बेहुली शब्दको अर्थ के हो? बेहुला शब्दको अर्थ के हो? बेहुला बेहुलीको वास्तविक नाता गाँ।सिए पछिको दायित्व के हो भन्ने संसारबाट अनविज्ञ टालाटुलीको बेहुला–बेहुली खेलमा रमाउँदै गरेको पुतली र भुन्टे बेहुला–बेहुलीको वास्तविकतामा बाँधिदा उनीहरु अझै यसलाई टालाटुलीको खेल जस्तै होला भन्ने भ्रममै थिए। आठौं वर्षमा पाइला चालिरहेकी पुतली साँच्चै फुरफुर–फुरफुर नाँच्दै बगैंचामा डुल्ने पुतली जस्तै राम्री थिई। संसारभरकै सुन्दरता खन्याएर भगवानले सृष्टी गरे जस्ती।
पुतलीको अघिल्तिर स्वर्गकी अप्सराको सुन्दरता पनि फिक्का हुन्थ्यो होला? त्यसो त भुन्टे पनि कुनै मूर्तिकारले सीप खोपेर कुँदेको मूर्तिजस्तो सर्लक्क मिलेको थियो। उमेरले एघारौ वर्षको खुड्किलो मात्र टेकेको भुन्टेको मिलेको जिउडाल त्यसमाथि निधारको त्यो कालो कोठीले त झनै चिटिक्क देखिन्थ्यो।
बालपनकै रमाइलोले नछाडेको उनीहरुको जोडी हेर्दा पनि एउटा मिलेकै जोडी थियो। बेहुला र बेहुलीको पासो भित्र पसेपछी एकाएक आफ्ना थाप्लोमा थुप्रिन थालेको जिम्मेवारी देख्दा बेहुला र बेहुलीको खेल पनि उनीहरुलाई नराम्रो लाग्दै गयो। उनीहरुको कलिलो दिमाग भित्र वास्तविक बेहुला र बेहुली हुनुको अर्थ नाच्न थाले। अपरिपक्कतामै कसिएको डोरीहरु विश्वासको अभावमा टुक्रिन सक्छ, कतै मायाको खडेरीमा जीवन छटपटाउन थाल्छ। तर यस्तो अपरिपक्कतामा कसिएको पुतली र भुन्टेको जोडीमा न त मायाको खडेरी लाग्यो न विश्वास नै टुक्रियो, अपरिपक्कतामा गाँसिएको यो जोडीको माया र विश्वास समाजकै एउटा आदर्श थियो परिपक्कतामा सम्बन्ध गाँसेर मायाको खडेरी लाग्नेका लागि।
उनीहरुको जोडी रोल मोडल थियो समाजका लागि।
अन्धविश्वास र कुसंस्कारले जेलिएको समाजमा उनीहरुले बालविवाहको कुसंस्कार नराम्रोसँग भोगे। कलिलैमा आमा बन्नुपर्ने बाध्यतामा पिल्सिएकी पुतली पनि धेरै पटक आमा बन्न खोजिन् तर किन हो आधा दर्जन सन्तानलाई गर्भमा बोकिसक्दा पनि कति समय अगावै आफै तुहिए त कति जन्मेर मरे। बच्चालाई काखमा खेलाएर आमा हुनुको आनन्दमा रमाउने पुतलीको रहर अधुरै बन्यो। अन्धविश्वासमै व्याप्त समाजमा अभिभावक बन्न नसकेको पीडाले ग्रसित उनीहरुले त्यही अन्धविश्वासको उपचार पद्दति रोजे।
सन्तान सकुसल जन्मिउन, जन्मेका सबै बाँचुन् भन्ने कामना गर्दै धामी झाँक्री, मठमन्दिर गाउँले प्राचीन उपचार पद्दती सबै अंगाले उनीहरुले पनि। उनीहरुको उपचार गर्ने पद्दतिले सरकार, एनजिओ, आइएन जिओ जस्ता स्वास्थ्य शिक्षा, फैलाउने नाउँमा विकट गाउँ र मातृशिशु कार्यक्रमको डलर कुम्ल्याउनेहरुलाई नमिठोसँग व्यङ्ग प्रहार गरेको थियो। डलरको खेती गरेर सुविधा सम्पन्न महलमा गाउँका योजनाका प्रस्ताव र विकासलाई पानामा उतारेर डलरमा कलर भर्नेहरु सायद त्यहाँसम्म पुग्ने कोसिस गरेका भए धेरै पुतलीहरु काँचो उमेरमा बिहेको बन्धनभित्र पर्दैनथे होलान् ! अपरिपक्कतामै आमा बनेर शरीर कमजोर बनाउँदैनथे होलान्।
आधा दर्जन सन्तानको असफल आमा बन्ने प्रयासमा पुतलीको शरीर कमजोर भएको थियो तर अनुहार भने अझै उस्तै सुन्दर थियो। बल्ल आधा दर्जन सन्तानको वियोग पश्चात बाँचेको एउटै छोराको अभिभावकत्व ग्रहण गर्न पाएकोमा खुसी थिए उनीहरु। वंशको लहरो जोगिने आशमा, भविष्यको सहारा बन्ने आशले गदगद पुतली र भुन्टेले अभिभावक हुनुको माया सबै उसैमाथि खन्याएका थिए।
एक्लो सन्तान सबैभन्दा पछि जन्मेको मायाले कान्छा नाउँ राखेका उनीहरु उसैलाई आफ्नो संसार ठान्थे। कान्छाको निश्चल अनुहार, बालसुलभ चन्चलपनले मन्त्रमुग्ध थिए उनीहरु। उसले कोमल हातगोडा घिसार्दै आँगन, पिढि डुल्दा अभावले गाँजेको उनीहरुको अनुहारमा मुस्कान भरिन्थ्यो। बिहानीको सुर्योदय जस्तै उज्यालो हुन्थ्यो उनीहरुका अनुहार पनि। कान्छाले भित्ता समातेर आफ्नै गोडाले उभिने प्रयास गरेको देख्दा दुःखको पहाड बिर्सेर कान्छाका लागि माया नै मायाको वर्षात गरिदिन्थे। उनीहरुको सपना, आशा भरोसाको केन्द्रविन्दु एउटै थियो कान्छा। अभावमय झुपडीमा पलाएको खुसी थियो कान्छा जसले सुखको अनुभव दिलाएको थियो।
काठको बोक्रा तासेर मिलाउँदै गरेको भुन्टेले पुतलीलाई हेर्दै भन्यो–गाउँमा बसेर कान्छालाई लेखपढ गराई असल बनाउने सपना पनि पूरा गर्न नसकिने भयो। सिकर्मी पेशाले जीवन धान्नै मुस्किल परिसक्यो। हामीले त यो झुपडीमा अभाव सहेर बाँच्यो। अब यसलाई पनि यो अभावको भुमरीमा कसरी जोत्नु? अब त मुग्लान पस्नै प¥यो बुझिस पुतली !
पुतलीले भुन्टेको अनुहारतिर हेरिन्–उसको अनुहारमा कान्छाको भविष्यको चिन्ता घुिमरहेको देखिन्थ्यो। खेलिरहेको कान्छालाई च्याप्प समातेर दुध चुसाउदै पुतलीले दुःख मान्दै भनि–होइन अब मुग्लान गएर के गर्छौ? यतै दुःखजिलो जुनी काटांैला क्यारे। पुतलीको प्रश्नको कुनै जवाफ नफर्काई भुन्टे पुतली र कान्छालाई हेर्दै टोलायो निकैबेर। गरिबीले पोलेको सपना र कान्छाको भविष्यको सपना सम्झेर उसका आँखा रसाए। पुतलीले कान्छाको अनुहार एकनास हेर्दै थिइ, कान्छा पुतलीका अमृतधारा रमाई रमाई चुस्दै थियो।
कान्छालाई पुलुक्क हे¥यो भुन्टेले। ऊ रमाउँदै आमाको छातीमा सुमसुम्याउँदै गरेको देख्दा मनमनै सोच्यो–ठूलो भएपछि पनि कान्छालाई सधै यस्तै खुसी राख्न सके मेरो सपना पुरा हुने थियो। पुतली पनि खुसी हुने थिई होली। बिचरी पुतलीले पनि धेरै दुःख खेपी मेरो दैलोमा प्रवेश गरेदेखि नै तर कहिल्यै पनि दुःखमा पनि निरास भइन ऊ, बरु उल्टै मलाई साथ दिइरही। अब यिनीहरुको खुसीका लागि मैले मुग्लान जानैपर्छ।
‘होइन के भो यो मान्छेलाइ किन टोलाई रहेको? के सोचिराख्या होला मनमा?’, पुतलीले अचानक प्रश्न तेर्साएपछि भुन्टे झसङ्ग हुन्छ।
‘केही होइन पुतली के हुनु हेर त हाम्रो कान्छा कति खुसी छ अहिले। भविष्यमा पनि उसको खुसीको लागी मुग्लान पस्नै पर्छ मैले भनेर सोचिराख्या नि?’
भुन्टेको जवाफले पुतलीको अनुहारमा निराशाका रेखा थुप्रिदै गए। आँखाभरी पानी टिलपिल गर्न थाले तर उसको मुखबाट कुनै आवाज निस्केन।
भुन्टे एकोहोरो बोल्दै गयो,– यहाँ बसेर के गर्नु पुतली? भएका वनजंङ्गलमा काठ तस्कर पस्न थालिसके? अब त सिकर्मी पेशा पनि धान्नै गाह्रो हुने भो, बरु मुग्लान पस्छु त्यहाँ जुठा भाँडा माझे पनि, कुल्ली काम गरेर पनि कान्छाको भविष्य राम्रो पार्नु छ।’
भुन्टेले कान्छाको भविष्यका लागि मुग्लान पस्ने निर्णय गरेरै छाड्यो। कान्छाको भविष्यलाई नै सम्झेर पुतलीले पनि भुन्टेलाई रोक्ने आँट गरिन।
भुन्टे मुग्लान पस्यो कान्छाको भविष्यलाई काँधमा बोकेर जीवनसाथी सँगको विछोडको पीडामा तप्प तप्प आशु चुहाउँदै। विछोडको पीडा सहेर पुतली कान्छाका लागि मुस्कुराउन विवश थिई। भुन्टे मुग्लान गएदेखि पुतलीले जसोतसो जीविका धानिरहि। छोरालाई पढाइ लेखाई विद्धान बनाउने सपना बोकेको भुन्टे कता हरायो कुन्नि मुग्लानमा। धेरै महिना बिते, वर्ष बिते न त भुन्टेको चिठी आयो, न त ऊ आफै घर फर्केर आयो।
भुन्टे त मुग्लानमा राम्री केटीसँग घरजम गरेर बसेको छ रे ! गाडीमा काम गथ्र्योे दुर्घटनामा म¥यो रे ! चोरी गरेर जेल पो प¥या छ रे ! भुन्टेको बारेमा आधारहिन हल्ला फिजाँउनेको कमी थिएन गाउँमा। तर भुन्टेको वास्तविकता रहस्यमै बित्यो।
मुग्लानबाट फर्केकाहरुले पोखेको दुःख र भोगाइका कुरा गर्दा पुतलीको मन छटपटाउँथ्यो पीरले। ऊ हररात भुन्टेकै कल्पनामा हराउँथी। भर्खरै मुग्लानबाट फर्केका साँइला बाजेका नातीलाई भेट्न पुतली बतासजस्तै बेगमा पुगेकी थिई कतै भुन्टेको खबर मिल्छ कि भन्ने आशमा। गाउँ फर्केका सबैलाई पुतलीले भेटी तर उपलब्धिमा केवल शुन्यता मात्र हात लाग्यो। मुग्लानेहरुको तीतामीठा भोगाई सुन्दा पुतलीको मनमा चीसो पस्थ्यो।
हर रात भुन्टेको यादमा अनिदो रहने पुतलीका मनमा अनगिन्ती कुरा खेल्थे। कतै मेरो भुन्टेले अर्कैसँग घरजम गरेर बसेको त छैन? धत् ! कहाँ यस्तो हुनसक्छ आजसम्म कुनैपनि आइमाईलाई गिद्धेनजर नलगाएको उसले कहाँ यस्तो गर्नसक्छ र? पुतली आफ्नो मनलाई सान्तवना दिन्थी। कतै मेरो भुन्टे यी गाउँलेहरुले भनेजस्तै चोरी गरेको अपराधमा जेल त छैन? पुतलीको मनमा फेरी कुरा खेल्थ्यो।
‘अहो ! यस्तो काम मेरो भुन्टेबाट हुनै सक्तैन किनकी आजसम्म उसले अरुको सियो समेत नसोधी लिएकै छैन’, पुतली मनलाई आफैं जवाफ दिन्छे, ‘कतै गाउँलेहरुले भनेझै ऊ दुर्घटनामा मरेको भए पुतलीको मस्तिष्कले त्यो कुरालाई पनि कल्पना गर्न थाल्यो– हत्तपत्त पुतली आफुलाई नै गाली गर्दै भन्न थाली–धत ! मैले यस्तो नराम्रो पनि सोच्ने हो भुन्टेको बारेमा ऊ त छोराको भविष्यका लागि मुग्लानमा दुःख गर्दै होला !
कल्पनामै पुतलीका कयौं रात छटपटाइमा बिते।
आँखा बन्द नभई बिहानीको मिर्मिरे उज्यालोको सुरुवात भयो, परेली भुन्टेको यादले ओभानो हुन सकेन। भुन्टे नहुँदा एक्ली आइमाई भनेर समाजको अपहेलनमा कान्छाको लागि संघर्षमा आफ्ना हात चलाइरही उसले। भुन्टेको खोजी गर्न जाने को मुग्लानसम्म? पुतली एक्लै कसरी खोजीमा निस्कियोस्, त्यसो त कान्छाको जिम्मेवारीत्वको पनि ठूलो बोझ उसको एक्लो काँधमाथि छ। कान्छाको भविष्य खोजी गरोस् कि जीवनसाथीको? बिचरी ! कति ठूलो समस्यामा परेकी छे। उसलाई भुन्टेको खोजीमा साथ दिनेभन्दा भुन्टेकै बारेमा अपवाह फैलाउने मात्र छन् समाजमा। प्राण रहे त आफ्नो माटो सम्झेर, परिवार सम्झेर एकदिन आइजालान् भन्ने विश्वासमा पुतलीले उसको प्राणरक्षा र दीर्घायुका लागि रातदिन भगवानसँग प्राथना गर्न छाडिन्।
भुन्टे आउने बाटोमा आँखा बिछ्याउँदा सायद ति बाटोहरुले दिक्क मानिसके होलान् तर पुतलीको आँखा थाकेका छैन तर कान्छा अब लक्का जवान भैसक्यो। उसले छाडेर गएको झुपडी मर्मत गर्ने सार्मथ्य पलाइसक्यो कान्छामा। हिजो बालक छोरा र एक्ली आइमाई सम्झेर अपहेलना गर्ने समाजले थोरै भएपनि हेर्ने दृष्टिकोण बदलिएको छ पुतलीमाथि। बलवान र धनवान मात्र यो समाजमा उच्चतामा गनिने भएर होला मौलाउँदै गरेको कान्छाको शक्तिशाली जवानी देखेर पुतलीमाथि हेर्ने दृष्टिकोण पनि बदलिदै गएको समाजमा। भुन्टेले छाडेर गएको झुपडीका थाम र दलिनहरु मक्किने क्रम बढ्दो थियो। त्यसलाई नयाँ फेरेर मर्मत गर्ने काममा तल्लिन थियो कान्छाको हातहरु।
दुःखले झुपडी र कान्छालाई समालेर राखे पनि कान्छालाई स्कुलको संघारसम्म पु¥याउन नसकेकामा दुःख मान्थि पुतली। पढाइ लेखाइ कान्छालाई विद्धान बनाउने भुन्टेको सपना कान्छाले पुरा गर्न नसके पनि ऊ भित्र पनि कला भर्ने सीप भुन्टेकै जस्तो थियो। कान्छाका हातहरु भुन्टेकोझै काठमै कला भर्न सिपालु भैइसकेको थियो। ऊ भुन्टेजस्तै मन लगाएर काठमा सीप भथ्र्यो र काठलाई चाहेजस्तो आकार दिई विविध बस्तुहरुमा ढाल्थ्यो। उसको सीप, हाउभाउ दुरुस्तै भुन्टेसँग मेल खान्थ्यो।
त्यतिमात्र कहाँ हो र? उसका निधारमा पनि भुन्टेको जस्तो कालो कोठी थियो। कान्छाको अनुहार र शैलीमा पुतली भुन्टेको यादलाई मेट्ने कोसिस गर्थी। भुन्टे साह्रै बैगुनी रैछ एकपल्ट पनि मुग्लानबाट फर्केर आएन। अब त कान्छा नै तरुनो भइसक्यो भन्ने शब्दको वाण कहिलेकाहिँ गाउँलेहरुले चलाउँदा पुतलीको मन नमिठोसँग दुख्थ्यो किनकी समाजले भुन्टेलाई बैगुनी भने पनि पुतलीको नजरले गुनले भरिएको एउटा घडा देख्थ्यो–भुन्टेलाई।
कान्छा काठको सामग्री बनाउने कलामा यति निपूर्ण थियो कि काष्ठकलामा तालिम र शिक्षा प्राप्त व्यक्ति पनि ऊ सँग प्रतिस्पर्धामा उत्रिन गाह्रो थियो। तालिम र शिक्षा दुवै थपिएको भए कान्छाको कला कति उच्च कोटीको हुन्थ्यो होला? ऊ सबैको चाहना बमोजिमका काठका सामग्री भाँडाकुडा, फर्निचर, खटिया, बाकस आदि बनाउँथ्यो। उसले बनाएको काठका सामग्रीले सबैको मन लोभ्याउँथ्यो। उसको कला सीपको प्रशंशा नगर्ने कोही थिएन। ऊ गाउँमै आफ्नो सीपमा रमाउँथ्यो। आफ्ना जन्मथलोमा सीप देखाएर दुःखजीलो बाँचेको थियो ऊ।
पहिलोपल्ट कान्छाले काठमा सीप खोपेर आकर्षक बनाएको बाकस पुतलीलाई देखाउँदै भनेको थियो। आमा मैले बनाएको बाकस कस्तो लाग्यो? यसमा तपाइँका कपडा हालेर राख्नुस है। पुतली त्यो बाकस हेर्दै धेरैबेरसम्म मौन बनिन्। बाकसको बाहिर काठको बुट्टा निकै राम्रोसँग कोरिएको थियो। आज त्यो बाकसले पुतलीलाई फेरी एकपल्ट भुन्टेको यादले मस्तिस्क हल्लाउन थाल्यो। त्यो बाकस उस्तै थियो, जुन भुन्टेले बेहुली बनाएर घर ल्याउँदा उपहार दिएको थियो पुतलीलाई। जसमा पुतलीले आफ्ना र भुन्टेको कपडा मिलाएर राख्ने गरेकी थिई। उस्तै बुट्टा, बाकस उस्तै त्यसलाई देख्दा यस्तो लाग्थ्यो भुन्टेले आफ्नो सीप, कला सबै कान्छाको हातमा छाडेर गएको छ। भुन्टेको यादले पुतलीको आँखाभरी आँशु भरिए।
कान्छाको अघिल्तिर आशुलाई दबाउँदै उसले कान्छाका हातलाई हेरिरही उसका हात अझै पनि काठमा सीप खोप्नै व्यस्त थिए। काम गर्ने शैली, हाउभाउ उस्तै। उसले बनाएको बाकस पनि उस्तै भुन्टेको जस्तै। आमा हुनुको महानता पीडाका आँशु लुकाएर पुतलीले हाँस्दै भनिन–कान्छा साह्रै राम्रो छ यो बाकस। त्यसो भए आमा तपाई यसमा तपाइँका लुगाफाटा राख्नुस् है–नम्र स्वरमा उसले भन्यो सायद यो उसको उपहार थियो आफ्नी आमाका लागि।
मुहारमा खुसीका रङ भरेर पुतलीले कान्छाको उपहार वाकस स्वीकार गर्दै लिएर भित्र पसिन्। भुईंमा यत्रतत्र छरिएका आफ्नो लुगाफाटा बटुलिन र मिलाएर बाकसमा हालिन। एउटा कुनामा धुलोले ढाकेको बाकस हेरिन जुन भुन्टेले उसलाई उपहार दिएको थियो। हत्तपत्त पुतलीले त्यो कुनामा पुगेर बाकसको धुलो पुछ्न थालिन। बाकस उघारेर उनले बाकस भित्रको सबै लुगाफाटालाई नियाल्न थालिन। भुन्टेको कमिज, सुरुवाल अझै बाकसभित्र सुरक्षित देखिन्थ्यो। बाकसबाट भुन्टेको कमिज सुरुवाल हातमा लिदै पुतलीले आफ्नो छातीमा टाँसेर आँशुका भेल बगाउन थालिन्। उनका आँखाका थामि नसक्नुको भेलले भुन्टेको कमिज, सुरुवाल पुरै भिजिसकेका थिए तैपनी उनको आँखा रसाउन छाडेनन्। निकै बेरसम्म उनले भुन्टेले उपहार दिएको बाकस र कान्छाले उपहार दिएको बाकस दुबैलाई हेरिरहिन् कुनै भिन्नता भेटिन्न उस्तै सीप र कलाले भरिपूर्ण थियो दुबै बाकस। बाकसको समानता र भिन्नता भन्दा पनि बढी ती दुबैमा प्रशस्त माया थियो। एउटामा जीवन साथीको माया अर्कोमा सन्तानको माया। भुन्टेको कमिज सुरुवाललाई मिलाउँदै फेरी पुतलीले मनमनै भनिन्–आज तिमी मुग्लानमा नहराएको भए कान्छाको कला देख्दा कति धेरै खुसी हुन्थ्यौ होला? आफ्नो आँखाको तातो आँसु आफ्नै हातले पुछ्दै पुतलीले आफुलाई समाल्न थालिन्। कान्छालाई पुतलीको आँसुको अत्तोपत्तो छैन। ऊ आफ्नै काममा व्यस्त छ। काठमा कला खोप्दै निस्केका ट्याक..... ट्याक...... ट्याक... आवाज पुतलीले भित्रबाटै सुनिरहेकी थिइन।
कान्छाको जवानीले भत्किन लागेको झुपडीलाई राम्रो मर्मत मिलेको थियो। पुतलीले पनि जीवनसाथीको विछोडलाई भुल्दै आफ्नो मातृत्वको भेलमा चुर्लुम्म डुबाएकी थिई कान्छालाई। समयको गति यस्तै तवरले दौडिरहेको थियो। गाउँलाई पनि सहरीकरण र आधुनिकीकरणले छुँदै थियो। सहरीकरण र आधुनिकीकरणसँगै पलास्टिक, काँच तथा अन्य धातुका रंगिन र आकर्षक सामग्रीले गर्दा कान्छाको कलाबाट भन्दा धातुका सामग्रीप्रति आकर्षण पैदा हुन थाल्यो। सस्तो लोकप्रियता र प्रतिस्पर्धाको पछि दौडिरहेको समाजमा कान्छाको कलाले बजारिया धातुको जस्तो कृत्रिम चमक र आकर्षण पैदा गर्न सकेन।
आधुनिकीकरणलाई अन्दाधुन्दा पछ्याउँदै अघि बढेको समाजले विस्तार र विकासको नाउँमा वनसम्पदाको अत्याधिक विनाश हुनेक्रम बढ्दै गयो। बाँकी भएका वनजंगल पनि तस्करको विगविगीले सकिन लागे। त्यसपछि कान्छाको पेशाले एकपल्ट फेरी झुपडी र आफ्नो आमाको जीवनलाई खुसी राख्न कठिन पर्ने अवस्था आयो। अभाव र दुःखलाई निराकरण गर्ने उपाय सोच्न थाल्यो ऊ। अन्ततः उसले गाउँका अन्य युवा जस्तै खाडी मुलुक जाने निर्णय ग¥यो।
आमा आफ्नो हातको सीपले आफ्नो भोको पेट भर्न सक्दैन। आफ्ना अभिभावकको आङ ढाक्न सक्तैन। आफ्नो झुपडीको चुहिएको छानो टाल्न सक्तैन भने त्यो सीप को के अर्थ भो र ! त्यसैले म अब सबै सीपलाई यहि छाडेर पल्लो घरको माइला काकाको छोरा जस्तै विदेश जान्छु धन कमाएर ल्याउँछु अनि झुपडीको चुहिएको छानो टालौंला अत्यन्त गम्भिरताका साथ पुतलीलाई हेर्दै भन्यो उसले–‘तँ पनि परदेश जान्छु भन्छस् कान्छा? तै नभए अब मेरो पनि को छ र यहाँ? नचिनेको मुलुकमा कसले कठैबरा भन्छ र? छाडिदे अरुको देखासिकी गर्न।’
पुतलीलाई जति चिन्ता छ उसको, उसलाई त्यो भन्दा सयौं गुणा चिन्ता छ झुपडी र उसको आमाको तर अभावको आगो सल्कन थालेपछि जीवनमा परदेशिने सोचमा छ ऊ गाउँका अन्य युवाजस्तै।
अन्ततः ऊ परदेशी भएर खाडी मुलक पुग्ने तयारीमै लाग्यो। आजसम्म एउटा गाउँबाट अर्को गाउँसम्म नटेकेकी पुतलीलाई आफ्नो छोरा टाढा जादैछ भन्ने कुराले पिरोलिनु स्वभाविक थियो। गरिबी पखाल्न कान्छा परदेशको बाटो लाग्यो, आमासँगको विछोडको पीडा गाँठो पारेर। सन्तान भएर अभिभावकप्रतिको उत्तरदायित्व पुरा गर्न कान्छा हत्केला भरिको सीपलाई छाडेर खाडी हिंडेका दिन पुतलीको मन कति दुःखेको थियो विछोडको पीडाले सायद नाप्ने कुनै साधन नै थिएन होला। भुन्टे मुग्लानबाट नफर्केको पीडाले दुखेको मन अझ बढी दुख्दै थियो कान्छा परदेशिंदा।
भुन्टेको अनुहार र यादलाई भुल्ने एउटै उपाय थियो कान्छा। ऊ पनि टाढा हुँदा पुतली छटपटाउँथिन्। भुन्टे कान्छाको भविष्य सम्झेर मुग्लान पस्यो। कान्छा आफ्नो आमालाई भौतिक सुख दिलाउन परदेशी बन्यो।
पुतलीका समय हरपल भुन्टे र कान्छाका सम्झनामै बित्न थाले। आकाशमा उड्दै गरेका जहाज देख्दा पुतली कतै आफ्नो कान्छा फर्कियो कि भन्ने आशमा आकासतिर मुन्टो फर्काएर हेर्थिन, गाउँमा झोला बोकेर नौलो मानिस देखा परे भुन्टे मुग्लानबाट फर्कियो भन्ने आशमा हेर्थिन्। पुतलीको जीवन भुन्टे र कान्छाको आशै आशमा वित्दै थिए। आकाशमा उडिरहेको जहाज, बाकस, कान्छाले काठमा खोपेका सीप र कला सबैलाई हेर्दै पुतली यादमै दैनिकी विताउन थालिन्। सन्तानसँग टाढिनु पर्दा र एक्लै दैलो रुङ्न पर्दाको अथाह पीडा मनमा छचल्किए पनि जीवन बिताउनु भन्दा बढी के नै पो गर्न सक्थिन र पुतली ! उनीहरुको अनुपस्थितीमा उनीहरुकै हातले काठमा भरेका कला र तिनै बस्तु नै पुतलीका लागि दिन बिताउने सहारा बनेका थिए। सजिव संसारभन्दा बेग्लै निर्जिव कलामा पुतली सहारा खोज्दै कान्छा आउने प्रतिक्षामा थिइन्।
निर्जीव काठमा अनेकौ कलाले जीवन्त पार्ने कान्छाका हात खाडीका मरुभूमिमा भेडा धपाउन विवश थिए। अनेकौ सपना र भत्किन लागेको झुपडी नयाँ बनाउने ठूलो सपना बोकेर उडेको कान्छा तातो हावामा निस्सासिँदै भेडा गोठालो बनेको थियो। गाउँको चिसो, ताजा हावा र पानीमा मितेरी गाँस्दै मजबुत बनेको कान्छाको शरीरले मरुभूमिको तातो बालुवा र उर्खमालो गर्मीसँग मितेरी गाँस्न कठिनाई भएको थियो। खाडीको तातो हावामा प्रत्येक पल जुध्न पर्दा ऊ गाउँको चीसो बतास, कलकल बग्ने खोला र ती झरना अनि आमाको न्यानो काखलाई सम्झेर भावविव्हल हुन्थ्यो तर पनि परिस्थितीसँग समायोजन हुनु उसको बाध्यता थियो त्यसो त खाडी पस्नु उसको रहर नभएर एउटा बाध्यता नै थियो गरिबिले निम्त्याएको।
मरुभूमिको तातो हावासँग बलियो साइनो गाँस्न कोसिस गर्दा पनि कान्छाको केही सीप लागेन अन्ततः कान्छाले खाडीको घामसँग आफुलाई समायोजन गर्न असफल भई निस्सासिदै प्राण त्याग्यो। स्वच्छ हावा, पानी र स्वच्छ हरियालीमा हुर्केको उसको शरीरले मरुभूमिको तातो हावा अनि त्यो उजाड वातावरण कहाँ पचाउन सक्थ्यो र !
कति मरुभूमिलाई सहने कोसिस गर्दे पलपल यातना खेपेर जीवन भोग्थे सपना पुरा गर्ने धुनमा भने कति जीवन त्यसै मरुभूमिमा तातो बालुवासँग छट्पटाउँदै मर्न विवश हुन्थे। मरुभूमिको बालुवामा पैसा फल्ने रुख छ भनेर सोच्नेहरुलाई के थाहा मरुभूमिमय संसार भित्रको यथार्थ पीडा।
आमाको आङको च्यातिएको चोली फेर्ने सपना र झुपडीमा चुहिएको छानो टाल्ने सपना बोकेर उडेको कान्छा मरुभूमिमा निस्सासिदै निर्जिव बनेपछी निर्जिव बाकसमै उडेर घर फर्कियो। ऊ घर फर्कदा उसका कुनै सपना थिएन, थिए त केबल अधुरा सपनाहरु। कान्छाको प्रतिक्षामा कुरिरहेका पुतलीका आँखामा कुनै खुसी छैन आज कान्छाको आगमनले। सेतै फुलेका कपाल र बुढ्यौलीले चाउँरिदै गएका पुतलीका गाला सन्तान वियोगको आँशुले लपक्क भिजेको देखिन्थ्यो। उर्लंदो जवानी मरुभूमिमा बली चढाएर निर्जिव र रित्तो शरीर लिएर जन्मथलो फर्कदा नरुने मन कुनचाहिँ अभिभावकको होला र ! आफ्नो काख रित्तिँदा र बुढेसकालका सहारा लट्ठी भाँचिदाको पीडा बुढ्यौलीले गाल्दै गएका पुतलीको शरीरले धन्न सहेको थियो। निर्जिव बाकसमा बन्दी भएर आँगनमा लम्पसार परेको कान्छोलाई देखेर कसैको आँसु थामिएन। सदाका लागि मुढोझै लडेको कान्छाको शरीर देखेर त्यो झुपडी, रुखबिरुवा, खोलानाला उसका हातले कोरेका जीवन्त कला, फर्निचर, बाकस सबै शोकमग्न देखिन्थे। मान्छेको जीवनमा जस्तोसुकै कठोर परिस्थिती आउँदा पनि सामना गर्नुपर्दो रैछ बिचरी पुतली पनि आफूमाथि परेको यति ठूलो बज्रपात सहन विवस थिई।
आँगनभरी मान्छेका भिडहरु त्यही एउटा बाकसमा नियाली रहेका थिए। फाँटेको मैलो चोली र सेतै फुलेको कपाल, थोरै थोरै मात्र दाँत भएकी पुतली आँशुका मुल बगाउँदै लाश कुरुवा भएर बाकस सँगै बसिरहेकी थिई। आधुनिक रङले पोतिएको त्यो बाकसको कुनै सुन्दरता देखिदैनथ्यो केवल शून्यता र शोक बाहेक। बाकसबाट निकालेर जब कान्छोलाई केही गाउँलेहरुले आँगनमा सुताउँदै थिए कान्छाको अनुहारको सौन्दर्यतामा कुनै कमी थिएन अझै पनि। उसका बलिया काँधहरु अझै गाउँको विकासका लागि पहरा बोक्न तयार झै देखिन्थे। गाउँको ताजा, चीसो हावा पानीको अभावमा बन्द उसका मुटु त्यही ताजा चीसो हावा र पानीको स्पर्स गर्न लालायित झै देखिन्थ्यो। उसका बन्द ओठ भन्न खोजिरहेका थिए–अवसर देऊ, युवाले गाउँ, समाज र सिङ्गो देश बनाउन तयार छ। अवसर मरुभूमिको बालुवामा खोज्न पठाउने होइन, आफ्नै झरना, खोला र पाखा पखेरामा पठाऊ।
सबैलाई लोभ्याउने कला भएको कान्छाले बालकदेखि कला पोखेर धेरै कलात्मक बाकस बनायो आज ऊ आफैं एउटा रंगीन बाकसमा फर्कियो तर जीवनका सबै रङ्गहरुको बिदाई गरेर। ऊ जुन रङ्गिन बाकसमा फर्कियो जसमा उसको जीवनको कुनै रङ्ग र रस छैन। उसका हात अझै कलामा रङ र जीवन्तता मिसाउन उत्तेजित थिए। उसका हत्केलाहरु द्रुतगतिमा कला पोख्न आतुर भएझै महसुस हुन्थ्यो।
पुतलीका आँखाले कान्छाका शरीरका अङ्गहरुलाई एकनास नियाली रह्यो। कान्छाको शरीरका हर अङ्ग प्रत्यङ्ग जुरुक्क उठेर अदभूत कला देखाउन उत्सुक भएझै भान हुन्थ्यो। उसको मृत आँखालाई आफ्नो आँखामा राख्दै मौन रहेकी पुतली कान्छाको आँखामा अझै सुन्दरता, कला प्रतिको सम्मान, मिहेनत अभिभावक प्रतिको कर्तव्य देख्थी। उसको मृत आत्माबाट एउटा चर्को आवाज पुतलीको कानसम्म ठोकिएर भन्दै थियो– एकपल्ट मलाई यो चीसो हावा, पानी र तपाइको न्यानो काखमा ब्यूँझाएर हेर्नुस म आफ्नो सीप र मिहेनतले यो संसारनै बदल्न सक्छु र फेरी एउटा कलात्मक बाकस तपाइका लागी उपहार दिन्छु आमा !
अकालमै भए पनि मृत्यु अन्तिम सत्य जसलाई नचाहेर पनि सबै सजिव प्राणीले स्वीकार गर्नै पर्छ। त्यसैले सन्तान वियोगको बज्रपात भुलेर पनि पुतलीले कान्छाको मृत्यु वा जीवनको यथार्थता र अन्तिम सत्यलाई सामना गर्नु बाहेक कुनै विकल्प थिएन।
एकक्षणमै कान्छाको रसिलो, मलिलो र जोसिलो सहासले भरिएको शरीर सेतो कात्रोले छोपिंदै थियो। उसका कलात्मक हातहरु पनि कात्रोभित्र बाँधिन विवश थिए। कलात्मक, सिपालु हत्केला सीप देखाउन उत्तेजित हुँदाहुँदै पनि मृत्यूको घेराबाट चाहेर पनि फुत्कन सक्दैनथे। सेतो कात्रोभित्र छोपिएको एउटा युवा शरीरको अघिपछी थुप्रै मलामी चिहान तर्फ अघि बढे। पुतलीका आँखाले सेतो कात्रोमा बेरिएको आफ्नो मुटुको टुक्रालाई हेर्न छाडेनन् उनका आँखाबाट उर्लिएका भेल र अनुहारमा कोरिएका चिन्ता र शोकको रेखाहरुबाट स्पष्ट हुन्थ्यो जवान सन्तान गुमाउनुको पीडा, काख र कोख रित्तिनुको पीडा, बुढेसकालका लौरो भाँचिनुको पीडा।
दैबको लेखा मेटेर मेटिन्न रैछ। आँगनमा जम्मा भएका गाउँलेका सान्त्वनाका शब्दले पुतलीमाथि परेको दुःखको समाप्ती हुँदैन। पुतलीका मुखबाट कुनै शब्द निस्किएन। चुपचाप हेरिरहि आँगनमा अलपत्र रङ्गिगन बाकस। एउटा भविष्यको सहारा र सपनाको दाहसंस्कार भइसकेको एउटा रित्तो बाकस। कान्छाको हातले कला प्रदर्शन गरेको बाकसको पुतलीले जति गुणगान गाउँथी र खुसी हुन्थी कुनै आकर्षक रङ्ग नपोतिएर पनि सुन्दर देख्ने कान्छाले बनाएको बाकसभन्दा रङ पोतेर चिटिक्क परेको त्यो रङगीन बाकसलाई देखेर न त पुतलीको मन खुसी छ न कुनै कलात्मकता देख्छिन् त्यहाँ।
आफ्नो संसार मरुभूमिजस्तै उजाड पारेको त्यो रङ्गिन बाकसलाई तिरस्कृत नजरले पुतली एकोहोरो हेरिरहन्छे। एउटी आमाको सपना लुटेको रङगिन बाकस जसरी वेवारिसे भएर आँगनमा लडिरहेको छ। त्यस्तै अलपत्र र वेवारिसे बनेको थियो पुतलीको जीवन पनि। अनायसै पुतलीको मुखबाट आवाज निस्कियो–मेरो जीवनको रङ्गहरु खोस्ने रङ्गिन बाकस। यसपछी पुतली बुढ्यौलीले कमजोर मुड्की बजार्न थाल्छे रङ्गीन बाकसमाथि। जति मुड्की बर्जादा पनि बाकसले एउटा जवान अकालमै खोसेकोमा अलिकति पनि पीडा देखाएन बरु उल्टै बुढ्यौलीले चाउरिएका पुतलीका हात रङ्गिन थाले आफनै रातो र तातो रगतले।