तिमीलाई थाहा छैन...?
यो सीता जन्मिएको देश हो..।
के तिमीलाई थाहा छैन
यो भृकुटी जन्मिएको देश हो।
यहाँ बीरङ्गनाको नाम जपिन्छ
तिमीजस्तो
आफ्नै नेपाली दाजुभाईको
यौनप्यास बुझाउन
ज्यानै फाल्नुपर्ने
मासुम बच्चीको हैन ।
अब के आशा गर्दछौ ?
आफ्नै ठाँउमा लुटिईसकेपछि पनि
के न्याय माग्दछौ ?
कोपिलामै झरिसकेपछि ...
यो नवदुर्गाको नौ दिन सम्म पूजा गर्ने देश हो ।
तिमीजस्तो चेलीलाई न्याय दिने होइन ।
किन मेरो सुन्दर , शान्त नेपाललाई
विश्व सामु लज्जित बनाउँदैछौ ?
यो त गौतम बुद्ध जन्मिएको देश हो
यसरी पो चिनाउनु पर्ने त ...
आजकाल सुन्छु
बलत्कारीको देश भनिन्छ रे बिदेशमा
हेर त मेरा सारा जिजुबाजेहरुले
रचेको इतिहाँसमा
तिमीले बेइज्जतको कत्रो धब्बा लगाइदियौं।
एकपटक हेर सत्तामा हुनेहरु
तिम्रै कारणले पोलपोलमा चढ्न बाध्य छन् ,
सारा शैनिक प्रशाशन लागि पर्नु परेको छ
तिम्रा न्याय नभेटिएको
गुनासो पोखिएको पोष्टर च्यात्न ।
तिमीले आवाज त्यसरी नै दबाउनु पर्ने थियो
जसरी
तिम्रा आफ्नै नेपाली दाजु भाईले
यौनको चरम उत्कर्षमा पुग्दा
तिमीलाई असह्य भएर रूदा, चिच्याउँदा
तिम्रो मुखमा कपडा कोची
घाटी थिच्दा तिम्रो आवाज मात्रै होइन
तिम्रो क्रन्दनलाई सहन नसकी,
तिम्रो पीडालाई
हेरिरहन नसकी
तिम्रो प्राण पनि विस्तारै विस्तारै
हावामा विलिन हुदै गएको थियो
हो त्यसरी नै
जसरी ती यौनपिपासु
तिम्रो फक्रिई पनि नसकेको
कलिलो शरीरलाई
कुनै परिकार जस्तो मानी
घुटुकघुटुक थुक निल्दै कोपरिरहँदा
असाहय बने झै बनिदिनु पथ्र्यो।
यो आमाको नाउँबाट नागरिकता बाँडे
देशद्रोही जन्मिन्छन् भन्ने
तर्क गर्ने बद्धिमानहरुको देश हो ।
यो खुलेलाम बलत्कारी डुल्ने देश हो ।
त्यसैले निर्मला
तिमीजस्ता आधा यहाँ
ज्युँदो लास सरह बाँच्नुपर्ने डरले
आत्महत्या गर्छन्
आधा लाश भएर बाच्छन्
आधा त्यही पनि हिंस्रक मनुष बाट
बच्न समेत पाउदैनन्
तर चुप छन् तिम्रो देशको न्यायलय
ताकि तिम्रो इज्जत लुटिए पनि
देशको इज्जत बचोस् ।
लागि परिरहेका छन् तिम्रा आवाजहरु दबाउन ।
त्यसैले
निर्मला तिमी किन आइरहन्छौ?