जनकपुरधाममा आयोजित तीन दिवसीय नेपाल साहित्य उत्सवको अवसरमा साहित्यकारहरुले भोजपुरी र मैथिली भाषाको अस्तित्व संकटमा परेको गुनासो गरेका छन्।
साहित्य सम्झनामा गरिएको बहसमा साहित्यकारहरुले देशमा संघीयता आए पनि नेपाली भाषा मात्रै शासकीय रुपमा देखिएकोले अन्य भाषाको अस्तित्वको संरक्षण हुन नसकेको भन्दै दुःख व्यक्त गरे।
‘साहित्य सम्झनामा’ शिर्षकमा मैथिली, नेपाली, भोजपुरी लगायतका अन्य भाषाका साहित्यकारहरुको सम्झना गरिएको थियो। मैथिली र भोजपुरी साहित्यको उत्थानमा योगदान पुर्याउनेलाई राज्यले उचित सम्मान दिन नसकेको साहित्यकारको गुनासो छ।
मैथिली भाषाका साहित्यकार रोशन जनकपुरीले साहित्यकारमा बौद्धिक चेतनाको अभाव रहेका कारण साहित्य क्षेत्र प्रगति पथमा अगाडि बढ्न नसकेको गुनासो गरे। राज्यको गलत नीतिका कारण साहित्यकारहरु नेपाली भाषा/साहित्यभन्दा अगाडि बढ्न नसकेको उनले बताए।
‘जनताको संघर्षका कारण देशमा संघीयता आएपछि अन्य भाषीहरु पनि मैथिली बुझ्न खोज्नु सुखद पक्ष हो’ जनकपुरीले भने।
भोजपुरी भाषाका साहित्यकार गोपाल अस्कले साहित्यकारले भाषाको सहअस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिए अन्य भाषाको साहित्यिक अस्तित्वलाई स्वीकार गरे मात्रै नेपाली बाहेकका भाषा साहित्य समेत फस्टाउने उनको भनाइ छ।
‘नेपाली बाहेकका भाषाले उचित स्थान त पाउन सकेका छैनन्, त्यसमाथि प्रदेश दुईमा मैथिली भाषाको मात्रै चर्चा गर्नु पनि उचित हुँदैन’ उनले भने। प्रदेशमा समेत भोजपुरी साहित्यले समान व्यवहार खोजी रहेको उनको भनाइ छ।
नेपाली भाषामा कलम चलाउँदै आइरहेका अरुण कुमार राउतले मैथिली साहित्यकार नै मैथिलीको कुरा लेख्न नरुचाउने गरेको बताए। ‘यहाँ साहित्यमा चम्किनका लागि नेपाली भाषामै रचना गर्नुपर्ने बाध्यता छ’ उनले भने।
कार्यक्रमको मोडरेटर जनकपुरका पत्रकार श्यामसुन्दर शशी थिए।