किनकि म अब चाँडै सन्त बन्नु छ!
अन्तिम पटक
ढ्याके ब्याजको आसामीले गाउँबाट पठाएको
दुइटा भाले ढालेर साँप्रा लुछ्नु छ
काम गरिदिए बापत ठेकेदारले पठाएको
बिदेशी रक्सीका बोतलहरू फोर्नु छ
किनकि
म अब चाँडै सन्त बन्नु छ
अन्तिम पटक
उपहारको सामान हालेर बनाएको
तीन तल्ले महलमा दुई तल्ला थप्नु छ
तल्ला तल्लामा आलमारीहरू थपेर
रँगिचँगी पोशाकहरू सर्लक्क मिलाउनु छ
किनकि
म अब चाँडै सन्त बन्नु छ!
अन्तिम पटक
पुरानो साथीलाई जीवनसाथी बनाई भित्र्याउनु छ
चिनेको मान्छेलाई साथी बनाउनु छ
नेपाली, हिन्दी, भोजपुरी, अँग्रेजीका
चर्का चर्का गितहरू गाउनु छ
ड्याँम् ड्याँम् डुम् डुम् बाजा बजाउनु छ
हात समाई नाच्नु छ, खित्का छोडेर हाँस्नु छ
भोज गर्नु छ, मोज गर्नु छ
किनकि
म अब चाँडै सन्त बन्नु छ!
दुई चार वटा कानुन लत्याउनु छ
एक दुई वटा पद हत्याउनु छ
केही प्रसंसापत्र र पदवी पड्काउनु छ
निमुखा र निरिहलाई गालामा चड्काउनु छ
किनकि
म अब चाँडै सन्त बन्नु छ!
अन्तिम पटक
बिस्वास गर्नेलाई धोका दिनु छ
मन नपरेकाहकाहरूसँग बदला लिनु छ
आस्रय लिन आउनेलाई बलात्कार गर्नु छ
झुत्रे झाम्रे गरीब सन्तहरूलाई तिरस्कार गर्नु छ
किनकि
म अब चाँडै सन्त बन्नु छ!
म अब चाँडै सन्त बन्नु छ!!