा हावा छेड्छु,
त्यसपछि बादल छेड्छु,
त्यसपछि आकाश छेड्छु ।
हावाको चिसो
बादलको सेतो
र आकाशको नीलो छेडेर बनेको प्वालबाट
नियालेर हेर्दा
खराउ लगाएर हिँडिरहेका
देवताका पइताला देखिन्छन् होला,
वर्षौअघि बितेका मेरा पूर्खाहरू देखिन्छन् होला,
नाच्न नजान्ने इन्द्रको आँगनमा
नाचिरहेका अप्सरा देखिन्छन् होला।
रिटायर्ड वृद्ध पेन्सनको लाममा बसे जस्तै,
८४ लाख जन्म-मृत्युको दस्तुर तिरिसकेर
ब्रह्मामा लिन् हुन नाम लेखाएर
खुइय गर्दै
पालो पर्खिरहेका वृद्ध आत्माहरु देखिन्छन् होला ।
मोटो सिसाको चस्मामुनि
लामो सेतो दाह्री भएको
५००० वर्ष बुढो चित्रगुप्तले
धुलो लागेको पुरानो ढड्डामा
स्वर्ग जाने र नर्क जानेहरुको
नाम रेकर्ड जाँच्दै गरेको देखिन्छ होला।
उनी बस्ने मेच पछाडिको
सानो कालो खोपिबाट
स्वर्ग पठाउनुपर्ने अपराधीहरुको गोप्य सूचि
कसैले दिँदै गरेको देखिन्छ होला।
कसैले थाहा नपाउने गरि
स्वर्गको एउटा टुक्रा जग्गा
नर्कको नाममा पास गर्न
इन्द्र र यमराजबीच
वार्ता भईरहेको देखिन्छ होला।
किराले मक्काएको
कल्पवृक्षको हाँगामा फलेका
अनौठा अमिला तिता नमीठा
फल खाएर
बान्ता गरिरहेका देवगणहरु देखिन्छन् होला ।
मलाई
एउटा लामो लौरो चाहिएको छ,
तिखो, लामो लौरो।