तिम्रो महानताको गाथा गाउँदिन म
तिमी माथिको दलन र उत्पिडनलाई
महानता भनी प्रचार गर्दिनँ म
पितृसत्ताको बर्बर यातना सहेकी तिमीलाई
सहनशीला शुसीला भनी सम्बोधन गर्दिनँ म
घरका चारभित्तामा कैद गरेर तिमीलाई
देउता बनाउदिनँ म
झुत्रो, झाम्रो र मैलो तिम्रो बिम्ब देखाएर
भावुकतामा आँशु झार्दिनँ म
तिमीलाई निरीह र कमजोर देखाएर
धर्तीको उपमा दिन्नँ म।
आमा
तिमीलाई महान बनाएर शोषण गर्नेको
अनुहार नङ्गाउनु छ
वृद्धआश्रममा तिमीलाई फ्याकेर फेसबुकमा
शुभकामना लेख्नेका यथार्थ बुझाउनुछ
महान कवि बन्न तिम्रो विवशतालाई मलजल
गरि लेख्नेलाई चिन्नु छ
तिमीलाई कुल्चेर मर्द बनेको त्यो पुरूषको
अहंकार तोड्नुछ
तिमीलाई भावुकता, रोदन र मिथ्या प्रशंशाबाट
यथार्थको धरातलमा ल्याउनु छ आमा
यो पितृसत्ताले मनाउने झुटो आमा दिवस
मनाउदिन म
सात समुद्रपारी बसेर शुभकामनाको सन्देश
लेख्दिन म
तिम्रो शोषणको कथालाई भुलेर तिमीलाई
महान बनाउदिनँ म
तिम्रो महानताको गाथा गाउँदिनँ म।