कविताः
जीवित ऊ मानिसको
जीवन रेखा कोरिएको छ
थोरै भाग्य लेखिएको छ
जगत निर्दिष्ट गरिएको छ
निश्चित नियम तोकिएको छ
तर पनि
कर्मको सीमाना रोकिएको छैन
सर्वश्रेष्ठ ऊ प्राणी
काल्पनिक सकंल्पहरू कोरिरहन्छ
मनलोकका भावहरू पोखिरहन्छ
आशाका नदीहरू बगाइरहन्छ
रित्तो सपनाहरू बुनिरहन्छ
तर पनि
दृढ प्रतिज्ञाको सीमाना कोरिएको छैन
पृथ्वीको ऊ पाहुना
खान मिल्ने सबै खाइदिन्छ
धन सञ्चय गर्न मगनमस्त छ
प्रशन्नताको तृप्ति खोज्न लिप्त छ
गौरवशाली जीवननिर्वाहको खोजीमा छ
तर अझै पनि
सन्तुलित जीवनको सीमाना भेटिएको छैन
स्वतन्त्र ऊ सत्ता
सम्पूर्ण शासन चलाउन तम्सिन्छ
सम्बन्धहरू बृहत्त बनाउन चाहन्छ
नेतृत्व सम्हाल्न हुटहुटिन खोज्छ
स्याबासीको आशा सदाकाल गर्छ
तर पनि
अभिलाषा नियन्त्रण गर्ने सीमाना रोजिएको छैन
हो त्यसैले
सुख सन्तुष्टिको सीमाना पहिल्याऔं
कर्मक्षेत्रको सीमाना तोकौं
प्रतिबद्धताको सीमाना कोरौं
श्रीसम्पत्तिको सीमाना किटाऔं
भोजनको सीमाना रोजौं
अनि हराएको
खुसीयाली जीवनको सीमाना अवश्य भेटिनेछ।