निकै पहिला जस्तो थियो आज पनि ख़ास फरक देखिँदैन यो गाउँ, यहाँको जनजीवन, वरपरको परिदृश्य, जसोतसो बाँच्ने अभिलाषा, यहाँका मानिसका अधूरा सपना, सपनाका खण्डीकरण अनि खण्डित सपना माथिको उदास अनुहार, सबै उस्तै छ, उस्तै विदीर्ण छ।
परिवर्तनको वैश्विक घोडा ठ्याक्क यो गाउँमा आएपछि रोकिएको छ, आरामार्थ निदाइरहेको छ सायद, सयौं वर्षदेखि। तब त यस गाउँमा उत्साहको हावा चल्दैन, कुनै चाडपर्वको रोमांचकता छैन।
कुनै बतासले पनि शितलता दिँदैन यहाँका मानिसका कायामा। सधैं उस्तै फुस्रो मुहार, घामले डढेको शरीर, छाला देखिने फाटेको लुगा लगाएका मानिस। भ्यान गगको दु:खान्त चित्रकला जस्तै छ यो गाउँ। उनले भनेजस्तै उदासीनता सदावहार बाँचेको छ यस गाउँमा। यसरी नै यो गाउँ सदियौंदेखि बाँचिरहेको छ।
निकै टाढा पर्छ यहाँबाट सहर, वर्षमा २/४ चोटि सहर जानु, सहरको चमकधमक देखिनु, महिनौं चर्चा गर्न योग्य खुराक हुन्छ यहाँ।
गाउँमा सबभन्दा गुलजार भनेकै साँझको समयमा भीडभाड रहने गाउँकै भट्टी हुन्। दिनभरि श्रम गरेर थाकेका मानिस साँझपख भेला हुन्छन् भट्टीमा र अभिव्यक्त गर्छन् आफू र आफ्नो सुख दु:खलाई प्यालाहरूमा, बिडीको धुँवाहरूमा;
'आज साहुले पूरा पैसा दिएन।’
‘मेरो सबै बिउ कुहियो प्याजको।’
‘धानको बोराले थिचेर मेरो औंला मर्क्यो।’
‘सानो जातको भाग्य लेर जन्मिनुभन्दा आमाको पेटमै मरेको भए हुन्थ्यो बरु म।’
‘मुखियाले १५ दिनको भाका देको' छ, अब पैसा नतिरे खेत लान्छ रे।’
‘धनीराम बसाइँ सरेछ गाउँबाट'।’
‘मेरो भैंसी ब्यायो आज।’
‘तँ निउँ नखोज, धेर बाठो नहुं।’
र फर्किन्छन् अबेरगरी रन्थनिँदै, चिच्याउँदै, सुसेल्दै, गाली गर्दै र पुग्छन् घर बेहोसीमा, कतिपय सुत्छन् बाटोमै। र कतिपयले घरमा पुन: बहादुरी देखाउँछन् कुटपिट गरेर, श्रीमती-छोराछोरी र निर्धो अबलाहरूलाई।
समग्र रिस पोख्छन् पुरुषहरू यिनै अबोधहरूमाथि।
बिहान हुन्छ, हिजो भुलिन्छ र पुन: सुरू हुन्छ नयाँ दिन तर उहीँ दिनचर्या कठोर श्रमको। फेरि साँझ पर्छ र फेरि भट्टी जाग्छ। भट्टीमा कहिलेकाहीँ राजनीतिका कुराले प्रवेश पाउँछन्। सदियौंदेखि उहीँ लय बोकेको कुराकानी हुन्छ;
५० वर्षअघि:
‘राणा शासन ढल्यो रे देशमा, प्रजातन्त्र आयो रे।’
‘अब हामीले सुख पाउँछौं।’
‘अब हामीले दास हुन पर्दैन अरुको खेतमा।’
’अब खाना लाउन पाउँछौं।’
आज:
‘प्रजातन्त्र आयो रे देशमा।’
‘अब हाम्ले सुख पाउँछौं।’
‘अब हामी दास हुनु पर्दैन अरुको देशमा।’
‘अब खान-लाउन पाउँछौं।’
फरक यति छ। उहिल्यै भट्टीहरूमा मातेपछि बाजेले भन्ने कुराहरू आज नातिले भनिरहेको छ। बुढा मरे कुरा सरे।
गाउँमा एउटा प्राथमिक विद्यालय छ। तर त्यस विद्यालयमा गाउँका केटाकेटीभन्दा धेरै गाउँका गाईभैंसी विद्यालयमा चरनको लागि छोडिन्छन्।
‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका बन्चित नहुन्’। भित्तामा नारा पोतिएको छ। त्यसैको मुनि छ ‘सुलभ शिक्षा हाम्रो माग हो’।
कसले लेख्यो, किन लेख्यो, गाउँले कसैलाई थाहा छैन, कसैलाई वास्ता पनि छैन।
यो गाउँ निकै टाढा पर्छ जिल्लाबाट, केन्द्रबाट। नजिक छ त केबल गाउँलेको हृदयमा। सरकारलाई भने यस गाउँमा आइपुग्न निकै कष्टसाध्य यात्रा गर्नुपर्ने हुन्छ। सरकार र राजनीति हत्तपत्त चुनावी मौका बाहेक अरुबेला आउँदैनन् पनि। सरकार गाउँमा लामो विदा लिएर आउँला भन्दाभन्दै बाजेहरू सकिए, छोरानातिहरूले बाजे गएदेखि आश गर्न पनि छोडिसके।
बरु नातिहरू छिटो छिटो गरी सरकारलाई केन्द्रमानै भेटेर आफू हुनुको प्रमाण पासपोर्टमा मागेर उडिसके कता कता पसिना बेच्न भनी।
धेरै जना रहरलाग्दा भरिला गाउँका युवाहरू त्यसैगरी विदेशिए। भरथेग रकम पठाउँछन्। कतिले फर्की आउँदा अनेक प्रविधिका नौला सामान लिई फर्किन्छन् त कति काठको बाकसमा ‘मस्त’ निदाएर फर्किन्छन्। तर पनि यो गाउँ अझै ब्युँझिएको छैन।
अपवादको रूपमा यस गाउँको अमरसिंहले छोरालाई सहर पठाएको छ पढ्न।
यस गाउँमा धेरै पढेको युवा उही एउटा हो। अमरसिंह आफैं यो गाउँ छोडी उहिल्यै मुगलान भासिएका थिए। फर्किंदा अलि अलि चेतना लिएर फर्किएका थिए, त्यो चेतनाको उपज छोराले पढ्ने अवसर पाएको हो। चलनचल्तीको परम्परागत काममा नलगाएर अमरसिंहले सहरमा छोरो पढाएर खर्च गरेको द़ेख्दा गाउँले हाँस्ने गर्दथे।
हिजो आज गाउँमा गाईगुई सुनिन्छ। ठूल्ठूला गाडी, नौला मानिस, मेसिन खोला छेउमा आएका छन्। कहिल्यै नदेखेका मानिस, मेसिन, दिनभर रातभर चलिरहँदा गाउँलेहरूमा विष्मयता छाएको छ। बिस्तारै गाउँको भट्टीहरूमा कानेख़ुशी हुन थालेको छ। वर्षौदेखि एक तमासले बाँचेको गाउँ सल्बलाएको छ अनौठो चालमा।
‘सहरका मानिस हुन्।’
‘सहरका मेसिन हुन्।’
‘गाउँ बनाउन सरकारले पठाको।’
यस्तै यस्तै हल्ला-खल्ला, अड्कलबाजी हुन्छ अचेल भट्टीहरूमा।
त्यस साल ठूलो भेल पस्यो गाउँमा। कतिको खेत बिगारिदियो, बगर बनाइदियो, कतिको घरखेतनै बगाइदियो। वर्षौदेखि कोही र केही नघुसेको गाउँमा अचानक प्रकोप छिर्यो। ठूलो पीडा दिएर गए ती ठूला मेसिन र नौला मानिसहरूले। गाउँलेहरू आतंकित बने। भाग्यलाई दोष दिइरहे।
सहरबाट अमरसिंहको छोरा भर्खरै गाउँ फर्किएको छ, ज्ञानले सुशोभित बनेर। सहरको झ्यालबाट विश्व, विकास, परिवर्तनलाई चिहाएर। उसले किताबमा पढेको वेदनामय, कारुणिक हालतमा गाउँ र गाउँलेहरूलाई देखेर द्रविभूत हुन्छ। थाहा पाउनु साह्रै खतरनाक हुन्छ, बोध हुनु असह्य छटपटाहट हुनु हो।
दुवैतिर बग्ने बर्खे खोलालाई चेपेर झुरुम्म बनेको यो गाउँमा असह्य छ गरिबी, निरिहता र त्यो भन्दा डरलाग्दो छ यहाँको मुर्दा शान्ति। त्यो मुर्दा शान्ति चिर्ने चिराग आफ्नो छोरो होस् भन्ने चाहना अमरसिंहको हृदयमा सधैं जीवित रहेको छ।
अमरसिंहको छोरा त्यहीँ भेलबाढीपछि गाउँ फर्किएको थियो। छक्क पर्यो गाउँको हालत देखेर, गाउँलेहरूको चुपचाप मौनता देखेर। वर्षात् सकिएपछि फेरि फर्किएर आए ती ठूला मेसिन र नौला मानिस। अमरसिंहको छोराले मानिस भेला गरेर कुरा बुझाउन थाल्यो, परिस्थितिको बारेमा बताउन थाल्यो, ती मेसिन र मानिसका निर्दयी उद्धेश्यको बारेमा बुझाउन खोज्यो तर कसैको चेतनाको बिर्को उघ्रेन।
बाँचिरहेको मुर्दा शान्तिको माहौल खल्बल्याउन खोज्ने ठूला मेसिन, नौला मानिस र परिचित अमरसिंहको छोरा देखेर गाउँले आत्तिए, त्राहिमाम हुन थाले।
अमरसिंहसँग सामूहिक गुनासो पोखे "सहर पढ्न पठाएको छोरो बहुलाएछ" भन्दै। उता अमरसिंहको छोरा गाउँलेलाई भेट्ने, भेला गर्ने, चेतना भर्ने काम निरंतर गरिरह्यो। युवालाई समेटर खोलाका नौला मानिस र ठूला मेसिनविरूद्ध एकत्रित गर्न थाल्यो।
सदियौंदेखि जमेर रहेको यथास्थितिवादी र भयग्रस्त शैलीको ठोस रूपलाई तरल बनाउन निकै समय लाग्छ, यो कुरा अमरसिंहको छोराले बुझेको छ।
विस्तारै खोलाका नौला मानिस र ठूलो मेसिन आत्तिन थाले। गाउँ र गाउँका मानिसले गाईंगुई गर्दै चौक, भट्टीहरूमा गरेको विद्रोही गफ तिनीहरूलाई कत्ति पनि चित्त बुझिरहेको थिएन। गरिब, अशिक्षित, सहज शोषणयोग्य मानिस चलायमान भएको, झल्याकझुलुक गरेको तिनीहरूलाई असह्य हुँदै गयो।
यो विद्रोहको आगो सल्काउने झिल्को खोज्न थाले तिनीहरू।
एकदिन ती नौला मानिसको नाइकेले अमरसिंहलाई बोलाएर धम्की दियो ‘तेरो छोरो निकै धेरै जान्ने हुँदैछ, सम्झाइदे कि सहर पठाइदे, नत्र ठीक हुँदैन।’
कहिल्यै ठीक नभइरहेको ठाउँमा अब केही ठीक होला कि भन्ने आशा जाग्दै गर्दा पुन: ठीक नहुने धम्की आयो। पुत्रप्रेमले विह्वल अमरसिंह आत्तियो। गरिब मानिसको हृदयमा डरले छिट्टै डेरा जमाउँछ। आफू उभिएको जमिन भासिएको जस्तो भयो अमरसिंहलाई, चारैतिर अँध्यारो देख्यो।
पछ्यौराले पसिना पुछ्दै “हुन्छ हजुर म संझाउँछु" भनि फर्किएको अमरसिंह घर आइपुग्दा छोरा सुतिसकेको थियो। भर्भराउँदो उज्यालो, तेजिलो, कालो वर्णको त्यो मुहार मस्त निदाइरहँदा पनि जाज्वल्यमान देखिन्थ्यो। सुतिरहेको छोराको देदीप्यमान मुहार देख्दा अमरसिंहको मुहारमा खुसी छायो, मन प्रफुल्ल भयो र अघिको धम्की संझिएर पुन: अचानक उदासीले मुहार गिजल्यो।
भोलिपल्ट अमरसिंहले हिजोको धम्की स्मरण गराउँदा छोराले यति मात्र भन्यो ‘शोषणविरूद्ध लड्दालड्दै मृत्यु भयो भने यो जीवन सार्थक हुनेछ बुवा। मेरो मृत्युले यो गाउँ, समाजको आँखा खुल्छ र भविष्य न्यायपूर्ण, समतामूलक र समानतामा आधारित हुन्छ भने मलाई मृत्युको रत्तिभर भय छैन बुवा।’
अमरसिंहको मुटु भक्कानिएर आयो, छोरालाई अंगालोमा बेरेर धेरैबेर छोराको काँधमा टाउको राखी रोइरह्यो धेरैबेर। दुई शब्द बोल्ने साहस जुटेन अमरसिंहलाई, छोरासँग।
त्यसको केही दिनमा जुलुसको नेतृत्व गर्दै खोलामा विरोध गर्दैगर्दा अमरसिंहको छोराको पासविक हत्या गरे मेसिनका नौला मानिसहरूले।
गाउँ शोकाकुल बन्यो। चिसो सन्नाटाले गाउँ धेरै दिनसम्म सातो गएको नानीझैं टोलाइरह्यो, रोइरह्यो। गाउँको मथिङ्गल भित्रसम्म हल्लियो।
केही महिनापछि सबै यथाक्रममा फर्कियो। अमरसिंहकी श्रीमती, बुहारी र नातिनी लिएर मुगलान भासिए, पुन: अर्को चोटी। गाउँमा फेरि उदासिनताको बादल मडारिन थाले। भट्टीहरू गुलजार हुन थाले उही पुरानै शैलीमा।
उपसंहार:
उनी : ‘मेरो बुवाको डायरीमा मैले तपाईंको नाम धेरै चोटी पढेको छु। बुवाले तपाईंको प्रेरणाले समाज बदल्न होमिएको भनेर उल्लेख गर्नुभएको छ। तपाईंप्रति उहाँको असिम श्रद्धा थियो। तपाईंलाई जीवनमा भेट्छु भन्ने सपनामा पनि सोचेको थिइनँ मैले।’
मैले नतमस्तक भएर सोधे: 'तिमी को?'
उनी : कमरेडको छोरी।
म : 'को कमरेड?'
उनी : धुस्कुटे गाउँको अमरसिंहको छोरा।
म रन्थनिएँ। अवाक् बने, चारैतिर धुम्म भयो।
(यो आज भन्दा करिब २३/२४ वर्ष अघिको पूर्वको एउटा विकट धुस्कुटे गाउँको कहानी हो। म त्यो गाउँको प्राथमिक स्कुलको प्रधानाध्यापक रहँदाको त्यो गाउँको कहानी हो यो। अमरसिंहको छोराको हत्यापछि मैले पनि त्यो गाउँ छोडें। थप अध्ययनको निम्ति विदेश गएँ र फर्किएर विश्वविद्यालयमा प्रोफेसरको रूपमा काम गर्न थाले। आज पनि त्यही कर्ममा छु। मेरो जीवनको एक होनहार र प्रिय कमरेडको छोरीसँग यतिका वर्षपछि आज विश्वविद्यालयमा भेट हुनु अकल्पनीय थियो मेरो लागि। तिनै अतित खोस्रेर यो कथा लेख्न पुगे। अलिखित भावहरू यो पढ्ने पाठकले आफैं अनुमान गर्नुहोला। जीवन पनि एउटा कथा नै हो जहाँ व्यक्तभन्दा अव्यक्ततामा धेरै अभिव्यक्ति हुन्छ। त्यसैले होला; "वन्स अ वाइज मेन सेड नथिङ्ग" भनिएको।)