कविता
उदाउँदो सूर्यमा अथाह प्रसव वेदना देख्छु
झुल्कदै गरेको प्रकाशमा पनि निन्याउरो पन देख्छु
सल्बलाएका बुट्टे बादलमा खाली छट्पटाहट मात्रै देख्छु
अनि जति खुल्न खोज्छ त्यो आकाश,
म झन्झन् धमिलो किनारा पो देख्छु
एकोहोरो एकटक त्यो साँझलाई कुर्छु
क्षितिज पारीको साधँमा झन्, म अैटन मात्रै पाँउछु।
भगवान् यदि तिमी छौ भने,
के तिम्ले प्रकृतिका ती हर प्रहर,
दिन अनि रात वेजोड धड्केको सुन्यौ?
बिहानीपख समाचारमा, आजभोलि गणना मात्र सुन्छु
संक्रमण, मृत्युवरण, क्वारेन्टिन, आइसोलेसन
अनि लकडाउनका थप दिनहरू
हो यस्तै गणना,
मेरो देशको पश्चिमी साँधमा पनि
म अस्तित्वमा आउनु अघिनै भएको थियो
लिम्पियाधुरा, लिपुलेक अनि कालापानीमा
फगत त्यो गणनामा
म मेरा पुर्खा हुँदै जोडिएको थिएँ
त्यै जोडमा, म नेपाली हुनुको परिचय गाँसिएको थियो
अनि, मेरा बालमस्तिष्कमा राष्ट्रियताको विज रोप्ने
स्वाभिमानी इतिहास पनि
तर आजका गणनामा म,
म जस्तै कोही कसैको अस्तित्व नासिँदै गएको पाउँछु ।
भगवान् यदि तिमी छौ भने,
ती गनिएका संख्यामा के तिम्ले
रेटिँदै गएको विश्वास र नासिँदै गएका आफ्ना सन्तान देख्यौ ?
आज एक अविजित जिवाणुले निल्दै गरेको क्षण
अघोषित शत्रू राष्ट्रले
मेरो देशको भूमि पश्चिमबाटै लुछ्दैछ
भट्टाभट जंगे पिलर सार्दैछ
अनि साँध सीमानामा धावा बोल्दैछ
वारि मेरो देश कठै
आफ्नै आन्तरिक कलहमा मलिन र उदास छ
विपनामा छरपष्ट समाज, अनि सपनामा हजारौ लास
अनि एउटा डर, त्यो सपनालाइ ब्युँताउने
लापरवाह मतिका बाक्ला नजिर।
भगवान् यदि तिमी छौ भने,
के तिम्ले हुंकारमा अघोषित युद्धका
शंखध्वनी बजेको सुन्यौ ?
आज आकाशगंगातिर ठूलो मेला छ
धर्तीबाट विलिनतामा बतास्सिँदै लम्कनेको ठूलो लर्काे छ
कुनै बेमेल छैन, जीवन भोगेका र जीवन खै के हो
बुझ्दै नबुझेकाको बाक्लो संगम छ
अस्तिमात्रै जन्मेको अवोधले
सृष्टिविन्यासको सुखभोग अनि
मातृस्नेहको ताप पाउन सकेन
संक्रमित छिन् भनेर आमाको लासलाई
उठाउने साहस कसैले गरेन
कत्ति कारुणिक लौन, तिमी अबोध आफैं
विषाक्त जन्म्यौ कि भनि,
द्धेषका घेराबीच निर्मम
तिम्रा नि स्वाब परीक्षण भो अरे
आज म त्यो अवोध आत्माको
क्रन्दन मात्र महशुस गर्छु।
भगवान् यदि तिमी छौ भने,
के तिम्ले तिनको सूक्ष्म सन्देशमा
एउटा विकराल भविष्यको प्रक्षेपण बुझ्यौ?
म कतै कतै फरक पनि देख्छु
बेफिकर हाँसिरहेका हिमाल, हरियाली सौन्दर्य
मस्त खुलेको आकाश अनि मौलाएको ऋतु
म कतै कतै फरक पनि सुन्छु
कलकलाउँदो खोला, झरनाको झरझर
चराको चिरविर अनि स्वच्छ हावाका मीठा सुस्केरा
हो सबमा म मन्द मुस्कान देख्छु
लाग्छ ती वर्षौदेखि मुर्झाएका
वुँख्याचामात्र थिए या
तिनका कुनै कृत्रिम प्रदर्शनी
म वर्षौंदेखि आधुनिक मानव सभ्यताले
निसंकोच प्रकृतिमाथि गरेको
जघन्य अपराधको दोषमात्र देख्छु।
भगवान् यदि तिमी छौ भने,
के तिम्ले निसन्देह प्रकृतिले
कोल्टे छलाङ फेरको महशुस गर्यौै?
आज कुनै अन्तर-कुन्तर साँघुरो हैन
बरु विशाल आकाश मुनिको धर्ती साँघुरिएको छ
उता साँध सीमामा आँखा गाड्नेहरूले
विश्वास र मित्रताको धज्जी उडाउँदैछ
यता, कोरोना जीवाणुले
प्राकृतिक श्रेष्ठता मानिएको
मानव सभ्यतालाई सोत्तर पार्दैछ
हो, यहाँ सीमा र शरीर पिलिक्क गायब हुँदैछ
डर, त्रास, पीर, सन्ताप र वेदनाका अरू पर्यायहरू
आम मन मस्तिष्कका सतहमा पौडिँदै छन्
आशा, भरोसा, सहारा र विश्वास जस्ता पात्रहरू
मनमनै डढेलो बुन्दैछन्
यी सबका बाबजुद् मैले पुज्ने गरेको भगवान
आज मौन र किंकर्तव्यविमुढ छ
बिना ठोस आकृति, काल्पनिक अवतारमा
पुजनीय भएका तिमी
सशरीर भौतिक प्रकट हुन्छौ भन्ने
मलाइ रत्तिभर विश्वास छैन
तर भगवान् यदि तिमी छौ भने,
आज तिमी पनि संक्रमित छौ
त्यो आइसोलेसनको बेडमा
हो, यही कोरोना कहर र
साँध सीमाको रस्साकस्सी बीच
म तिम्रो संक्रमणको पनि उपचार खोज्दैछु ।।।