आज तिमीलाई लागेको होला
मैले समय माथि विजय हासिल गरेको छु
मेरो निधारको चन्दनले मेरो हरेक पाप धोइहाल्छ नि
न्यायको लागि चिच्याईरहेका उनीहरु आवाज विहिन भएपछि
म उनीहरुकै लासमाथि मस्त निदाउँनेछु
म चाहिँ हेर्दैछु, तिमी ऐनामा आफैँ सँग कसरी आँखा जुधाउँदै छौ
हरेक बिहान मन्दिर अगाडि कसरी उभिन सकेका छौ
हो, आज जरुर धिमा छ उनीहरु माथि घामको प्रकाश
बन्द देखिएको छ न्यायको दरवाजा
भलै मौन होलिन् न्यायमूर्ति
कसैको आत्मा निमोठेर नियम माथि छु भनि उन्मत्त तिमी
राम्ररी सुन!
चराचर जगतको एउटै कानुन छ
जस्तो बिज रोप्यो उस्तै फल फल्छ
लाख याचना गर म सुन्ने छैन
मलाई तिम्रो साबिती चाँहिदैन
मेरो अदालतमा न चाहिन्छ
देखी जान्ने, सुनि जान्ने
न कुनै किटानी जाहेरी
न कुनै डि. एन. ए. टेस्ट
मलाई को नै रिझाउनु छ र ?
हरेक प्रमाण कैद छन् यी आँखामा
न नातावाद, न कृपावाद
कुर्नु पर्दैन अर्को जन्म
यहि जन्ममा
हजारौँ निर्मलाहरु पठाएर सपनामा तिम्रो एक-एक निद्रा हराम गर्नेछु
हरेक रात ऐँठनले निस्सासिएर ब्यूँझनेछौ तिमी
आज तिमीले जितेको भनेको यहि समयको कोर्रा बनाएर
यसरी हान्छु कि तिमी भयभीत भई आफैँ ओकल्नेछौ सारा सत्य
माग्नेछौ मसँग मेरो परिचय
म हाँस्दै भन्नेछु
“मेरो नाम कर्म”