छोरीहरू
बिन्ती,तिमी नजन्मिदेउ
यो आकाशमा तिमी समाहित नै छैनौं
यहाँ त ठूला ठूला भ्वाङ छन्
आदिमकालिन् गुदिले बनेका
रुढीवादी ओजोन तहहरूमा
र बारम्बार पोल्छन् तिमीलाई
कुसंस्कारका विकिरणहरुले
छोरीहरु
तिमी गर्भमै रमाइरहँदा
तिमी कोष कोष,अंग अंग बनिरहँदा
तिमी थोपा थोपा रगतले सिन्चित हुँदा
तिम्रो धमिलो आकृति चिनेर
निमिट्याङ पारिन्छ तिमीलाई
पोकोमै गलेका एग्रोभेट्का दानाहरु जस्तै
छोरीहरु
तिमी थोरैमात्र के लम्बिन्छौ
तिम्लाई चुल्हो बाल्न सिकाइन्छ
तर आत्मविश्वास बाल्न सिकाइँदैन
तिम्लाई दाउरा बोक्न सिकाइन्छ
तर चुनौतीहरु बोक्न सिकाइँदैन
अनि चटकेहरुको यो समाजमा
एक जोर निलो कमिज र फ्रक बेरेर तिम्लाई
पठाइन्छ नजिकैको पाँच कक्षे स्कुल
न त्यो स्कुलको तह तिम्रो पढाईसँगै बढ्ने छ
न बढ्ने छ तिम्रा बा को सोचको परिधि
अनि काटिन्छन् तिम्रा कोमल पखेटाहरु
अनि जब तिमी उड्न नपाएर तड्पिन्छौ
तब आबेदन भरिन्छ
एक जोर नयाँ पखेटाको
जसमा पोतिएको हुन्छ ‘महिला आरक्षण’
छोरीहरू
घोर कलियुग छपक्क छ
तिमी सानीनै छौ
भाडा कुडा खेल्न दौडिन्छ्यौ
तिमी बुझ्ने हुँदैछौ
किताब च्यापी स्कुल जान्छयौ
तिमी जवान भैसक्यौ
अब तिमी काममा जान्छ्यौ
तर, तिमी फर्किन्नौं छोरी
फर्किन्छ त केवल
तिम्रो नाङ्गो अनि रक्ताम्य शरीर
योनपिचासको नंग्रे दाग बोकेर
अनि छिया छिया परेको मुटु लिएर
सुकेका ओभाना आँखा बोकेर
न्यायको चीत्कार गर्दा
तिम्रो आत्माको शान्ति खोज्दा
यहाँ त एक खुल्ला मञ्च पनि
केही थान षडयन्त्रका पर्दाले बेरिन्छन्
र रोपिन्छन् पापका बिकासी बिउहरु
अनि होस गुमाउँछन् तिम्रा बा-आमाहरु
र डाको छाडेर रुन्छ्न तिम्रा आत्माहरु
छोरीहरु
तिम्रो रजस्वलाले गति नलिदै
तिम्रो ज्यानले पूरा आकार नलिदै
तिम्लाई थाम्न छाड्छन् घरका भित्ताहरु
र अटाउन छाड्छन घरका कोठाहरु
बढ्छन बा आमाका रात्रि गुन गानहरु
अनि छिट्टै समय आइपुग्छ
जब ‘निर्जीव’ तिमीलाई
एक बिटो दाईजोले ‘सजीव’ पार्दै
धपाइदिन्छन त्यो अन्जान दैलोमा
त्यहाँका सारा माग पूरा गर्ने ठेक्कामा
जबर्जस्ती एक ‘आइमाई’ घोषित गर्दै
छोरीहरु
मानौ तिम्रो बोलीको कुनै तुक छैन
मानौ तिमीमा केही संबेदना छैन
तिमी त बस एक मेशिन हौ
पाठ्यघर जडान गरिएकी
जस भित्र
एक जोडी चाउरीएका हातहरुको
"नाति" सुमसुम्याउने सपना टार्न
कुदाइन्छन् एक हुल वीर्यहरु
तर संसार गोलो छ हजुर
हुर्किदिन्छन् फेरि पनि "छोरीहरु"