- संगी अशोक
गोवर माटोले लिपेको घर
आँगन छेउ बारी डिलमा
ढकमक्क फुलेका सयपत्री
जाई फूल र मखमलीहरू
पारिजातको मधुर सुगन्धले
देउरालीको माइथान ढोगी
एकैपटक हुत्त हुत्तिएर
पवन बेगमा सरर उड्दै
दाजुसामू मुग्लानमा
चेलीको आत्मीय पुकार
निम्तो बोकी तिहारको
जाऊ है छिट्टै सन्देश बनी !!
औंसी रात लाल्टिन बाल्दै
चिप्ला बाटा लड्दै र पर्दै
वल्लो घर पल्ला घर
वारी गाउँ पारी गाउँ
घर-घर दैलो चहार्दै
मादलु तालमा गाउँदै
भैलेनी देउसिरे भट्याउन
घाँगर चोली रिवन कोसेली
भिरेर मायाको मीठो पोटरी
झट्टै फर्की दाजु मेरा
यसपालि तिहार अगावै
गाउँ मझेरीमा झुल्की देऊ !!
हाम्रा सहारा दाजु तिमी
अभागी खप्पर पुर्न भनी
मध्ये रातमा मुग्लान झरेको
बार्दलीमा टोलाउँदै बसी
अश्रुधारा बगाउँदै मैले हेरेको
कठै त्यो वियोगान्त झल्को
सम्झँदा कुडिन्छ मन
परदेशमा बन्दकी बनी
अरबको रापमा पग्ली
नंग्रा खियाइ दु:ख गरेको
तड्पदै बितेका तिम्रा पल
सबै छोडी घर फर्क दाजु
निधारमा सप्तरंगी टीका
लगाउनु छ झट्टै आऊ है घर !!