शरीरका चोट सही सायद हल्कै मर्न सक्छु
आफ्नै अंग कोतरेर जमिनभरि छर्न सक्छु ।।
चाहे तातो तेलको खोला किन नहोस् अघिल्तिर
आँखा चिम्म गर्दै बरु नांगो जिउ तर्न सक्छु ।।
मेरो तातो अंगालोले तिमीलाई पोल्ने भए
झिटी गुन्टा पोको पारी अन्तै डेरा सर्न सक्छु ।।
छायासम्म पनि मेरो उराठलाग्दो हुन्छ भने
गगनचुम्बी महलबाट एकैपटक झर्न सक्छु ।।
तर मुटुसम्म पुग्ने तातो झीर रोपेपछि
आँखाबाट बग्नु बाहेक अरु के नै गर्न सक्छु ।।