आमा,
तिमी बाबालाई
कति माया गर्छौ नि है!
आज एउटा जवाफ देऊ न,
तिमीले बाबालाई गर्ने मायाको जात कुन हो?
बाहुन, नेवार, लिम्बु या क्षेत्री
कुन हो, आमा?
मैले नि,
एउटा साथी भेट्टाएँ, आमा ।
जसलाई म,
तिमीले बाबालाई गर्ने जतिकै माया गर्छु ,
र उसले पनि मलाई
बाबाले तिमीलाई गर्ने जति कै माया गर्छ।
तर आमा,
तिम्रो र मेरो माया,
फरक भयो रे!
म नेवार
उ बाहुन पर्यो रे ।
आमा, मैले गरेको मायाको जात चाहिँ कुन पर्यो?
जात । जात । जात ।
यो जातले गर्दा
परिवार, समाज सबैले
मेरो मायालाई
जा-जा भन्दै छन् ।
छ्या छ्या गर्दै छन् ।
तर तिमी त बुझ्छ्यौ नि आमा,
माया अबोध हुन्छ ,
तर अपराध हुँदैन ।
म त
सबैको मनमा राज गर्ने
हाम्रो परिवारको
ताज थिएँ नि है आमा?
तर आज,
अर्को जातसँग
मायाको आभास हुँदैमा
यो समाजमा
म कसरी एक लाज बनेँ ?
आमा,
तिमीले त बाबासँग
तीस वटा वर्ष बिताई सक्यौ ।
सम्बन्धको यति लामो गोरेटोमा
तिमीलाई केले डोर्यायो आमा?
बाबाको थरले कि?
बाबाको भरले ?
जब जब
कामको जोडले
तिमी कमजोर हुन्थ्यौ
र बिरामी पर्थ्यौ,
त्यो बेला तिमीलाई के सन्चो बनाउँथ्यो आमा ?
बाबाको थरले कि ?
बाबाले तिमीलाई मायाले गरेको स्याहारले?
जब जब तिमीलाई
भक्कानो फुटेर
रुन मन लाग्थ्यो,
त्यो बेला तिमीलाई के याद आउँथ्यो?
बाबाको जात कि
'नरो ए साने, म यही छु' भन्दै,
आँसु पुछिदिने बाबाको हात ?
आमा,
दुई वटा बाल बच्चा हुर्काएर,
घर सम्हालेर,
परिवार मिलाएर ,
२५ वर्ष सम्म,
आज पनि तिमी
आफ्नै नाम लिएर,
रहरको काम गरिराछौ,
यो सबै केले समम्भव बनायो ?
बाबाको जातले कि
हर पाइलामा
बाबाले दिएको साथले ?
बाबाको थर त
कहिले काहीँ मात्र
तिम्रो नाम पछाडि आयो होला,
तर जुन आधार
तीस वर्ष सम्म
तिम्रो सास बनेर,
साहस बनेर,
आज पनि तिम्रो छाया भएर,
तिमी सँगै हिँड्दै छ,
त्यो हो, बाबाको माया ।
र आमा मैले पनि
त्यस्तै एउटा माया भेट्टाएकी छु,
तिमीले बाबालाई गर्ने जस्तै माया ।
आमा,
म अझै पर्खिरहेछु, त्यो दिनलाई
जुन दिन तिमी
मेरा प्रश्नहरूको जवाफमा भन्नेछौ,
"तिम्रो र मेरो माया उस्तै हो ।
आखिर मायाको जात एउटै हो" ।