कविता
ती दुई वटा राता धर्साहरुले
मेरी सानीको आगमनको संज्ञा दिए
केही दिनपछि
डाक्टर नानीले
सानीका ढुक्ढुकीहरु सुनाइन्
सानीका चालहरु बताइन्
त्यतिबेला मेरा खुशीका आँसुहरु बगेका थिए
समयसँगै म नाकनिक गर्न थाले
आज यो खान्छु, भोलि त्यो खान्न
यो मलाई देउ, त्यो मलाई नदेउ
बिना संकोच भन्न थालेँ
म त भाग्यमानि थिएँ
सोचेको कुरो पाउँथे
रोजेको कुरो खान्थेँ
दुखले पक्कै होइन
मात्र सुखले
तिमीलाई सम्झिएँ आमा!
रोगले ओछ्यान परेकी हजुरआमा
सधैँका मेरा परदेशी बाबा
अनि घरको मुलथाम बनेर बसेकी तिमी
तिम्रो हेरविचार गर्यो कसले है?
दिनभरी बाली बिस्कुन हेर्नै पर्यो
आज के खान्छेस्? भनि सोध्यो कसले है?
थाकेर आँगनीको छेउमा टुसुक्क बस्यौ होला
नौ डाँडापारिको माइती गाउँ सम्झियौ होला
फेरि पनि तिम्रो गुनासो कहिले सुनिएन
सायद
तिमीले पनि सन्तानको अनुहार देखेपछि सबै बिर्सियौ होला
जसरी आजभोलि मैले संसार भुलेकी छु।