उखु पेली मेसिनमा चिनी बन्थ्यो पहिले
किसान समेत पेलिकन बन्दो रै छ अहिले !
त्यस्तो खालको चिनी आज छ त बजारभरी
व्यापारीले बेचेका छन् नाफा गरी -गरी
ऋण गरेर उखु ला 'छ न त केही पा' छ
त्यही उखुको पैसो माग्न अर्को ऋण नि ला'छ!
मिलमै ल्याउँछन् बेच्न बरा खेतमा जान्न किन्न
चिनी बेच्छ मिलवालाले उखुको मोल दिन्न!
सरकारले भन्छ अझ हो नगदे बाली
मिलवालालाई होला सायद किसान मर्छन् खाली!
कस्तो हुँदो हो देख्दा तिन्लाई आज त्यही चिनी
उधारो नि दिन्नन् तिन्लाई के ले खानु किनी!
श्राप दिए कि किसानले नपाउँदामा भोग
त्यहीभएर लाग्छ कि खै खाँदा सुगर रोग?
गाउँ, प्रदेश ,केन्द्र अरे सरकार जताततै
न्याय खोज्दै रुँदै हिँडे पाएनन् नि कतै!
मधेशका लागि भन्ने च्याउ सरि नेता
कुर्सी पाए पुगि हाल्छ जान्न नजर त्यता!
न छ त्यहाँ जीवनको न उखुको मूल्य
जिउँदा शरीर पनि जले बनि दाउरा तुल्य!
सर्बहारा शासन सत्ता कृषि प्रधान देशमा
मरेका छन् किसान कठै यति साना केसमा!
सरकारमा बसि खा' छौ त्यो उखुको चिनी
गुलियो कि नुनिलो छ जिब्रै टट्याइ दिनी ?
न्याय माग्न राजधानीमा आउँदा कठै आज
नातागतले ढल्दा त्यहिँ सडकको माँझ
दिँदाखेरि पिउन उसलाई आज चिनी पानी
हेर्यो मात्रै इन्कार गर्यो आफ्नै आँसु ठानी!