कोही
छाति चिरिए सरह चिच्याएको आभाष!
म चीत्कार भित्रीको एक अठ्ठहास सुन्छु
कोही बेस्सरि रूँदै छ
मेरो मानसपटलमा!
र मेरो अंग अंग
चर्चरी चिरिएको महसुस गर्छु
म देख्दैछु कि नरपशुले बालिक देह नाँच्दैछ
सायद तिमी निर्मला पन्त हौ?
जसको बलात्कार अनि निर्मम हत्या भएको थियो!
दोष तिम्रो यही कि
उसको बक्षस्थल
पूर्ण बिकशित नहुँदै
यौनको नशामा चुर्लुम्म डुबेको नर त्यो
तिखा तिखा नंग्रा
भएभरको बल लगाएर ऊ
लुछ्न सुरू गर्यो होला होइन त निर्मला?
तिम्रो अबोध र निर्बल बालिक शरीरले कसरी थेग्नु
उसको हवसले अन्धो भएको ऊ!
तिमी चिच्याउदा सुख्खा भएको गला
एकोहोरो
लुछिनुको पीडाले अर्धमृत ए निर्मला!
तिम्रो गल्ती छोरी भएर जन्मनु भो
आधा मरण त्यती बेलै मर्यो होला
जब
तिम्रो शरीरमा पापीले जबर्जस्ती गर्यो!
हामी कल्पना गर्दैछौं!
ए निर्मला!
तिम्रो श्वास जानुभन्दा पहिले तिम्रो अनेकौं मृत्यु भो होला!
ए निर्मला!
तिम्रो दोष यही भो!
कि तिमी छोरी बनेर जन्मियौं
कि तिमीसँग वक्षस्थल र योनी थियो।
कस्तो बिडम्बना!
माफ गर निर्मला
तिम्रो इज्जत लुटेर
तिम्रो हत्या गर्ने हत्यारा
जोगाउन आज कानुनको रखवाला
प्रशासन र बर्दिवालाहरू लागेका छन्
र त हामी लाचार छौं!
कसले दिन्छ तिम्रो चित्कारलाई न्याय?
माफ गर निर्मला!
हामी विवस छौं!
कि तिम्रो जन्म न्याय बलात्कार भएको देशमा भो!
न्याय र आत्मा मरेको देशमा भो!
तिम्रो बलात्कार र हत्याको भएको सय दिन कट्यो
तर तिम्रो न्यायको निम्ति निस्वार्थ बोलिदिने
कुनै कानुनवाला अगाडि आएनन्।
हामी नेपाली मर्माहत छौं निर्मला!
तिम्रो चिरहरण र हत्यापछि
न्यायको निम्ति भोकै सडकमा लडेका तिम्रो अभिभावक आज पागल बन्न बाध्य पारिँदा
आफ्नै देशमा
टुहुरो भएको आभाष गर्दैछौं निर्मला!
खै कहाँ छ सरकार?
खै कहाँ छ न्याय?
खै कहाँ छ सत्यको बोली?
खै कहाँ छ जनताको सरकार?
त्यसैले निर्मला!
म देश भित्रको टुहुरो हुँ
जसको राज्यमा न्यायको प्रत्याभूति गराउने सरकारको जन्म भइसकेको छैन .....