मलाई गुलियो मन पर्न छाड्यो
अब म गुलियो खादिनँ
चिनी र भात खाएकै कारण
मेरा दाँत बिग्रिए।
तर पनि सरकारको निर्णय
हेरिरहेको छु।
डाक्टरको अनसन जस्तो हैन यो
सरकारको लागि दबाब हो
गरिब किसानको प्रभाव हो
माफिया र दलालहरूको रवाफ हो।
बन्द आँखा खोल सरकार
एक पटक किसानको अनुहार हेर सरकार
त्यसपछि उद्योगी व्यापारीको कुरा सुन
मेरा बा लाई गुलियोको कारण
धेरै रोग लाग्यो।
एउटा कुरा बुझ्नुस् हजुर!
रोग लागेको कारण गुलियो
खान छाडेको भने हैन।
सरकारको अग्रगामी छलाङ देखेर
किसानको आँखामा आँसु देखेर।
चिनी! कहिले घरमा मागेर खाइयो
कहिले चोरेर खाइयो
प्लाष्टिकका पोकाहरू चाटी चाटी खाइयो
खन्याउँदा भुइँमा
पोखिएको टिपेर खाइयो
यसकारण खाइयो चिनी गुलियो थियो।
कहिले फाको हालियो
कहिले विभिन्न परिकारमा मिलाएर खाइयो
जसरी खाइयो गुलियो स्वाद पाइयो।
रातो राम्रो गुलियो मीठो
नेपाली उखान नै छ त!
एक छिन चिनीको कुरा गरौं
उखु कसरी उत्पादन हुन्छ
चिनी कसरी बन्छ
कहिले मेरो चासोको विषय बनेन्।
सिर्फ कुदेर पसल गइयो
घरमा ल्याइयो जसरी मन लाग्छ
उसैगरी मुख मिठ्याएर खाइयो।
धेरे गुलियो खाए पछि तीतो हुन्छ भन्थे
मलाई चिनी जति खाए पनि
तीतो लागेन
त्यो भनाइ बकवास रहेछ भन्ने लाग्यो।
सधैं गुलियो हुने चिनीको स्वाद
यसपालि भने मैले टर्रो पाएँ।
साँच्चै हो धेरै खाएर हैन
जब मैले किसानको आँसु देखें।
चिनीको स्वाद अब गुलियो हैन
टर्रो अमिलो लाग्न थाल्यो।
सरकारले उद्योगी र व्यापारी चिन्यो
किसान चिनेन।
ठूला-ठूला ठेकेदार दलाल माफिया चिन्यो
मजदूर चिनेन
सुनलाई पितल बनाउने चिन्यो
टर्रो अमिलोलाई गुलियो बनाउने चिनेन।
फटाह घुसखोर तस्कर चिन्यो
राष्ट्रसेवक चिनेन।
अझै कहिलेसम्म क-कसलाई
चिन्न बाँकी रहने हो
आलोचना खप्न नसक्ने
सरकारको जय होस्
माफिया दलालको रक्षा गर्ने
सरकारको जय होस्
गायक कलाकारको गीत सँग
तर्सने सरकारको जय होस्
सुखी नेपाली र समृद्धि नेपाल
भाषण र आश्वसनको जय होस्।