भाग १
सर्वोच्च अदालत¸ इजलास नं. ४
आज इजलासमा अधिवक्ता र सर्वसाधारणको बाक्लै उपस्थिति थियो। कारण, आज वकिलको बहस छ।
...............सार्वजनिक सरोकारको मुद्दाको वकालत...................
वकिलः नेपाल राष्ट्र भनेको भूगोल र नेपाली जनता मात्र नभएर यहाँको प्राकृतिक र साँस्कृतिक सम्पदाको एक सगोल रूप पनि हो। नेपाली भन्ने शब्दले यहाँको वनजङ्गल र जीवजन्तु पनि समेट्छ । एक वैज्ञानिक अध्ययनले के भन्छ भने नेपाल हजारौं वर्ष अघिदेखि रातो बाँदरहरूको प्राकृतिक बासस्थान हो।
अझ काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने मानव बस्ती र सभ्यताको प्रारम्भ हुनुअघि नै राता बाँदरहरू यहाँ बस्दै आएका हुन्। मानवीय हस्तक्षेप र अतिक्रमणले उनीहरूको बासस्थान साँघुरिएको छ।
हाल रातो बाँदर पशुपतिनाथ मन्दिर क्षेत्र, स्वयम्भू नाथ महाचैत्य, थापाथली मन्दिर क्षेत्र वरिपरि बस्दै आएका छन्।
अमेरिकी स्वास्थ्य अनुसन्धान महाशाखा र नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले गरेको सम्झौता बमोजिम काठमाडौं उपत्यकामा रहेका ५०० राता बाँदरहरूलाई एचआइभी एड्स रोगको औषधि परीक्षण गर्नका लागि अमेरिका लगिँदै छ।
यस कार्यमा सहायता गरे वापत ५ लाख अमेरिकी डलर नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले पाउँदै छ। यी राता बाँदर नेपालको अमूल्य निधि हुन्। यिनको पनि बाँच्न पाउने प्राकृतिक अधिकार छ। कानुनका विद्वान बेन्थमले भनेका छन् ‘उनीहरू बौद्धिक छन् कि छैनन्¸ उनीहरू बोल्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महत्वपूर्ण होइन¸ उनीहरूले पीडा महशुस गर्छन् कि गर्दैनन् भन्ने प्रश्न महत्वपूर्ण हो।’ हो बाँदरहरू मानिस झैं बोल्न सक्दैनन्, मानिस जत्तिको बुद्धिमान छैनन् तर घाउ र चोटहरूले उनीहरूलाई पनि पीडा हुन्छ।
त्यसैले मानिस मात्रको लाभको लागि विकल्पहरूको खोजी नै नगरी प्रकृतिको एक स्वतन्त्र प्राणीमाथि हुने औषधीजन्य वैज्ञानिक प्रयोग एक अत्यन्त क्रुर अमानवीय कार्य हो र यसलाई रोक्नु पर्दछ।
प्राकृतिक न्यायको सिद्धान्त र वातावरणीय न्यायको अवधारणाविपरीत नेपाल सरकार¸ वन तथा वातावरण मन्त्रालय र अमेरिकी स्वास्थ्य अनुसन्धान महाशाखाबीच नेपालका राता बाँदरलाई औषधीजन्य प्रयोगका लागि अमेरिका लजाने सम्बन्धमा भएको करार सम्झौता उत्प्रेषणको आदेशद्वारा बदर गरी राता बाँदरहरूको संरक्षणका लागि परमादेश लगायत उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरीपाऊँ।’
भाग २
साँझको बेला।
वकिल आफ्नी छोरीसँग काठमाडौंमा दुइटा कोठा भाडा लिएर बसेका छन्। बेलुका उनी छोरीलाई गृहकार्य गराउँदै हुन्छन्।
वकिलः छोरी तिमीले आज विद्यालयमा के के पढ्यौ ?
छोरीः मैले आज धेरै पढेँ। थाहा छ बाबा, आज मैले कक्षामा एउटा कथा भनेको थिएँ नि।
वकिलः ए हो र । तिमीले कुन कथा भन्यौ नि?
छोरीः मैले डाइनासोरसको कथा भनेँ।
वकिलः ए, त्यसो भए तिम्रो डाइनासोरसको कथामा के के हुन्छ, मलाई पनि सुनाउन त।
छोरी: ल सुन्नुस् है बाबा। धेरै वर्ष पहिलेको कुरा हो। पृथ्वीमा डाइनासोरस र अन्य धेरै पशुपंक्षी बस्दथे। डाइनासोरसहरू निकै बलिया र ठूला थिए। अन्य जीवजन्तुहरू कमजोर थिए। डाइनासोरसहरूले उनीहरूलाई निकै हेप्दथे र कहिलेकाहीँ मारेर पनि खाइदिन्थे। एक दिन बाँदरको नेतृत्वमा जङ्गलमा चराचुरुङ्गी र जनावरहरूको बीच डाइनासोरसको आक्रमणबाट कसरी बच्ने भन्ने विषयमा गोप्य बैठक बस्यो। त्यस बैठकले डाइनासोरसको आतङ्कबाट बच्नका लागि चन्द्रमासँग सहायता माग्ने निर्णय गर्यो।
चराले उडेर त्यो खबर चन्द्रमा सम्म पुर्यायो। एक दिन चन्द्रमाले पृथ्वीमा रकेट पठायो। रकेटमा सबै चढे। बाँदरले रकेट उडायो र मंगल ग्रहमा गएर केही समयका लागि सबै जीवजन्तु उतै बसे। अनि चन्द्रमाले सूर्यको प्रकाश छेकेर पृथ्वीलाई केही समय अन्धकारमय बनाइदियो र पृथ्वी चिसो भयो।
चिसोले गर्दा गर्दा सबै डाइनासोरसहरू मरे। अनि फेरि मंगल ग्रहबाट सबै जीवजन्तुहरू फर्किए। उनीहरूले चन्द्रमालाई निकै धन्यवाद दिए। त्यसपछि पृथ्वीमा सबै जीव जन्तुहरू मिलेर सुखसँग बस्न थाले।
वकिलः स्याबास्, मेरी छोरीको कथा त निकै राम्रो रै’छ।
..........................
वकिल छोरीलाई सुताउन खोज्छन्। तर छोरीलाई निद्रा लाग्दैन। यतिकैमा छोरीले सोध्छे- बाबा, आमा कहिले घर आउनुहुन्छ ?
वकिल: पर्ख, म तिम्रो आमालाई फोन गरेर सोध्छु है।
फोनको घण्टी जान्छ..
वकिलः रिता यतिका दिन भै सक्यो अब त घर फर्क न।
रिताः आज के भएर मलाई सम्झनु भयो? तपाईंलाई त अरुका मुद्दा लड्दैमा फुर्सद हुँदैन थियो।
वकिलः छोड न रिता ती कुरा। छोरी तिमीलाई देख्न नपाएर आत्तिएकी छे।
रिताः मैले भनि सकेनी म अब त्यहाँ फर्कन्न। मलाई यही नै ठीक छ।
वकिलः तिमी किन यहाँ घर फर्कनौ रिता। आखिर मैले के नै गल्ती गरेको छु?
रिताः गल्ती त तपाईंले कहाँ नै गर्नु भएको छ। यत्रो वर्ष भै सक्यो तपाईंले वकालत गर्न थालेको। खै के प्रगति गर्न सक्नुभएको छ तपाईंले आजसम्म ? तपाईंलाई त सित्तैमा अरूका मुद्दा लड्दैमा¸हिँड्दैमा ठीक्क छ।
वकिलः रिता, छोरी तिमीसँग कुरा गर्न चाहन्छे।
रिताः भो मलाई अहिले लामो कुरा गर्ने मन छैन। पछि कुरा गरुँला।
वकिलः छोरी असक्त छे, मेरो माया नलागे पनि छोरीको लागि भए पनि त घर फर्क।
रिताः ऊ मेरोभन्दा पनि तपाईंकी छोरी हो। मैले त उसलाई जन्माउन नै चाहेको थिइनँ। तपाईंकै रहर र अडानले जन्मिएकी हो, त्यसैले छोरीको बाँकी सबै जिम्मेवारी पनि तपाईंको नै हो। म अब तपाईं र तपाईंकी छोरी दुवैबाट मुक्ति चाहन्छु।
यति भनेर रिताले फोन राख्दिन्छे।
(फोन काटिन्छ )
छोरीः आमा कहिले आउनु हुन्छ रे?
वकिल : तिम्री आमा छिट्टै आउँछिन्। मैले तिमीलाई माया गरेको छैन र? सधैं आमाको बारेमा मात्र सोध्छ्यौ।
छोरीः तपाईंले मलाई माया गर्नुभा छ तर आमाको याद आयो त्यसैले।
भाग ३
(वकिल दिनभरि अदालतमा बहस गरेर डेरामा फर्कन्छन्। उनलाई आजकल त्यति सञ्चो छैन। आज बहस गर्दागर्दै वकिललाई मुटु दुखेको थियो। छोरी बाबालाई बिसञ्चो भयो भनी निराश छे। ऊ आजकल विद्यालय जान पनि त्यति मन गर्दिन।)
छोरीः बाबा, म विद्यालय जान्नँ।
वकिलः मेरी यस्ती ज्ञानी छोरीले पनि विद्यालय जान्न भन्न हुन्छ। तिमी त पढेर ठूलो मान्छे बन्नु पर्छ।
छोरीः मलाई सबैले लङ्गडी भनेर जिस्काउँछन्, अरु सबै मिलेर खेल्छन्, मलाई परै राख्छन्।
मिसले पनि मैले नबुझेको कुरा बुझाउँनु हुँदैन।
वकिलः म तिम्रो मिससँग आज नै दिउँसो गएर कुरा गर्छु अनि सबै ठीक भै हाल्छ नि।
(एकदिन दिउँसोको समय¸ अलि बढी नै गर्मी थियो¸बहस गर्ने क्रममा वकिल मुटु दुखेर बेहोस हुन्छन्। उनका साथीहरूले उनलाई अस्पतालसम्म उपचार गर्न पुर्याउँछन्। अस्पताल पुगेपछि केहीबेरमा नै वकिलको आफैं होस आउँछ। डाक्टरले उनको रगत¸इसिजीलगायत अन्य परीक्षण गर्न लगाउँछन्)
वकिलको रिपोर्ट आउँछ।
डाक्टरः तपाईंलाई मुटुको क्यान्सर भएको छ। तपाईले छिट्टै सघन उपचार गर्नुपर्छ। तपाईंको क्यान्सर अहिले पहिलो चरणमा नै छ। त्यसैले उपचार गरे पूर्णरूपमा निको पनि हुन सक्छ।
वकिल आफूलाई क्यान्सर लाग्यो भन्ने थाहा पाउँदा पनि खासै आत्तिदैनन्। उनी केहीबेर सोच्दछन् र डाक्टरलार्इ सोध्दछन्।
वकिलः मेरो उपचार कहाँ कहाँ हुन्छ होला ? अनि उपचार खर्च कति जति लाग्छ होला?
डाक्टरः तपाईंको उपचार नेपालमा संभव छैन। तपाई उपचारको लागि भारतको दिल्ली जानुपर्ने हुन्छ। त्यस्तै कम्तीमा पच्चिस तीस लाख जति उपचार खर्च लाग्छ होला।
भाग ४
(वकिलकी श्रीमतीले जिल्ला अदालतमा वकिलसँग सम्बन्ध विच्छेदको मुद्दा हाल्छिन्)
आज मुद्दाको अन्तिम फैसला हुँदैछ।
रिताः श्रीमान्, म मेरो लोग्नेसँग डिभोर्स चाहन्छु।
न्यायाधीशः छोरी कसले पाल्नु हुन्छ त?
रिताः उहाँले नै पाल्नुहुन्छ।
वकिलः हुन्छ¸ म नै राख्छु छोरीलाई।
आज वकिलको मन केही खल्लो भएको छ। जीवनभरि साथ दिन्छु, सुःख दुःख साटौला भनेकी थिर्इ तर दुःखै दुःखमा छोडेर गई। वकिललाई ऊ क्यान्सरविरूद्ध जीवनका लागि संघर्ष गर्दैगर्दा उसकी श्रीमतीले छोडेर गएकोमा चिन्ता थिएन तर उसकी सानी छोरीलाई समेत छोडेर गएकोमा भने चित्त दुखेको थियो।
सानी छोरी रुँदै भन्छिन्¸आमा तपाईं हामीसँगै बस्नुस् न।
रिता छोरीको कुराला सुन्दै नसुने झैं गरी आफ्नो बाटो लाग्छिन्।
अदालतले वकिल र रिताबीच सम्बन्ध विच्छेद हुने फैसला गर्दछ। छोरीको शिक्षा दिक्षा र संरक्षकत्वमा पनि वकिलको दायित्व हुने भनि फैसलामा उल्लेख भएको हुन्छ।
रितासँग सम्बन्ध विच्छेदको मुद्दा टुङ्गिएपछि वकिल आफन्तकहाँ केहीदिन छोरीलाई छोडेर उपचारको लागि भारतको दिल्ली जान्छन्।
पहिलो पटकको किमो लगायत अन्य उपचारमा झण्डै पाँच लाख जति खर्च हुन्छ। अझै तीन पटक किमो र दुई तीन वर्षसम्म औषधि खाँदा कम्तीमा पनि थप बीस लाख खर्च हुने देखिन्छ।
पहिलो चरणको किमो र उपचारपश्चात वकिल नेपाल फर्किएर पैसाको जोहो गर्ने प्रयास गर्दछन् तर कही कतैबाट पनि सापटी¸ऋण धन मिल्दैन।
अनि उनी फेरी वकालत पेशामा नियमित जसो जान थाल्छन्। वकिलले केही सार्वजनिक सरोकारका मुद्दा लडिरहेका थिए¸ केही गरिबका मुद्दा थिए तिनबाट कुनै पारिश्रमिक आउँथेन। बाँकी अन्य मुद्दाबाट आएको पैसा पनि घर खर्चमा नै ठीक्क थियो। अस्पतालले दोस्रो पटक किमो लिन र उपचार गर्न बोलाएको मिति पनि बित्छ। वकिललाई फेरि मुटु दुख्न थालेको हुन्छ तर उनी अदालतमा बहस गर्न जान छोड्दैनन्। एक दिन बहस गर्दै गर्दा उनी मुटु दुखेर बेहोस हुन्छन्।
डाक्टरः तपाईको स्वास्थ्य पूरै बिग्रिसक्यो। अब तपाईंको मुटु यही अवस्थामा धेरै दिन काम गर्न सक्दैन। तत्कालै थप उपचार गर्नु भएन भने तपाईंको उपचार कुनै पनि देशका अस्पतालमा संभव हुने छैन।
एक हप्ता आराम गरेपछि ...
क्यान्सरले थिलिएको कमजोर शरीर, त्यही पनि वकिल आफ्नो ल फर्ममा गएका हुन्छन्। उनलाई भेट्न धरौटीमा छुटेका केही कर छलीका अभियुक्तहरू बिहानै ल फर्ममा आएर बसेका हुन्छन्।
कर छलीका अभियुक्तहरू : वकिल साब तपाईंले हाम्रो पक्षबाट एउटा मुद्दामा बहस पैरवी गर्नुपर्यो। तपाईंले लडेको मुद्दा भने पछि सर्वसाधारण र मिडियाको हेर्ने दृष्टिकोण नै अर्कै हुन्छ।
वकिल उनीहरूको मुद्दा लड्न अस्वीकार गर्दछन्।
भाग ५
रातको ८-९ बजे। वकिल र वकिलकी छोरी वरन्डामा मक्कलमा केही साना दाउरा बालेर आगो ताप्दै आकाशका तारा हेर्दै बसिरहेका हुन्छन्।
छोरीः बाबा तपाईंलाई के भएको छ।
वकिलः मलाई क्यान्सर भएको छ छोरी।
छोरीः क्यान्सर भएपछि के हुन्छ नि बाबा?
वकिलः क्यान्सर भएपछि छिट्टै मरिन्छ छोरी।
छोरीः बाबा मरेपछि के हुन्छ नि?
वकिलः ऊ त्यहाँमाथि आकाशमा हेर त, मरेपछि त्यही आकाशमा पुगिन्छ र तारा भइन्छ।
छोरीः त्यसो भए म पनि हजुरसँगै मर्छु नि है बाबा।
वकिलको आँखाबाट बरर.. आँसु झर्छन्।
छोरीः बाबा किन आँसु झार्नु भएको। मलाई पनि रुन मन लाग्यो।
वकिल आगो निभाएर छोरीलाई सुताउन लग्छन्। छोरी एकछिन मै निदाउँछे। ऊ निदाएकी छोरीको कलिला निर्दोष अनुहारमा हेर्छ।
‘यो मुटुको टुक्रालाई एक्लै छोडेर कसरी जाने होला। म त अब केही दिन मै मर्छु होला। म मरे पछि यो छोरीलाई कसले पाल्छ होला? कसले पढाउँछ होला? अनि कसले माया गर्ला?’ वकिल सोच मग्न हुन्छन्।
अर्को दिनको साँझ।
छोरी खाना खाइवरी गृहकार्य गरेर निदाएकी हुन्छे। वकिल निदाएकी छोरीको कलिला निर्दोष अनुहारमा हेर्दै बसेका हुन्छन्।
उनलाई आफूलाई लागेको मुटुको क्यान्सरले भन्दा पनि छोरीको भविष्यले पिरोलिरहेको हुन्छ। छोरीको चिन्ताले उनी जिउँदै चितामा जलिरहेका हुन्छन्।
त्यसैबीच एउट सन्नाहट छाउँछ...
वकिल आफ्नै मुटुको टुक्रा,मस्त निदाइरहेकी छोरीलाई सिरानीले मुख थुनेर मारिदिन्छन्।
केही बेरपछि उनी आफ्नी मरिसकेकी प्यारी छोरीलाई आफ्ना ती काँपिरहेका अपराधी हातहरूले अनुहारमा विस्तारै सुम्सुम्याउँछन्। उनको छोरीको शरीर चिसो भैसकेको हुन्छ।
त्यो मुटु नै ठिर्याउने चिसो अँध्यारो रातमै हल्ला चल्छ¸वकिलले आफ्नै छोरी मार्यो रे...उसले आफ्नो कालो कोट र भए भरका सबै किताब¸प्रमाणपत्रहरू च्यातिरहेका हुन्छन्।
यसैबीच प्रहरीहरू आएर वकिललाई पक्राउ गरेर लग्छन्।
भाग ६
वकिलको बयान
सत्य साँचो व्यहोराको बकपत्र गर्नेछु भनी ईश्वरको नाममा सपथ लिनुहोस्।
उत्तरः......
तपाईंले आफ्नै नाबालिग अशक्त छोरीको हत्या गरेको कुरा के साँचो हो ?
उत्तरः.................
तपाईंले आफ्नी नाबालिग अशक्त छोरीको हत्या गर्नुको कारण के हो? यसमा अरु कसैको संलग्नता छ कि छैन ?
उत्तरः ......
(वकिल मौन बसिरहन्छन्। कुनै पनि प्रश्नको जवाफ दिँदैनन् )
जिल्ला अदालत
न्यायाधीशः मलाई त विश्वास नै गर्न गाह्रो भएको छ। मैले कहिल्यै सोचेको थिइनँ वकिल साप तपाईंबाट यस्तो अपराध होला भनेर। आखिर यो सब तपाईंले किन गर्नुभयो?
वकिल मौन बस्छन्। न्यायाधीशका अन्य प्रश्नहरूको पनि उनले जवाफ दिँदैनन्।
अन्तत; अदालतले वकिललाई आफ्नै अशक्त नाबालिग छोरीको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मुलुकी अपराध संहिता¸ २०७४ को कर्तव्य ज्यानको महल¸ दफा १७७ बमोजिम जन्मकैदको सजाय हुने फैसला गर्दछ।
फैसला भएकै दिनको चिसो अन्धकार रातमा कारागारकै एउटा कोठामा वकिलको मृत्यु हुन्छ।