१
गुलेलीसित सधै डराएर बस्नु पर्ने चरालाई
म त खतरा हु के को डर हुन्छ खतरालाई
आखिर टुट्यो गरीब हुनाले बिहेको बन्धन
पुरा गर्न सकेन पतिले पत्निका नखरालाई
यि दुई चिज छैन त मान्छेको अस्तित्व छैन
कहिल्यै नबिर्सनु आमालाई अर्को धरालाई
लाचार पिताले जवाफ दिन सकेन छोराको
यो हिउँद किन आउछ बा यसरी टहरालाई
स्वर्गमा बसेर पनि नाङ्गिनु पर्ने देवता अघि
रहर थियो कि बाध्यता थियो अप्सरालाई
२
हातले समातेर राख्यो काधमा सवारी दियो
छोरालाई जिताउन भनेर पिताले हारी दियो
भाडाको कोठा जस्तो भए के हुने मन पनि ?
वल्लो घरमा कुरा मिलेन पल्लोमा सारी दियो
कति सजिलो छ है बच्चालाई माग पुरा गर्न
अलिकति रोयो र खुट्टा माटोमा बजारी दियो
फूलले छातीमा टेकेर फुलेको गुन चुकाएछ
त्यसै हाँगालाई थिचेर जमिनमा लछारी दियो
गलती गर्यौ ढुक्कले कसैले देख्दैन भनेर ?
पानीभित्र गरेको दिसा पानीले उतारी दियो
३
पहिले त पिउने र पिलाउने क्रम जारी थियो
पछी दुई जड्याहाको युद्ध गर्ने तयारी थियो
कति सजिलै भन्नु भयो है ऊ वेश्या हो भनेर
उसको शरीर नै लालबाला पाल्ने बारी थियो
दुखलाई भण्डारण गर्ने ठाउँ भेटाउन सकिन
हुन त घरमा धान गहुँ राख्ने भकारी थियो
छोराछोरीलाई बा भनी चिनाउन सरम लाग्छ
तिनकै लागि म बुढोको पिठ्युँमा भारी थियो
यस्ता घटनाले प्राय मजबुरीतिर संकेत गर्छ
असलमा हिरा नचिन्ने मान्छे नै जुहारी थियो