लावण्य देश यस लोकको एउटा विचित्र देश थियो।
त्यहाँ पशुपंछी र कीरा फट्यांग्रा मात्र बोल्न सक्थे। प्राणीमध्येको चेतनशील जीव भएर पनि मान्छे भने अबोला थियो त्यहाँ।
ऊ केबल इशारा र हाउभाउबाटै कुराकानी गर्न विवश थियो। सुनेर देखेर उसले सिकाइ त थुप्रै गरेको थियो र ज्ञान पनि राम्रै राख्दथ्यो। पशुपंछी र कीरा फट्यांग्राहरूको जीवनसँग आफ्नो अस्तित्व गाँसिएको चेतना पनि उसमा भलिभाँती थियो। तर ऊ बोल्न नसक्ने मान्छेको नियति भोग्दथ्यो।
यस अर्थमा मान्छेबाहेक लावण्य देशका प्राणीहरू वरदान प्राप्त थिए। तर तिनीहरूको पनि एउटा समस्या भने ठूलै थियो।
फलफूल, तरकारी तथा सागपातमा मान्छे जातिले प्रयोग गर्दै आएको विषादीका कारण तिनीहरूको जीवन पद्दति दुरुह बन्दै गइरहेको थियो। त्यसो त आफ्नो अस्तित्व रक्षाका लागि विभिन्न तह तप्काका नेतृत्वलाई तिनीहरूले नगुहारेका पनि होइनन्। तर केही सीप नलागेपछि एक दिन तिनीहरू आन्दोलनमा उत्रिन बाध्य भए। आफ्नो बाँच्न पाउने अधिकारका लागि मान्छेविरूद्ध संगठित आवाजसहित लड्ने निष्कर्षमा पुगे।
फलतः लुवाटारका काग, शीतमहलका कोइली, बाघदरबारका पट्टु सुगा र चारकोशेका केही थान चौपायाहरू मिलेर एउटा संयुक्त डेलिगेसन बनाए।
देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर आफ्ना समस्या सुनाउने तथा बुझाउने निधो गरे।
तत्कालै दुवै जनालाई भेटी पालैपालो सबैले आफ्ना दुखानुभूति प्रकट गरे। विषादीयुक्त चारो टिपेर कागले आफ्ना नवजात बचेराहरू बचाउनै नसकिने परिस्थिति आइलागेको कुरा बतायो।
कोइलीले पुस्तौंदेखि अपराधी ‘को हो, को हो’ भनेर सोध्दै आएको प्रश्न अझै अनुत्तरित रहेको दुखेसो पोख्यो।
यता ‘राम राम’ बोल्ने पट्टु सुगाले भने विषादीयुक्त खानाले आफ्नो जिब्रो नै सुन्निएर अचेल ‘हराम हराम’ बोल्न थालिएको अनौठो समस्या सुनायो।
चौपायाले पनि चरन, पानी तथा अन्नउपज जताततै विषादीमय भएकोले चौपट्टै सास्ती खेप्नुपरेको दु:ख पोख्यो।
सबैका कुरा सुनिसकेपछि लावण्य देशका प्रधानमन्त्री दुखी बने। साथै उनले सबैप्रति सहानुभूति प्रकट गरे।
छुट्टिनासाथ उनका सल्लाहकारले डेलिगेसनलाई एउटा फरकै लिपीमा लेखिएको चिर्कटो थमाए। सबै मुखामुख गर्न थाले। लेखिएको विषयवस्तुबारे भने कसैले भेउ पाएनन्।
कागले आफ्नो भाषाविद साथीलाई गुहार्यो र बुझ्ने भाषामा उल्था गरिदिन आग्रह गर्यो
‘हामी नीलकण्ठ बनेर तिमीहरूको अस्तित्व रक्षा गर्छौ’ कागको साथीले चिर्कटोको व्यहोरा यस्तो रहेको जवाफ फर्कायो। अब सबै अलमलमा परे। खास भन्न खोजेको के हो? अधिकांशले बुझेनन्। त्यत्तिकैमा एउटा नीलो घाँटी भएको चराले आफूजस्तै बन्ने प्रधानमन्त्रीको प्रस्ताव मन नपरेको बतायो।
‘मजस्तै नीलकण्ठे बनेर किन मेरो कपिराइटको हनन् गर्न खोज्नुभयो प्रधानमन्त्रीले, मान्छे मान्छे नै रहनुपर्यो?’ ऊ थप जंगियो।
उक्त चरोको अनौठो कुरा सुनेर चतुर काग हाँस्यो। अघि सरेर नीलकण्ठको प्रसंग सबैलाई बुझाउन थाल्यो।
‘यो चिरबिरेले भनेजस्तो केही पनि होइन प्रधानमन्त्रीको चिठीको अर्थ।’ ऊ बोल्दै गयो,‘पौराणिक कालमा देवता र राक्षसहरूबीच समुद्र मन्थन हुँदा निस्केको सबै विष शिवजीले पिएर आफ्नो घाँटीमा राख्नुभएको थियो। त्यसयता हामी उहाँलाई नीलकण्ठ भनेर पुज्छौं। साथीहरू, प्रधानमन्त्रीले भन्नुभएको कुरा ठीक त्यस्तै हो, यो त कल्याणकै कुरा भयो, हामी सबैले उहाँलाई धन्यवाद दिनुपर्दछ।’
सोझा प्राणीहरूले कुरा पत्याए। एकाएक उहाँप्रति अनुग्रहित बने। अनि खुशीभावमा एक स्वरले भट्टयाउन थाले, ‘नीलकण्ठ प्रधानमन्त्री जिन्दावाद, लावण्य देश अमर रहोस्।’