कविता
नक्सा तिम्रो पनि छ
नक्सा हाम्रो पनि छ
तिम्रो ठूलो नक्सा
हाम्रो सानो नक्सा
फरक नक्सा को आकार मा हो।
नक्साको स्वाभिमान उस्तै उस्तै !
अर्बौं मानिस छन् तिम्रो देशको नक्सामा
करोडौं मानिस छन् हाम्रो देशको नक्सामा
फरक देश र संख्या मात्रै हो
मानिस को स्वाभिमान उस्तै उस्तै !
तिम्रो र हाम्रो खाना उस्तै
शरीर ढाक्ने नाना उस्तै!
फरक खाना को परिकार मा हो
नाना को डिजाइन मा हो ।
पेट भर्ने र शरीर ढाक्ने उद्धेश्य उस्तै!
तिमी पनि मान्छे जस्तै
हामी पनि मान्छे जस्तै
हेर दुनियाँ सबै मान्छे मान्छे जस्तै
फरक वर्ण र आकृति मा हो
स्वाभिमान प्रति को आस्था उस्तै !
तिम्रो खुट्टा ले कुल्चेको हाम्रो स्वाभिमान,
मुटु भत्भती पोल्छ!
हाम्रो खुट्टा ले कुल्चेको तिम्रो स्वाभिमान
मुटु भत्भती पोल्छ!
फरक तिम्रो र हाम्रो खुट्टा हुन
स्वाभिमान र मुटु उस्तै उस्तै !
तिमीलाई तिम्रो पुर्खा को रगत प्यारो
गान्धी, भगत सिंह, अनि शुभाष चन्द्र प्यारो
हामीलाई हाम्रो पुर्खा को रगत प्यारो !
भिमसेन, भिमदत्त अनि गङ्गालाल प्यारो!
फरक तिम्रो र हाम्रो पुर्खा हो
नक्सा कोर्ने रगत उस्तै !
कति गर्छौ घमण्ड
तिम्रो नक्सा अनि स्वाभिमान को
तिम्रो देश को अभाव उस्तै
हाम्रो देश को अभाव उस्तै
देश फरक तर
आस्था, मुटु अनि भाव उस्तै !
तिम्रो बलिदान को कदर हामी गर्छौ
हाम्रो बलिदाको कदर तिमीले गर्नुपर्छ।
एक हात ले ताली बज्दैन महाशय
तिम्रो अतिक्रमित मुकुन्डो उतार्नुपर्छ।
तिम्रो आडम्बरी हस्तक्षेप रोक्नुपर्छ।
नालापानी हामीले दिएका हौ
कालापानी बाट तिमी हट्नु पर्छ।
खबरदार!
अतिक्रमित नक्सा स्वीकार्य छैन!
हेपिएको स्वाभिमान अस्वीकार्य छ।
इतिहास पल्टाएर हेर
कहिले नझुकेको सगरमाथा जस्तै
जीवित छ हाम्रो स्वाभिमान
लाछि छैन हाम्रो जीवन
बहादुरी ले भरिएको
मृत्यु स्वीकार्ने तर स्वाभिमान नडग्मगाउने!